‘नेपालमा फुटबलको लोकप्रियतामा कमी छैन, यत्तिकै गतिमा अगाडि बढ्ने हो भने महिलामा राम्रो प्रगति गर्न सक्छौं’
काठमाडौँ — विश्व खेलकुदमा ‘नेक्स्ट बिग थिङ’ केहीलाई मानिएको छ भने त्यो हो, महिला फुटबल । महिला फुटबल जसरी विस्तार र लोकप्रिय भइरहेको छ, त्यसले देखाउँछ विश्व खेलकुद बजारमा तहल्का मच्चाउने भनेको नै यसैले हो । यसमा छ ग्ल्यामर अनि सनसनी ।
यी सबै तथ्य बुझेर अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफपी) ले अहिले महिला फुटबललाई उत्तिकै महत्त्व दिइरहेको छ । संयोग कस्तो भने ठीक यही बेला नेपाली महिला फुटबल स्वयंले यसअघि कहिल्यै लिन नसकेको उडान लिइरहेको छ । उडान हो लोकप्रियता र सम्भावना दुवै आधारमा ।
अहिले काठमाडौंमै फोर नेसन्स कप अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप चलिरहेको छ । एसियाली महिला फुटबलकै एउटा शक्ति म्यानमारसँगै ठिक्कका दुई टिम किर्गिस्तान र लेवनान पनि यस प्रतियोगितामा भिड्दै छन् । नेपाल त आयोजक भइहाल्यो । लिग चरणको अन्तिम दिनअघि नै अपेक्षाअनुसार म्यानमार र नेपाल फाइनल पुगिसकेका छन् ।
त्यसअघि समूहमा शीर्षमा रहन यिनै दुई टिम नेपाल र म्यानमार भिड्नेछ । नेपालले किर्गिस्तान र लेवनानलाई हराइसकेको छ । त्यसैले नेपाली महिला टिमसामु निकै महत्त्वको दुई खेल छ म्यानमारसँग । एउटा खेल आइतबार छ भने फाइनल बुधबार । दक्षिणपूर्वी एसियाको महिला फुटबल एसियामै बलियो मानिन्छ । त्यसैले अबको ५ दिनमा नेपाल एउटा परीक्षाबाट गुज्रिनेछ । महिला टोलीले दुईपल्ट म्यानमारविरुद्ध खेल्नेछ । त्यसको नतिजाले एउटा रूपरेखा तयार पार्न सहयोग गर्नेछ । त्यसले नेपाली महिला फुटबल कहाँनिर भन्ने चित्र दिन सक्नेछ ।
‘हाम्रो पूरा ध्यान अब यही दुई खेलमा हुनेछ र हामी त्यसैअनुसार रणनीति बनाउने छौं,’ नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङ भन्छन् । प्रतियोगिताक्रममा देखिएको छ, नेपाली महिला फुटबललाई टिकट काटेर खेल हेर्ने दर्शकको अभाव छैन । लेवनानविरुद्धको खेलमै पनि आधिकारिक रूपमै १२ हजारको हाराहारीमा दर्शक दशरथ रंगशालमा उपस्थित थिए । जतिबेला नेपालले अब दुई खेल खेल्नेछ, त्यसमा दर्शकको घुँइचो लाग्नेछ ।
ठीक यही बेला अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राई वचन दिन्छन्, ‘हाम्रो सबैभन्दा ठूलो प्राथमिकतामा महिला फुटबलप्रति छ र हामीले त्यसैअनुसार कार्यक्रम तय गरिरहेका छौं । हामीले विश्वकप छनोटकै नारा दिएका छौं । हामी सबै महिला फुटबलप्रति सकारात्मक छौं । त्यसमाथि नेपाल सरकार पनि नेपाली महिला फुटबलमा लगानीलाई सकारात्मक देखिएको छ । त्यसैले हामी सबै असाध्यै उत्साही छौं ।’
व्यस्त हुँदै महिला फुटबल वर्ष २०८१ नेपालको घरेलु महिला फुटबलका लागि धेरै अर्थमा ऐतिहासिक रह्यो । यसअघि महिला खेलाडीको एउटै गुनासो हुने गर्थ्यो, हामीले खेल्नै पाएनौं । तर यसपालि सबैभन्दा पहिले छनोट भयो सुर्खेतमा । त्यसपछि लिगको पहिलो चरणको खेल भयो । लिग त्यत्तिकैमा टुंगिएन, दोस्रो चरणका खेल पनि सकियो । अझ त्यतिले पनि नपुगेर प्लेअफका खेल पनि भए । त्यसमा इलिमिनेटर, क्वालिफायर र फाइनलको मिश्रण थियो । यसरी लामो समयका लागि धेरै खेल भएको यो नै पहिलो पटक हो ।
