जिल्लास्तरीय तेक्वान्दोमा सेतीदेवी डोजाङ बन्यो च्याम्पियन

फाल्गुन ११, २०८१

अनिश तिवारी

Setidevi Dojang became the champion in district level taekwondo

सिन्धुपाल्चोक — जिल्लाको बाह्रबिसे नगरपालिका–२ कर्थलीमा शनिबार सम्पन्न ‘जिल्लास्तरीय आठौं तेक्वान्दो प्रतियोगिता ०८१’ को उपाधि सेतीदेवी तेक्वान्दो डोजाङ सुनकोशी गाउँपालिकाले उचालेको छ ।

बाह्रबिसे नगरपालिका–२ स्थित कर्थली डोजाङद्वारा आयोजित जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा ९ स्वर्ण, ३ रजत र एक कास्य पदक जित्दै सेतीदेवी डोजाङका खेलाडी प्रथम भएका हुन् । 

बाह्रबिसे नगर कर्थली तेक्वान्दो डोजाङका अध्यक्ष दिपक खत्रीका अनुसार २३ स्वर्ण पदकका लागि गरिएको प्रतियोगितामा जिल्लाभरबाट दस वटा डोजाङका एक सय ३४ खेलाडीको विभिन्न विधामा प्रतिस्पर्धा चलेको थियो । जसमा ६ स्वर्ण, ४ रजत, २ कास्य पदकसहित आयोजक कर्थली तेक्वान्दो डोजाङ द्वितीय र ३ स्वर्ण, २ रजत र २ कास्य पदकसहित हीराहरी डोजाङ चौतारा तृतीय भएका छन् । उत्कृष्ट पुरुष र महिला खेलाडीतर्फ क्रमशः २० केजी तौल समूहमा ऐंसेलुखर्कका सौगात तामाङ र हिराहरीकी ३८–४२ तौलमा सलिना चुहानले उपाधि उचालेका छन् ।

नेपाल तेक्वान्दो संघ सिन्धुपाल्चोकका अध्यक्ष प्रेमबहादुर भण्डारीले जिल्लाभरका युवा पुस्तालाई तेक्वान्दो खेलमा आकर्षित गर्नका लागि यस्ता खेलका गतिविधि भइरहनुपर्ने बताए । स्वास्थ्य, अनुशासित बनाउँदै तेक्वान्दो खेलमार्फत जिल्लालाई राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा चिनाउन लागिरहेको आयोजक टिमले जनाएको छ ।

कार्यक्रमको उद्घाटन बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले गरेका थिए भने विजेता टिमलाई पुरस्कार शिल्ड, मेडल र प्रमाणपत्र पूर्वमन्त्री तथा प्रतिनिधिसभा–२ का संघीय सांसद मोहनबहादुर बस्नेतले गरेका थिए । 

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully