नेपालले जित्नैपर्ने, म्यानमारलाई राम्रो खेले पुग्ने

दशरथ रंगशालामा फोर नेसन्स कप महिला फुटबलको फाइनल आज

फाल्गुन १४, २०८१

हिमेश

Nepal must win, Myanmar should play well

काठमाडौँ — फुटबलमा बलियो प्रतिद्वन्द्वीसँग बरोबर खेलिरहनुपर्छ त्यसैले भनिएको होइन । फोर नेसन्स कपको अवसर पारेर नेपालले महिला फुटबलमा आफूभन्दा धेरै बलियो र वरीयतामा धेरै माथि म्यानमारको सामना गर्न पाएको छ ।

त्यो पनि एकपल्ट होइन दुईपल्ट । त्यसमध्ये पहिलो खेल बराबरीमा टुंगिसकेको छ । त्यसै खेलबाट प्रस्ट थाहा भो, नेपालको डिफेन्समा कमजोरी बाक्लै रहेछ । 

नेपाली डिफेन्डर गीता राना आफूभन्दा कमजोरसँग खेल्दा असाध्यै सुदृढ देखिन्छिन् । म्यानमारविरुद्धको खेलपछि यो तथ्य निश्चित भएको छ, उनमा पनि सुधार आवश्यक रहेछ । त्यही पहिलो खेलमा सावित्रा भण्डारीले सुरुमा एक गोलको अवसर सिर्जना गरिन् । त्यसपछि आफैंले एक गोल पनि गरिन् ।

त्यसको अर्थ हो, सावित्रा बलियो प्रतिद्वन्द्वीको रक्षापंक्ति मज्जाले तोड्न सक्षम छिन् । यस्तै तथ्य बुझ्न त हो, मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलहरू चाहिने । यही मैत्रीपूर्ण फुटबलको अर्को एउटा विस्तृत रूप हो, फोर नेसन्स कप जस्ता प्रतियोगिता । 

दशरथ रंगशालामा बुधबार यिनै दुई टिम भिड्दै छन्, उपाधिका लागि । चार टिमसम्मिलित प्रतियोगिताको लिग चरणको समाप्तिमा शीर्ष दुई स्थानमा रहेर म्यानमार र नेपाल फाइनल पुगेको हो । दुवै समान ७ अंकमा रहे अनि दुवै अपराजित । म्यानमार गोल अन्तरले मात्रै अगाडि रह्यो । एकै खाले यात्रा गरेता पनि म्यानमार र नेपालले समातेको फाइनलसम्मको बाटो फरक छ । नेपालले जित्नैपर्ने दबाबबीच खेल्दै छ भने म्यानमारलाई राम्रो खेले पुग्नेछ । 

फाइनलको अघिल्लो दिन प्रिम्याच कन्फ्रेन्समा यसको स्पष्ट झल्को देखियो । प्रशिक्षक राजेन्द्र तामाङले प्रतियोगिताको सुरुदेखि भन्दै आएका छन्, नेपाली फुटबललाई चाहिएको भनेकै जित हो । नेपाली महिला फुटबलले अहिलेसम्म १२ पल्ट फरक–फरक प्रतियोगिताको फाइनल खेलिसकेको छ । तर, सबैमा एउट नतिजा छ, उपविजेता । नेपाली महिला टिमले लगभग चार दशक जति लामो अन्तर्राष्ट्रिय फुटबलको इतिहासमा एउटै पनि उपाधि जित्न सकेको छैन । 

एउटा मानकका रूपमा ‘जिंक’ स्थापित भएको छ । यसले भन्छ, नेपाल महिला फुटबलको फाइनल त पुग्छ, तर निर्णायक लक्ष्य आत्मसात् गर्न असफल हुने गर्छ । त्यसैले नेपाली महिला राष्ट्रिय टिममाथि दबाब नै छ, कुनै न कुनै बेला उपाधि जितेर देखाउनुपर्ने । यही दबाबको चाङमा परेर नेपालले उपाधि जित्ने लक्ष्यबाहेक अरू केही देख्नै सकेको छैन । 

कप्तान एन्जिला तुम्बापो सुब्बा भन्छिन्, ‘उपाधि जित्न सबै खाले प्रयास गर्नेछौं ।’ उनी थप्छिन्, ‘हामी धेरै पटक उपाधि नजिक पुगेर चुकेका छौं । अबको फाइनलमा यसलाई दोहोर्‍याउन चाहन्नौं । पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्न हामी सबैले शतप्रतिशत दिनेछौं । सबै खेलाडीमा जित्नैपर्छ भने भावना छ । हामी म्यानमारको सामना गर्न तयार छौं ।’ 

Nepal must win, Myanmar should play well

प्रशिक्षक तामाङ भन्छन्, ‘हामीलाई घरेलु मैदानमा फेरि एक पटक मौका आएको छ । यसपालि यसमा चुक्नुहुन्न । म्यानमार बलियो टिम हो । त्यही टिमलाई जित्न सक्छौं भन्ने हाम्रो विश्वास छ ।’

