राईले उचाले ‘मिस्टर बाग्मती बडीबिल्डर’ को उपाधि

फाल्गुन ११, २०८१

अनिश तिवारी

Rai won the title of 'Mr Bagmati Bodybuilder'

सिन्धुपाल्चोक — जिल्लाको मेलम्ची नगरपालिकाको मेलम्ची बजारमा सम्पन्न ‘मिस्टर बाग्मती बडीबिल्डर ०८१’ को उपाधि कलंकी जिम सेन्टरका बडीबिल्डर मिलन राईले उचालेका छन् ।

शनिबार मेलम्चीमा जलवादेवी माझिगाउँ युवा क्लबद्वारा आयोजित ‘मिस्टर बाग्मती बडीबिल्डर ०८१’ प्रतियोगितामा बडीबिल्डर राई प्रथम भएका हुन् । अल्फा फिटनेस सेन्टरका निर्देश घले दोस्रो र कलंकी सफलका महेन्द्र थापा मगर तेस्रो भएका छन् । 

प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय भएका बडीबिल्डरले क्रमश : ५० हजार, २५ हजार, १५ हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र पाएका छन् । जिल्लामा सम्भवत: पहिलो पटक भएको पृथक तथा रमाइलो प्रतियोगितामा देशभरबाट २० बडीबिल्डर सहभागी थिए । 

यो सुगंठित शरीर देखाउने कला र प्रतियोगिता हेर्न आएकाहरुको भीड सम्हाल्न आयोजक पनि हम्मे परेको थियो । ५० देखि ६० केजी तौल समूहको ग्रुप ‘ए’, ६० देखि ७० केजी ग्रुप ‘बी’ र ७० भन्दामाथि तौल भएकालाई ग्रुप ‘सी’ अर्न्तगत राखेर प्रतियोगिता गरिएको मेलम्ची जलवादेवी माझिगाउँ युवा क्लबले जनाएको छ । 

बडीबिल्डरको जाँगर र क्षमता मूल्याकंन गर्न निर्णायक मण्डलमा पूराना बडीबिल्डर हस्ती मानिएका प्रमुखमा दिल्लीराज खड्की, सहायक निर्णायक मण्डलमा प्रकाश प्रजापति र गोपाल वैदी रहेका थिए । कार्यक्रम संञ्चालन गर्नका लागि मेलम्ची नगरपालिकाले २० हजार र अन्य व्यक्ति तथा विभिन्न संस्थाले सहयोग गरेका थिए ।

अनिश तिवारी तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully