बंगलादेशी टोली सेमिफाइनलमा

फाल्गुन १२, २०८१

कान्तिपुर संवाददाता

Bangladeshi team in semi-final

विराटनगर — बंगलादेशको काउर्न बाजार प्रगति संघ आइतबार न्युरोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । 

भद्रपुरस्थित मेची रंगशालामा तेस्रो क्वार्टरफाइनलमा बंगलादेशी टोलीले २४ औं मिनेटमा अग्रता बनायो । साकिलको क्रस पासमा पेनाल्टी एरियाभित्र अनमार्क रहेका साहिदले गोल गरे ।

लगत्तै खेलको २६ औं मिनेटमा बंगलादेशका विदेशी खेलाडी एस सिल्लाहले गोल गर्दै टिमलाई २–० ले अग्रता दोब्बर बनाए । सिल्लाहले मध्य भागबाट एकल प्रयासमा गोल गरेका थिए । 

पहिलो रोजाइका खेलाडीको अनुपस्थितिमा एनआरटी खेलभरि दबाबमा देखिन्थ्यो । पाँचौं मिनेटमा मोहित गुरुङले पेनाल्टी एरियाभित्र पाएको अवसर गुमाए ।

उनको प्रहार क्रसबार नजिकैबाट बाहिरियो । १६ औं मिनेटमा मोहित फेरि पेनाल्टी एरियामा चुके । ३८ औं मिनेटमा शिशिर लेखीको प्रहार पनि बाहिरियो । ५२ औं मिनेटमा मोहितको प्रहार बंगलादेशका गोलकिपर रब्बीले बचाउ गरे । ४८ औं मिनेटमा साकिलले प्रहार गरेको बल दोस्रो बार छेउबाट बाहिरियो ।

खेलको प्लेयर अफ द म्याच बंगलादेशका एस सिल्लाह भए । उनले नगद २१ हजार र ट्रफी पाए । बंगलादेशले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग खेल्नेछ । सोमबारको अन्तिम क्वार्टरफाइनल खेल एपीएफ एफसी र ट्रान्सपोर्ट युनाइटेड एफसी भुटानबीच हुनेछ ।

कान्तिपुर

Link copied successfully