महिला फुटबलले बोकेको सम्भावना

‘नेपालमा फुटबलको लोकप्रियतामा कमी छैन, यत्तिकै गतिमा अगाडि बढ्ने हो भने महिलामा राम्रो प्रगति गर्न सक्छौं’

फाल्गुन ११, २०८१

हिमेश

The potential that women's football holds

काठमाडौँ — विश्व खेलकुदमा ‘नेक्स्ट बिग थिङ’ केहीलाई मानिएको छ भने त्यो हो, महिला फुटबल । महिला फुटबल जसरी विस्तार र लोकप्रिय भइरहेको छ, त्यसले देखाउँछ विश्व खेलकुद बजारमा तहल्का मच्चाउने भनेको नै यसैले हो । यसमा छ ग्ल्यामर अनि सनसनी । 

यी सबै तथ्य बुझेर अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफपी) ले अहिले महिला फुटबललाई उत्तिकै महत्त्व दिइरहेको छ । संयोग कस्तो भने ठीक यही बेला नेपाली महिला फुटबल स्वयंले यसअघि कहिल्यै लिन नसकेको उडान लिइरहेको छ । उडान हो लोकप्रियता र सम्भावना दुवै आधारमा । 

अहिले काठमाडौंमै फोर नेसन्स कप अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप चलिरहेको छ । एसियाली महिला फुटबलकै एउटा शक्ति म्यानमारसँगै ठिक्कका दुई टिम किर्गिस्तान र लेवनान पनि यस प्रतियोगितामा भिड्दै छन् । नेपाल त आयोजक भइहाल्यो । लिग चरणको अन्तिम दिनअघि नै अपेक्षाअनुसार म्यानमार र नेपाल फाइनल पुगिसकेका छन् ।

त्यसअघि समूहमा शीर्षमा रहन यिनै दुई टिम नेपाल र म्यानमार भिड्नेछ । नेपालले किर्गिस्तान र लेवनानलाई हराइसकेको छ । त्यसैले नेपाली महिला टिमसामु निकै महत्त्वको दुई खेल छ म्यानमारसँग । एउटा खेल आइतबार छ भने फाइनल बुधबार । दक्षिणपूर्वी एसियाको महिला फुटबल एसियामै बलियो मानिन्छ । त्यसैले अबको ५ दिनमा नेपाल एउटा परीक्षाबाट गुज्रिनेछ । महिला टोलीले दुईपल्ट म्यानमारविरुद्ध खेल्नेछ । त्यसको नतिजाले एउटा रूपरेखा तयार पार्न सहयोग गर्नेछ । त्यसले नेपाली महिला फुटबल कहाँनिर भन्ने चित्र दिन सक्नेछ ।

‘हाम्रो पूरा ध्यान अब यही दुई खेलमा हुनेछ र हामी त्यसैअनुसार रणनीति बनाउने छौं,’ नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङ भन्छन् । प्रतियोगिताक्रममा देखिएको छ, नेपाली महिला फुटबललाई टिकट काटेर खेल हेर्ने दर्शकको अभाव छैन । लेवनानविरुद्धको खेलमै पनि आधिकारिक रूपमै १२ हजारको हाराहारीमा दर्शक दशरथ रंगशालमा उपस्थित थिए । जतिबेला नेपालले अब दुई खेल खेल्नेछ, त्यसमा दर्शकको घुँइचो लाग्नेछ ।

ठीक यही बेला अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राई वचन दिन्छन्, ‘हाम्रो सबैभन्दा ठूलो प्राथमिकतामा महिला फुटबलप्रति छ र हामीले त्यसैअनुसार कार्यक्रम तय गरिरहेका छौं । हामीले विश्वकप छनोटकै नारा दिएका छौं । हामी सबै महिला फुटबलप्रति सकारात्मक छौं । त्यसमाथि नेपाल सरकार पनि नेपाली महिला फुटबलमा लगानीलाई सकारात्मक देखिएको छ । त्यसैले हामी सबै असाध्यै उत्साही छौं ।’

व्यस्त हुँदै महिला फुटबल वर्ष २०८१ नेपालको घरेलु महिला फुटबलका लागि धेरै अर्थमा ऐतिहासिक रह्यो । यसअघि महिला खेलाडीको एउटै गुनासो हुने गर्थ्यो, हामीले खेल्नै पाएनौं । तर यसपालि सबैभन्दा पहिले छनोट भयो सुर्खेतमा । त्यसपछि लिगको पहिलो चरणको खेल भयो । लिग त्यत्तिकैमा टुंगिएन, दोस्रो चरणका खेल पनि सकियो । अझ त्यतिले पनि नपुगेर प्लेअफका खेल पनि भए । त्यसमा इलिमिनेटर, क्वालिफायर र फाइनलको मिश्रण थियो । यसरी लामो समयका लागि धेरै खेल भएको यो नै पहिलो पटक हो ।

