नेपालका लागि सावित्रा हुनुको अर्थ

बुधबार फाइनलअघिको रिहर्सल मानिएको खेलको नतिजाले नेपाल र म्यानमार दुवै दंग

फाल्गुन १२, २०८१

हिमेश

Meaning of being Savitra for Nepal

काठमाडौँ — फोर नेसन्स कपको फाइनल अगाडि नेपाल र म्यानमारबीच हुनुपर्ने खेल यस्तै थियो, अत्यधिक रोमाञ्चक । नेपाली महिला राष्ट्रिय टिमले आइतबार केही लामो समयपछि दशरथ रंगशालामा त्यस्तो खेल पस्कन सफल रह्यो, जसलाई मन छुने भन्न सकिन्छ । 

यो खेलले अब बुधबार हुने फाइनलका लागि त्यो आधार पनि तयार पारेको छ, जसमा टिकेर नेपालले भन्न सक्नेछ, ‘हामीले किन नसक्ने त ?’ अनि यो खेल यस्तो पनि रह्यो, जसले नेपालका लागि सावित्रा भण्डारी हुनुको अर्थ प्रस्ट पारेको छ ।

नेपालले खाएका दुवै गोल म्यानमारको मिहिनेतभन्दा आफ्नै खेलाडीको बढी दोष थियो । नेपालले गरेका दुई गोलमा भने पूर्णतः सावित्रा छाएकी थिइन् । उनले सुरुमा गोलको अवसर सिर्जना गरिन् अनि पछि आफैं गोल गरिन् । यसरी नेपाल खेलमा दुईपल्ट पछाडि रहेर पनि फर्कन सफल रह्यो ।

सावित्राको आत्मविश्वास कति धेरै उच्च देखियो भने खेलपछि उनको प्रतिक्रिया थियो, ‘खेलमा कुनै पनि बेला हामी पछाडि रहेको महसुस नै भएन ।’ किर्गिस्तान र लेवनानविरुद्ध आफ्नो प्रतिष्ठाअनुसार खेल्न नसकेकी सावित्रा म्यानमारविरुद्ध ‘वान वुमेन शो’ जस्तै रह्यो । त्यसो भए के यो नेपालका लागि उनको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन रह्यो त ?

उनले भनिन्, ‘सुरुका दुई खेलमा मैले राम्रो गर्न सकिनँ । तर, आजको प्रदर्शन कम्तीमा सम्झनालायक रह्यो । मैले भन्दै आएको छु, भारतलाई भारतीय भूमिमै हराउँदा र भारतलाई पछिल्लो पटक हराउँदाको प्रदर्शन उच्च थियो । विश्वास गर्‍यो, यस्ता यादगार खेल थपिँदै जानेछन् ।’

तर, सावित्रा आफैंलाई के थाहा भएन भने म्यानमारविरुद्ध उनले ४० औं मिनेटमा गरेको गोल आफैंमा ऐतिहासिक रह्यो । यसैको माध्यमबाट उनी दशरथ रंगशालामा नेपालका लागि सबैभन्दा बढी सात अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी भएकी छन् । यसका लागि पुरुष र महिला दुवैको खेल जोड्नुपर्ने हुन्छ । यसअघि नेपालका लागि भरत खवासले दशरथ रंगशालामा छ गोल गरेको कीर्तिमान थियो । अब सावित्राले उनलाई उछिनेकी छन् ।

यस क्रममा उनी त्यो बाटोमा छिन्, जसले उनलाई अहिलेसम्म उत्कृष्ट खेलाडी बनाउँदै छ । म्यानमारका जापानी प्रशिक्षक तेत्सुरो उकीले पनि सावित्राको खुलेर प्रशंसा गरे र भने, ‘यी खेलाडी शारीरिक रूपमा बलियो छिन्, उनको गति पनि सानदार छ । बलमाथि राम्रो नियन्त्रण राख्छिन् र प्राविधिक रूपमा उत्कृष्ट छिन् ।’ यति भन्दै गर्दा पनि सावित्रा के मान्छिन् भने नेपाली टिममा अझै केही कमजोरी छ र त्यसलाई चाँडै सुधार्न आवश्यक छ ।

डिफेन्समै समस्या

नेपालको समस्या भनेको डिफेन्समै रहेको छ र यो तथ्य म्यानमारविरुद्ध खुलस्त देखिएको थियो । ‘डिफेन्समा नेपालको यस्तै प्रदर्शनले फाइनलमा त गाह्रै हुनेछ,’ नेपाली प्रशिक्षक राजेन्द्र तामाङले पनि माने, ‘आजको खेलमा सुरुवाती समयमा सम्हाल्नै सकेनौं । हाम्रो डिफेन्समा समन्वयको कमी रह्यो ।’ हुन पनि नेपालले म्यानमारलाई दुवै गोल उपहारका रूपमा दिएको थियो भन्दा हुन्छ । पहिलो गोल म्याट नोए खिनले छैटौं मिनेटमा गरेकी थिइन् ।

पेनाल्टी एरियाको ठीक बाहिरबाट गरेको उनको प्रहार सिधै गोलमा परिणत भएको थियो । गोलपोस्टको जिम्मा पाएकी अञ्जना रानामगरले त्यस प्रहारलाई रोक्न सक्नुपर्ने थियो तर त्यस्तो भएन । म्यानमारले १६ औं मिनेटमा गरेको दोस्रो गोल पनि नेपालले रोक्न सक्नुपर्ने थियो । खराब लयमा रहेकी गीता रानाले बल राम्रोसँग क्लियर गर्न सकिनन् र मे हेट लुले सजिलै गोल गरिन् । यसपल्ट गीता किन हो, आफ्नो स्वाभाविक प्रदर्शनको छेउछाउ पनि रहेकी छैनन् ।

नेपालको रक्षापंक्तिले अलिकति मात्र सुधारिएको खेल खेलेको भए, म्यानमारविरुद्ध पहिलो जित सम्भव हुने थियो । नेपालका लागि पहिलो गोल सविता रानामगरले ११ औं मिनेटमा गरिन् । उनले नजिकको दूरीबाट सजिलै गोल गरिन् । तर यो गोलका लागि सावित्राले जसरी अवसरको सिर्जना गरिन्, त्यो सबैभन्दा हेर्न लायक थियो । पछि सावित्राले प्रीति राईले दिएको पासमा गोल गरिन् र यो रह्यो उनको नेपालका लागि ५७ औं गोल ।

खेलबारे प्रशिक्षक तामाङको विश्लेषण थियो, ‘समग्रमा नेपालको प्रदर्शन राम्रै रह्यो, म खुसी नै छु ।’ तिनै म्यानमारका जापानी प्रशिक्षक उकीले आफ्नो टिमका लागि यो खेल निकै कठिन भएको माने र फेरि एकपल्ट कूटनीतिक भाषामा भने, ‘नेपाल बलियो टिम हो । यसका खेलाडी राम्रा छन् ।’ लिग चरणको अन्तिम खेलमा म्यानमारले आफ्ना सबै पहिलो रोजाइका खेलाडी पनि उतारेनन् । तर, यसैबारे सोधिएको प्रश्नमा उनको उत्तर थियो, ‘हामीले सक्दो राम्रो टिम नै खेलाएका हौं । हाम्रा धेरै खेलाडी थाकेका छन् ।’

लेवनानको सान्त्वना जित

चारदेशीय प्रतियोगिताको लिग चरणको समाप्तिमा म्यानमार र नेपालको समान सात अंक रह्यो । यस खेल अगाडि नै दुवै टिम फाइनल पुगिसकेका हुन् । अपराजित रहने क्रममा दुवै टिमले समान दुई/दुई जित आत्मसात् गरेका हुन् । गोल अन्तरले भने म्यानमार नै अगाडि रह्यो । आइतबारको पहिलो खेलमा लेवनानले किर्गिस्तानलाई हराएको थियो र यो प्रतियोगिताको उसको सान्त्वना जित रह्यो । 

लेवनानको तीन अंक भएको छ भने किर्गिस्तान शून्यमै रह्यो । लेवनानको त्यस जितमा दुवै गोल पहिलो हाफमै सम्भव भएका थिए । क्रिस्ट मालोफले १३ औं मिनेटमा पहिलो गोल गरिन् र यो आफैंमा उत्कृष्ट रह्यो । उनले पेनाल्टी एरियाको ठीक बाहिरबाट गरेको प्रहार सुन्दर गोलमा परिणत भएको थियो । त्यसपछि २२ औं मिनेटमा म्या रोस महानाले दोस्रो गोल थपिन् । 

हिमेश

Link copied successfully