कोशी प्रिमियर लिग क्रिकेट :एनबीएससी लायनको चौथो हार

फाल्गुन १३, २०८१

अर्जुन सुवेदी

Koshi Premier League Cricket:NBSC Lions' fourth loss

सुनसरी — कोशी प्रिमियर लिग क्रिकेट प्रतियोगितामा एनबीएससी लायन उपाधि होडबाट बाहिरिएको छ । सुनसरीको भोक्राहामा सोमबार विराटनगरको टिम एनबीएससी लायन भोक्राहा नरसिंह अर्नाजसँग २४ रनले पराजित भएको थियो । एनबीएससी लायनको यो लगातार चौथो हार हो ।

यसअघि विनोद भण्डारी, लोकेश बम, विवेक यादव र शाहब आलमसम्मिलित दुहबी क्यापिटल्स पनि उपाधि होडबाट बाहिरिएको थियो । जारी लिगमा अहिलेसम्म जितको खाता खोल्न नसकेका यी दुई टिमले बाँकी दुई खेल खेल्न बाँकी छ । दुवैको खेल जिते पनि फाइनल पुग्ने सम्भावना छैन । 

सुनसरीको भोक्राहास्थित डाक्टर खालिल आजाद क्रिकेट मैदानमा भएको दोस्रो खेलमा टस हारेर ब्याटिङ गरेको अर्नाजले ओसिलो पिचका कारण १७ ओभरमा घटाइएको खेलमा ७ विकेट गुमाएर १ सय २४ रन जोडेको थियो । सन्दीप ढुंगानाले सर्वाधिक ३३ रन बनाए । आयुष्मान बलमे २६, किरण ठगुन्नाले १८, रोहन शाहले १२ र समीर कार्कीले १० रनको योगदान दिए । 

एनबीएससीका महबुब इराकीले ४ र नितेश यादवले २ विकेट लिए । जवाफमा १ सय २५ रनको लक्ष्य पछ्याएको एनबीएससी विराटनगरले ९ विकेट गुमाई १ सय रनमात्र बनाउन सक्यो । अविनाश कर्णले सर्वाधिक ३२ रन बनाए पनि टिमलाई जिताउन सकेनन । दिलीप नाथले १३ रन बनाए । भोक्राहाका सन्दीप ढुंगानाले ३ र रोहन शाहले २ विकेट लिए । प्लेयर अफ द म्याच भोक्राहाका सन्दीप ढुंगाना भए । उनले ५ हजार पाए ।

अहिलेसम्म ५ खेल खेलेको अंकित सुवेदीको कप्तानीको टिम भोक्राहा ४ मा जित र एक हारसहित ८ अंक लिएर दोस्रो स्थानमा छ । ४ खेलमा शतप्रतिशत जित निकालेको बलान बिहुल सप्तरी टाइगर्स ८ अंकसहित शीर्षस्थानमा छ । ४ खेलमा तीनमा जित र एकमा हार बेहोरेको नमुना ब्लास्टर तेस्रो स्थानमा छ । २ जित र २ हारसहित ४ अंक लिएर इटहरी आदर्श जायन्ट्स चौथो स्थानमा छ । सोमबार हुने भनिएको पूर्वेली सुपर किंग र नमुना ब्लास्टरबीचको खेल भने वर्षाको कारण रद्द भएको छ । लिगमा कुल २२ खेल हुनेछ । शीर्ष दुईमा रहने टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

अर्जुन

Link copied successfully