‘अब आउने वर्षमा महिला लिग अझ विस्तृत र व्यवस्थित बनाइने छ,’ एन्फाका प्रतियोगिता निर्देशक सन्जीव मिश्र भन्छन्, ‘यसपल्टको लिगमै पनि धेरै प्रतिभाशाली नयाँ र युवा खेलाडी पाएका छौं । हामीसँग अहिलेको एक पुस्ता खेलाडी त छ नै, उनीहरूको स्थान लिन सक्ने खेलाडी पनि उत्तिकै देखिएका छन् ।’
महिला फुटबललाई लिएर उत्साहित हुनुपर्ने एउटा अर्को कारण पनि छ । अब चाँडै इलाम, नेपालगन्ज र चितवनमा महिलाकै नकआउट प्रतियोगिता हुनेछ ।
महिला खेलाडीको एउटा चाहना नै थियो, मोफसलमा गएर खेल्ने । अब त्यो पनि पूरा हुँदै छ । त्यसले महिला फुटबललाई अझ व्यस्त बनाउने छ । सँगै हुनेछ फिफा विन्डोमा नियमित मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल । महासचिव राई भन्छन्, ‘अब हामीले फिफा विन्डोमा पाउने समयलाई अझ बढी उपयोग गर्नेछौं । राष्ट्रिय टिमको प्रशिक्षकलाई अझ व्यवस्थित र नियमित बनाउने छौं । अझै पनि महिला फुटबलमा उत्तिकै समस्याहरू होलान् । त्यसलाई कम गर्दै नेपाली महिला फुटबललाई सुदृढ र व्यवस्थित पार्नेछौं ।’
फिफा विन्डोमै खेल राख्नुको खास कारण छ । स्ट्राइकर सावित्रा भण्डारी र कप्तान एवं गोलरक्षक एन्जिला तुम्बापो सुब्बा युरोपमा व्यावसायिक क्लब फुटबल खेलिरहेका छन् । सावित्रा फ्रान्स र एन्जिला ग्रिसमा खेलिरहेका छन् । उनीहरूलाई फिफा विन्डोमै मात्र क्लबले देशका लागि खेल्न रिलिज गर्ने गर्छ । नेपालले फोर नेसन्स कपको उद्घाटन खेल खेल्ने दिन बिहान सावित्रा नेपाल आइपुगेकी थिइन् । दोस्रो हाफमा मात्र मैदान प्रवेश गरिन् ।
प्रतियोगिता निर्देशक मिश्रका अनुसार फिफाले अप्रिल र मे महिनामा थप दुई विन्डो राखेको छ । यी दुवै अवसरमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुनेछ । यो सबैको लक्ष्य भनेको जुन–जुलाईमा हुने एसिया कप छनोटको तयारी नै हो । एसियाली महिला फुटबलकै लागि यो निकै महत्त्वपूर्ण छनोट रहनेछ । किनभने यसले एसिया कप मात्र होइन, विश्वकप र ओलम्पिकको छनोटको रूपमा पनि काम गर्नेछ । विश्वकप सन् २०२७ मा हुनेछ भने ओलम्पिक २०२८ मा ।
यो छनोटको ‘ड्र’ भने निस्कन बाँकी छ । अहिलेसम्म ३३ टिमले यो छनोट खेल्ने भनिसकेका छन् । यी टिमलाई ८ समूहमा विभाजन गरिनेछ । लिग चरण समाप्तिमा शीर्षस्थानमा रहने टिमले एसिया कप खेल्नेछ । अबको एसिया कप अस्ट्रेलियामा हुनेछ । त्यसमा कुल १२ टिमको सहभागिता रहनेछ । फिफाको वरीयतामा नेपाल १ सय ३ औं स्थानमा छ । एसियाकै मात्र कुरा गर्दा भने नेपाल २० औं स्थानमा छ । त्यसैले पनि छनोटमा नेपालको सम्भावना बलियो छ ।
‘हामीले महिला फुटबललाई व्यवस्थित ढंगले अगाडि बढाउन सक्ने हो भने अन्तर्राष्ट्रिय स्तरमै नेपालको सम्भावना धेरै छ,’ मिश्र थप्छन्, ‘यसका लागि चाहिने भनेकै योजनाबद्ध कार्यक्रम हो । हामीले उमेर समूहको फुटबलमा ध्यान दिन सक्नुपर्छ, एकेडेमीको स्थापना गर्नु सक्नुपर्छ । नेपालमा फुटबलको लोकप्रियतामा कमी छैन । हामी यत्तिकै गतिमा अगाडि बढ्ने हो भने हामीले महिला फुटबलमा राम्र्रो प्रगति गर्न सक्छौं ।’