‘अब आउने वर्षमा महिला लिग अझ विस्तृत र व्यवस्थित बनाइने छ,’ एन्फाका प्रतियोगिता निर्देशक सन्जीव मिश्र भन्छन्, ‘यसपल्टको लिगमै पनि धेरै प्रतिभाशाली नयाँ र युवा खेलाडी पाएका छौं । हामीसँग अहिलेको एक पुस्ता खेलाडी त छ नै, उनीहरूको स्थान लिन सक्ने खेलाडी पनि उत्तिकै देखिएका छन् ।’ 

महिला फुटबललाई लिएर उत्साहित हुनुपर्ने एउटा अर्को कारण पनि छ । अब चाँडै इलाम, नेपालगन्ज र चितवनमा महिलाकै नकआउट प्रतियोगिता हुनेछ ।

महिला खेलाडीको एउटा चाहना नै थियो, मोफसलमा गएर खेल्ने । अब त्यो पनि पूरा हुँदै छ । त्यसले महिला फुटबललाई अझ व्यस्त बनाउने छ । सँगै हुनेछ फिफा विन्डोमा नियमित मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल । महासचिव राई भन्छन्, ‘अब हामीले फिफा विन्डोमा पाउने समयलाई अझ बढी उपयोग गर्नेछौं । राष्ट्रिय टिमको प्रशिक्षकलाई अझ व्यवस्थित र नियमित बनाउने छौं । अझै पनि महिला फुटबलमा उत्तिकै समस्याहरू होलान् । त्यसलाई कम गर्दै नेपाली महिला फुटबललाई सुदृढ र व्यवस्थित पार्नेछौं ।’ 

फिफा विन्डोमै खेल राख्नुको खास कारण छ । स्ट्राइकर सावित्रा भण्डारी र कप्तान एवं गोलरक्षक एन्जिला तुम्बापो सुब्बा युरोपमा व्यावसायिक क्लब फुटबल खेलिरहेका छन् । सावित्रा फ्रान्स र एन्जिला ग्रिसमा खेलिरहेका छन् । उनीहरूलाई फिफा विन्डोमै मात्र क्लबले देशका लागि खेल्न रिलिज गर्ने गर्छ । नेपालले फोर नेसन्स कपको उद्घाटन खेल खेल्ने दिन बिहान सावित्रा नेपाल आइपुगेकी थिइन् । दोस्रो हाफमा मात्र मैदान प्रवेश गरिन् । 

प्रतियोगिता निर्देशक मिश्रका अनुसार फिफाले अप्रिल र मे महिनामा थप दुई विन्डो राखेको छ । यी दुवै अवसरमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुनेछ । यो सबैको लक्ष्य भनेको जुन–जुलाईमा हुने एसिया कप छनोटको तयारी नै हो । एसियाली महिला फुटबलकै लागि यो निकै महत्त्वपूर्ण छनोट रहनेछ । किनभने यसले एसिया कप मात्र होइन, विश्वकप र ओलम्पिकको छनोटको रूपमा पनि काम गर्नेछ । विश्वकप सन् २०२७ मा हुनेछ भने ओलम्पिक २०२८ मा ।

यो छनोटको ‘ड्र’ भने निस्कन बाँकी छ । अहिलेसम्म ३३ टिमले यो छनोट खेल्ने भनिसकेका छन् । यी टिमलाई ८ समूहमा विभाजन गरिनेछ । लिग चरण समाप्तिमा शीर्षस्थानमा रहने टिमले एसिया कप खेल्नेछ । अबको एसिया कप अस्ट्रेलियामा हुनेछ । त्यसमा कुल १२ टिमको सहभागिता रहनेछ । फिफाको वरीयतामा नेपाल १ सय ३ औं स्थानमा छ । एसियाकै मात्र कुरा गर्दा भने नेपाल २० औं स्थानमा छ । त्यसैले पनि छनोटमा नेपालको सम्भावना बलियो छ ।

‘हामीले महिला फुटबललाई व्यवस्थित ढंगले अगाडि बढाउन सक्ने हो भने अन्तर्राष्ट्रिय स्तरमै नेपालको सम्भावना धेरै छ,’ मिश्र थप्छन्, ‘यसका लागि चाहिने भनेकै योजनाबद्ध कार्यक्रम हो । हामीले उमेर समूहको फुटबलमा ध्यान दिन सक्नुपर्छ, एकेडेमीको स्थापना गर्नु सक्नुपर्छ । नेपालमा फुटबलको लोकप्रियतामा कमी छैन । हामी यत्तिकै गतिमा अगाडि बढ्ने हो भने हामीले महिला फुटबलमा राम्र्रो प्रगति गर्न सक्छौं ।’

