काठमाडौँ — आयोजक ललितपुर टेबलटेनिस क्लब र ग्लोबल टेबलटेनिस एकेडेमीले सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको टिम इभेन्टमा स्वर्ण पदक जितेका छन् । ललितपुर पुरुष र ग्लोबल महिलामा विजेता भएको हो ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगिताको पुरुष फाइनलमा ललितपुरले प्यासिफिकलाई ३–० ले हरायो । ललितपुरको प्रशिक्षकमा निकेश जोशी र व्यवस्थापकमा सुमन शाक्य छन् । नेपाल पुलिस क्लब र ग्लोबलले तेस्रो स्थानमा चित्त बुझाए ।
महिला फाइनलमा ग्लोबलले प्यासिफिक सेन्टर ‘ए’ लाई ३–१ ले हरायो । दार्जिलिङ टीटी एसोसिएसन र ललितपुर टेबलटेनिस क्लब तेस्रो भए । पुरुष/महिला दुवैमा शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ५० हजार, २५ हजार र १० हजार रुपैयाँ पुरस्कार पाए ।