यस्तोमा प्रस्ट छ, एक किसिमले नेपाली टिमले आफैंले आफैंलाई दबाबमा राखेको छ । नेपाली फुटबलले के बुझ्न आवश्यक छ भने यो फोर नेसन्स कप आफैंमा कुनै आधिकारिक प्रतियोगिता होइन । नेपाली महिला फुटबलको दृष्टिकोणले यो प्रतियोगिता अहिले नै धेरै सफल साबित भएको छ । यसले प्रमाणित गरिसकेको छ, अन्तर्राष्ट्रिय महिला फुटबलमा प्रचुर सम्भावना छ । यसमा लगानीमात्र गर्न सक्नुपर्छ, ठूला उपलब्धिहरू धेरै टाढा छैन । 

के यो उपाधिभन्दा कम हो र ? प्रशिक्षक तामाङले एउटा अर्को रणनीतिक तथ्यबारे बोलेका छन् । उनले जोड दिएको खेलको स्वरूप त्यस्तो छ, जसमा खेलाडीलाई एक क्षण पनि चुप लाग्ने र आरामको अवसर हुन्न । लगातार तीव्र गतिले खेल्ने । जसले ‘हाइप्रेस’ मा खेल्न सक्दैन, तिनीहरूलाई अवसर कम हुँदै जान्छ । 

अब म्यानमार टिमको कुरा । फोर नेसन्स कपलाई लिएर म्यानमार र यसका प्रमुख प्रशिक्षक तत्सुरो उकीले नेपालको तुलनामा ठ्याक्कै फरक रणनीति अपनाएका छन् । उकी हुन्, जापानी प्रशिक्षक । जे–लिगका ठूला क्लब सम्हालेको अनुभव उनमा छ । अधिकांश जापानी जस्तै उनी असाध्यै नम्र छन् । त्यत्तिकै भद्र कुरा गर्छन् ।

फोर नेसन्स कपको आयोजना गरेकामा उनी नेपाल र अखिल नेपाल फुटबल संघ (एन्फा) लाई धन्यबाद दिएर थाक्दैनन् । यो प्रतियोगिता लिएर उनले तयार पारेको एउटै रणनीति हो, आफूले काठमाडौं ल्याएका सबै खेलाडीलाई अवसर दिने अनि उनीहरूको प्रदर्शन कस्तो छ जाँच्ने । यो त असाध्यै व्यावसायिक रणनीति हो । 

म्यानमारले तीन खेल खेलेकामा उनले २२ खेलाडीलाई मैदानमा उतारिसकेका छन् । त्यो भनेको सबै ‘आउट फिल्ड’ खेलाडीले मौका पाइसके । खालि तेस्रो रोजाइका गोलरक्षक मात्रै मैदानमा उत्रिएका छैनन् । प्रशिक्षक आफ्ना सबै खेलाडीका परीक्षा लिन चाहन्छन् । त्यस अर्थमा उनले फोर नेसन्स कपको भरपूर फाइदा उठाएका छन् । प्रशिक्षक उकीले नेपाली मिडियासामु जतिपल्ट बोल्ने अवसर पाएका छन्, त्यसको सार लगभग एउटै छ । 

उनी भन्छन्, ‘नेपाली टिम राम्रो छ । नेपाली खेलाडीको प्रदर्शन उच्च छ । हाम्रा लागि यो प्रतियोगिता खेल्न पाउनु पनि ठूलै हो, किनभने यस्तै प्रतियोगिताबाट त हो हाम्रा खेलाडीले सिक्ने । हामीले प्रत्येक खेलमा आफ्ना उत्कृष्ट खेलाडी नै उतारेका छौं । फाइनलमा पनि यही क्रम दोहोरिन्छ । हामीलाई विश्वास छ, फाइनलमा उच्च प्रतिस्पर्धा चल्नेछ । माथिल्लो दर्जाको खेल हेर्न पाइनेछ ।’ उनको खास दृष्टि भने जुन–जुलाईमा हुने विश्वकप, एसिया कप र ओलम्पिक छनोटप्रति छ । 

उनले कुनै पनि बेला आफ्नो टिमलाई अहिलेको उपाधि जित्नुपर्छ भनेर दबाब दिएका छैनन् । बरु भन्छन्, म्यानमारका खेलाडीले राम्रो खेले पुग्छ । उनी नेपालको एउटा अर्को तथ्यबाट प्रभावित छन् । यो हो, महिला फुटबलमा दर्शकको अपार उपस्थिति । अन्यत्र पूरापूर भरिएको रंगशालामा महिला खेलाडीले खेल्ने अवसर नै कहाँ पाउँछन् र ? उनी चाहन्छन्, म्यानमारका खेलाडीहरूले दर्शकले खचाखच भरिएको दशरथ रंगशालामा खेलेर बहुमूल्य अनुभव बटुलोस् ।

हिमेश

Link copied successfully