यही बेला एएफसीले एसियाली वुमेन्स च्याम्पियन्स लिग पनि सुरु गरेको छ । यसको पहिलो संस्करणमा नेपालको प्रतिनिधित्व गर्दै एपीएफ क्लबले खेलेको थियो । त्यसको अर्थ के भन्दा अब जुन टिमले नेपालको घरेलु लिग जित्ने छ, त्यसले एसियाली फुटबलकै सबैभन्दा ठूलो क्लब फुटबलमा नियमित खेल्न पाउने छ । त्यसले पनि नेपाली महिला फुटबललाई उत्साहित बनाएको हो । अब क्लब फुटबलकै माध्यमबाट पनि अन्तर्राष्ट्रिय प्रतियोगितासम्म पुग्न सकिन्छ ।

फेरिएको छवि

फोर नेसन्स कपमा जतिबेला नेपालको किर्गिस्तान र लेवनानविरुद्ध खेल भइरहेको थियो, फरक–फरक समयमा पूरा रंगशालामा सुनिएको थियो, प्रीति राईको नाममा नारा । सबै एकै स्वरमा भनिरहेका थिए, ‘प्रीति, प्रीति’ । नेपाली महिला फुटबलमा सर्वाधिक लोकप्रिय खेलाडीमा पर्छिन् उनी । उनको प्रदर्शनलाई लिएर कतिसम्म भनिन्छ भने उनी जत्तिको खेल कौशलता भएको खेलाडी बिरलै पाइन्छ । उनी नेपालको दृष्टिकोणले असाधारण प्रतिभाकी खेलाडी हुन् ।

तिनै प्रीति भन्छिन्, ‘अहिले महिला फुटबल खेलाडीप्रति हेर्ने समाजको नजर फेरिएको छ । आजभोलि हामी जहाँ–जहाँ जान्छौं, सबै नेपाली महिला फुटबललाई लिएर कुरा गर्न उत्साही हुन्छन् । सबै सकारात्मक छन् ।’ उनका अनुसार महिला फुटबलले बाक्लो चर्चा पाउन थालेको सन् २०२४ मा साउदी अरेबियामा भएको वाफ च्याम्पियनसिपपछि हो । नेपाल त्यो प्रतियोगितामा उपविजेतामै सीमित रह्यो, तर त्यहाँ नेपालले पस्केको फुटबल अहिलेसम्मकै उत्कृष्ट थियो ।

त्यसो त नेपाली महिला फुटबलको इतिहास आधा दशकको हाराहारीमा छ भने अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको पनि ४० वर्ष छुनेक्रममा छ । पहिलो पुस्ताका खेलाडीले संघर्ष गर्दै सन् ८० र ९० को दशकमा फुटबल खेले । त्यो पुस्ताका खेलाडीलाई सोध्दा भन्छन्, ‘त्यतिबेला महिलाले पनि फुटबल खेल्छ र भनेर प्रश्न गर्थे ।’ तर अहिले समय फेरिएको छ । समग्रमा नेपाली महिला फुटबलको छवि पनि । तिनै प्रीति भन्छिन्, ‘यतिबेला नेपाली महिला फुटबलको सम्भावना बढेको छ ।’

एन्जिला युरोपमा फुटबल खेल्ने दोस्रो महिला खेलाडी हुन् । त्यसअघि सावित्राले पहिलो पटक युरोपमा खेलेकी थिइन् । उनी भने फ्रान्सको माथिल्लो डिभिजनमा खेल्छिन् । रेखा पौडेलले भने यूएईको टिमका लागि खेल्छिन् । एन्जिला भन्छिन्, ‘एकपल्ट नेपाली महिला खेलाडीका लागि युरोपेली फुटबलको ढोका खुलेपछि त्यो क्रम अझ बढ्ने छ ।’ त्यसका लागि चाहिने भनेको कडा मिहिनेत नै हो । फुटबलमा दोहोर्‍याएर भन्ने गरिन्छ, यो खेलमा त्यत्तिकै केही पनि पाइन्न ।

केही पाउने हो भने एउटै सूत्र छ । त्यो हो, लगातारको परिश्रम । नेपाली महिला खेलाडीले आफ्नो सक्दो प्रयासमा कमी मात्र ल्याउनु हुन्न, विदेशतिरको व्यावसायिक फुटबल पनि धेरै टाढा छैन । यसका लागि अभिभावकको भूमिका निभाउनुपर्ने भनेकै एन्फाले हो । अहिलेको नेतृत्व कम्तीमा त्यसतर्फ प्रतिबद्ध देखिएको छ ।

हिमेश

Link copied successfully