च्याम्पियन्स ट्रफी: कीर्तिमानी लक्ष्य भेट्टाउँदै अस्ट्रेलियाले १६ वर्षपछि निकाल्यो पहिलो जित, आज भारत र पाकिस्तान भिड्दै

फाल्गुन ११, २०८१

कान्तिपुर संवाददाता

Champions Trophy: Australia chase record target to win first in 16 years, India vs Pakistan today

काठमाडौँ — पाकिस्तान र यूएईमा जारी च्याम्पियन्स ट्रफीमा अस्ट्रेलियाले १६ वर्षपछि पहिलो जित निकालेको छ । त्यो पनि च्याम्पियन्स ट्रफीको इतिहासमा सर्वाधिक रन ‘चेज’ गरेर । 

शनिबार पाकिस्तानको लोहोरस्थित गद्दाफी स्टेडियममा अस्ट्रेलियाले इङ्ग्ल्यान्डलाई पाँच विकेटले हराउँदै जितको सुरुवात गर्‍यो । च्याम्पियन्स ट्रफीमा सन् २००९ पछि अस्ट्रेलियाको यो पहिलो जित हो । 

छैठौं संस्करणको फाइनलमा न्युजिल्याण्डलाई पराजित गर्दै च्याम्पियन बनेको अस्ट्रेलियाले त्यसयता कुनै पनि जित निकाल्न सकेको थिएन । पछिल्ला ६ खेलमा जितविहीन बनेको अस्ट्रेलियाले कीर्तिमानी रन चेज गर्दै शनिबार पहिलो जित निकालेको हो ।

इङ्ग्ल्यान्डले दिएको ३ सय ५२ रनको विशाल लक्ष्य अस्ट्रेलियाले ४७.३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । अस्ट्रेलियाको जितमा जोस इंग्लिसको शतकीय पारी उत्कृष्ट रह्यो । उनले नट आउट रहँदै सर्वाधिक १ सय २० रन जोडे । ८६ बलको सामना गरेका उनले ८ चौका र ६ छक्का प्रहार गरे ।

यस्तै उनको यो एक दिवसीय करिअरमा पहिलो शतक पनि हो । च्याम्पियन्स सिपमा ३५२ रनको लक्ष्य हालसम्मकै सर्वाधिक हो । यसअघि सन् २००४ मा न्यूजिल्यान्डले अमेरिकाविरुद्ध ३४७ रन बनाएको थियो । यस्तै सन् २०१७ मा पाकिस्तानले भारतविरुद्ध ३३८ रन बनाएको थियो । 

३५२ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको अस्ट्रेलियाले २७ रन जोड्दा नै २ विकेट गुमाइसकेको थियो । तर तेस्रो विकेटका लागि माथ्यु शर्ट र मार्नुस लाबुशेनले ९५ रनको साझेदारी गरे । ओपनर शर्टले ६६ बलमा ९ चौका र १ छक्काको सहयोगमा ६३ रन जोडे ।

लाबुशेन ४५ बलमा ५ चौकाको सहयोगमा ४७ रनमा आउट भए । त्यसपछि क्रिजमा आएका कप्तान स्टिभ स्मिथ ५ रनमा आउट भए । पाँचौ विकेटका लागि इंग्लिस र एलेक्स केरीले १ सय ४६ रनको महत्वपूर्ण साझेदारी गरे । केरीले ६३ बलमा ८ चौकाको सहयोगमा ६९ रन बनाए ।

ग्लेन म्याक्सवेल १५ बलमा ३२ रनमा नट आउट रहँदा ओपनर ट्राभिस हेड ५ रनमा आउट भए । इङ्ग्ल्याण्डका लागि आदिल राशिद, मार्क वुड, बायडेन कार्स, लियम लिभिङ्स्टोन र जोफ्रा आर्चरले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निमन्त्रणा पाएको इङ्ग्ल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ५१ रनको विशाल योगफल तयार गर्‍यो । इङ्ग्ल्याण्डका ओपनर बेन डकेटले सर्वाधिक १ सय ६५ रन जोडे । उनले १ सय ४३ बलमा १७ चौका र ३ छक्का प्रहार गरे । डकेटले च्याम्पियन्स ट्रफीको इतिहासमा व्यक्तिगत सर्वाधिक रन बनाए ।

उनले यसअघि २००४ को च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डका नाथन एस्टलले बनाएको कीर्तिमान तोडेका हुन् । नाथनले अमेरिकाविरुद्धको खेलमा नट आउट १ सय ४५ रन बनाएका थिए ।

जो रुटले ७८ बलमा ४ चौकाको सहयोगमा ६८ रनको अर्धशतकीय इनिङ खेले । कप्तान जोस बटलर २३, जेमी स्मिथ १५, लियम लिभिङ्स्टोन १४ रन बनाए । जोफ्रा आर्चर २१ रनमा नट आउट रहँदा बायडेन कार्सले ८ रन जोडे ।

अस्ट्रेलियाका लागि बेन ड्वारशुइसले ३, मार्नुस लाबुशेन र एडम जाम्पाले समान २ तथा ग्लेन म्याक्सवेलले १ विकेट लिए । जितसँगै अस्ट्रेलिया पहिलो खेलमा जितका साथ दोस्रो स्थानमा छ । पराजित इङ्ग्ल्याण्ड भने अंक बिहिन रहेको छ । यस समूहमा रन रेटका आधारमा दक्षिण अफ्रिका शीर्ष स्थानमा छ । च्याम्पियन्स ट्रफीमा सोमवार युएईमा भारत र पाकिस्तानबीच खेल हुदैछ ।

दुई वर्षअघि भारतमा आयोजना भएको ओडिआई विश्व कपको शीर्ष ८ टोली च्याम्पियन्स ट्रफीमा खेल्दैछन् । सहभागी टोली दुई समूहमा विभाजन गरिएको छ । पाकिस्तान, भारत, बंगलादेश तथा न्युजिल्याण्ड समूह ‘ए’ मा छन् ।

अस्ट्रेलिया, अफगानिस्तान, इङ्ग्ल्याण्ड र दक्षिण अफ्रिका समूह ‘बी’ मा छन् । समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । फाइनल फागुन २५ गते (९ मार्च) हुनेछ ।

प्रतियोगिता अन्तर्गत आज भारत र पाकिस्तान भिड्दैछन् । यी दुईबीचको खेल दिउँसो साढे १ बजेदेखि दुबईमा हुनेछ ।  पहिलो खेल भारतले बंगलादेशविरुद्ध जित निकालेको थियो । यता पाकिस्तान न्युजिल्यान्डसँग पराजित भएको थियो । 

कान्तिपुर संवाददाता

Link copied successfully