यही बेला एएफसीले एसियाली वुमेन्स च्याम्पियन्स लिग पनि सुरु गरेको छ । यसको पहिलो संस्करणमा नेपालको प्रतिनिधित्व गर्दै एपीएफ क्लबले खेलेको थियो । त्यसको अर्थ के भन्दा अब जुन टिमले नेपालको घरेलु लिग जित्ने छ, त्यसले एसियाली फुटबलकै सबैभन्दा ठूलो क्लब फुटबलमा नियमित खेल्न पाउने छ । त्यसले पनि नेपाली महिला फुटबललाई उत्साहित बनाएको हो । अब क्लब फुटबलकै माध्यमबाट पनि अन्तर्राष्ट्रिय प्रतियोगितासम्म पुग्न सकिन्छ ।
फेरिएको छवि
फोर नेसन्स कपमा जतिबेला नेपालको किर्गिस्तान र लेवनानविरुद्ध खेल भइरहेको थियो, फरक–फरक समयमा पूरा रंगशालामा सुनिएको थियो, प्रीति राईको नाममा नारा । सबै एकै स्वरमा भनिरहेका थिए, ‘प्रीति, प्रीति’ । नेपाली महिला फुटबलमा सर्वाधिक लोकप्रिय खेलाडीमा पर्छिन् उनी । उनको प्रदर्शनलाई लिएर कतिसम्म भनिन्छ भने उनी जत्तिको खेल कौशलता भएको खेलाडी बिरलै पाइन्छ । उनी नेपालको दृष्टिकोणले असाधारण प्रतिभाकी खेलाडी हुन् ।
तिनै प्रीति भन्छिन्, ‘अहिले महिला फुटबल खेलाडीप्रति हेर्ने समाजको नजर फेरिएको छ । आजभोलि हामी जहाँ–जहाँ जान्छौं, सबै नेपाली महिला फुटबललाई लिएर कुरा गर्न उत्साही हुन्छन् । सबै सकारात्मक छन् ।’ उनका अनुसार महिला फुटबलले बाक्लो चर्चा पाउन थालेको सन् २०२४ मा साउदी अरेबियामा भएको वाफ च्याम्पियनसिपपछि हो । नेपाल त्यो प्रतियोगितामा उपविजेतामै सीमित रह्यो, तर त्यहाँ नेपालले पस्केको फुटबल अहिलेसम्मकै उत्कृष्ट थियो ।
त्यसो त नेपाली महिला फुटबलको इतिहास आधा दशकको हाराहारीमा छ भने अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको पनि ४० वर्ष छुनेक्रममा छ । पहिलो पुस्ताका खेलाडीले संघर्ष गर्दै सन् ८० र ९० को दशकमा फुटबल खेले । त्यो पुस्ताका खेलाडीलाई सोध्दा भन्छन्, ‘त्यतिबेला महिलाले पनि फुटबल खेल्छ र भनेर प्रश्न गर्थे ।’ तर अहिले समय फेरिएको छ । समग्रमा नेपाली महिला फुटबलको छवि पनि । तिनै प्रीति भन्छिन्, ‘यतिबेला नेपाली महिला फुटबलको सम्भावना बढेको छ ।’
एन्जिला युरोपमा फुटबल खेल्ने दोस्रो महिला खेलाडी हुन् । त्यसअघि सावित्राले पहिलो पटक युरोपमा खेलेकी थिइन् । उनी भने फ्रान्सको माथिल्लो डिभिजनमा खेल्छिन् । रेखा पौडेलले भने यूएईको टिमका लागि खेल्छिन् । एन्जिला भन्छिन्, ‘एकपल्ट नेपाली महिला खेलाडीका लागि युरोपेली फुटबलको ढोका खुलेपछि त्यो क्रम अझ बढ्ने छ ।’ त्यसका लागि चाहिने भनेको कडा मिहिनेत नै हो । फुटबलमा दोहोर्याएर भन्ने गरिन्छ, यो खेलमा त्यत्तिकै केही पनि पाइन्न ।
केही पाउने हो भने एउटै सूत्र छ । त्यो हो, लगातारको परिश्रम । नेपाली महिला खेलाडीले आफ्नो सक्दो प्रयासमा कमी मात्र ल्याउनु हुन्न, विदेशतिरको व्यावसायिक फुटबल पनि धेरै टाढा छैन । यसका लागि अभिभावकको भूमिका निभाउनुपर्ने भनेकै एन्फाले हो । अहिलेको नेतृत्व कम्तीमा त्यसतर्फ प्रतिबद्ध देखिएको छ ।
