काठमाडौँ — नेपालको क्रिकेट मैदानमा पहिलो पटक 'फ्लड लाइट' जडान गरिएको छ । एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा ५ वटा 'फ्लड लाइट' जडान गरिएको हो । ७ करोड रुपैयाँभन्दा बढी खर्च गरी जडान गरिएको 'फ्लड लाइट' परीक्षणको काम बुधबारदेखि सुरु हुने स्टेडियमका प्रबन्ध निर्देशक विनोद कुँवरले जानकारी दिए ।
२०८० साल जेठ २९ गते शिलान्यास भएको स्टेडियमको ०८० फागुन २८ मा गते उद्घाटन गरी लिजेन्ड्स कप क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो ।
त्यसयता यो मैदानमा जिल्ला र स्थानीय स्तरमा सयभन्दा बढी खेल भइसकेका छन् । नेपालको १९ वर्ष मुनिको विश्वकप खेलेको महिला टोली र नेपाल प्रिमियर लिग टिम लुम्बिनी लायन्सले यो मैदानमा अभ्यास समेत गरेको थियो । यही फागुन २५ गतेदेखि सुरु हुने प्रधानमन्त्री कप क्रिकेटका ४६ मध्ये १५ खेल यही मैदानमा हुनेछन् । प्रधानमन्त्री कपका लागि पनि अहिले मैदानमा आवश्यक काम चलिरहेको छ ।
नेपाल क्रिकेट संघ क्यानले प्रधानमन्त्री कप क्रिकेटका लागि एक्स्ट्राटेक ओभललाई छनोट गरेकोमा खुशी लागेको प्रबन्ध निर्देशक कुँवरले बताए । सात वटा पिच रहेको मैदानमा अब खेल हुने मात्रै नभइ नेपालमै पहिलो 'फ्लड लाइट'मा डे–नाइट म्याच हुने चरणमा प्रवेश गरेको छ । केही दिनमा लाइट टेस्टिङको काम सकेर डे–नाइट म्याचका लागि तयार हुनेछ । आवश्यक परे लाइटको क्षमता थप्ने तयारीका साथ आफूहरु बसिरहेको र सम्वद्ध निकाय अनि खेलाडीबाट समेत त्यसको परीक्षण गराइने कुँवरले बताए ।
एकातिर मैदान तयार भएर 'फ्लड लाइट'को काम चलिरहेको छ भने अर्कोतिर अरु संरचना निर्माणको काम पनि तीव्र गतिमा भइरहेको छ । नेट प्राक्टिसका लागि पनि पिच अन्तिम चरणमा पुगेको छ । नेट प्राक्टिसका लागि छ वटा पिच बनिरहेका छन् ।
अहिलेसम्म मैदानमा जग्गाबाहेक २५ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको कुँवरले बताए । चार तलाको २ वटा भवन बनिरहेका छन् । जहाँ भीआईपी बक्स प्लेयर बक्स, चेन्जिङ रुम र मिडिया बक्स हुनेछन् । यी संरचनाको काम अन्तिम चरणमा छ ।
भीआईपी भवनमा नौ सय सिट क्षमताको प्यारापिट बन्नेछ । आगामी दुई वर्षभित्र सक्ने लक्ष्य रहेको यो मैदानमा २५ हजार दर्शक क्षमताको प्यारापिट बन्नेछ । यो काम केही समयमा सुरु हुने कुँवरले बताए । उनका अनुसार ५ हजार दर्शक क्षमतासहितको प्यारापिटक एक वर्षभित्रै तयार भइसक्नेछ ।
