नेपाल सुपर लिग: विदेशी खेलाडी निर्णायक हुने सम्भावना

फाल्गुन ११, २०८१

हिमेश

Nepal Super League: Foreign players likely to be decisive

काठमाडौँ — धेरैभन्दा धेरै सम्भावना बनेको छ, अबको नेपाल सुपर लिग (एनएसएल) २०२५ मा विदेशी खेलाडी नै निर्णायक हुनेछ । अपेक्षा के गरौं भने यो प्रतियोगिता खेल्न आउने विदेशी खेलाडी उच्चस्तरको होस् । प्रतियोगिताको तेस्रो संस्करणका लागि शनिबार ‘मिनी अक्सन’ भएको थियो ।

धेरै अर्थमा त्यो यस्तो अवसर रह्यो, जसले अहिले नेपाली घरेलु फुटबल कहाँनिर छ, त्यो देखाएको छ, ऐनाका रूपमा । पुरुष फुटबल साँच्चै कहाँ छ, दोहराएर त्यो ‘अक्सन’ हेरे पुग्छ । त्यसै पनि नामैले यो ‘मिनी अक्सन’ थियो, त्यसमा सहभागीको संख्या खालि ६० मात्रै थियो । अब त खेलाडी पाउनै गाह्रो हुने स्थिति बनेको प्रस्ट भएको छ । 

सायद खेलाडी संख्यात्मक रूपमा होलान पनि, तर तिनमा स्तर नै रहेन कि ? यसपल्टको प्रतियोगितामा कुल ७ टिमले सहभागिता जनाउँदै छन् । त्यसमध्ये अधिकांशको एउटा समान लक्ष्य देखियो, गोलरक्षकका लागि विदेशी खेलाडीमै निर्भर हुने । घरेलु नेपाली फुटबलमा उपलब्ध राम्रा मानिएका गोलरक्षक नै बिकेनन् ।

सहभागी ६० खेलाडीमध्ये २१ ‘अन सोल्ड’ रहे, त्यसमध्ये केहीको भाग्य भने ‘विस लिस्ट’ बाट खुलेको थियो । सबैभन्दा पहिले ‘अन सोल्ड’ प्रमुख खेलाडीकै नाममा जाऔं । आर्मीबाट खेल्दै नेपाली घरेलु फुटबलमा लामो समयदेखि योगदान गर्दै आएका भरत खवास, नवयुग श्रेष्ठ र विकेश कुथुमाथि कसैले रुचि देखाएनन् ।

उनीहरू ‘अन सोल्ड’ मात्र भएनन्, ‘विस्ट लिस्ट’ मा पनि परेनन् । यस्तोमा अबको एनएसएलमा यी ३ जना खेलाडी देखिने छैनन् । विशाल सुनार पनि बिकेनन् । ‘अन सोल्ड’ अन्य खेलाडीको सूची बनाउने हो भने त्यो लामै हुनेछ । 

यस्ता ८ खेलाडी पनि रहे, जसलाई भाग्यमानी मान्न सकिन्छ । त्यसमध्ये ८ खेलाडी ‘क्याटेगोरी ए’ का थिए र तिनीहरू अधिक्तम ४ लाख रुपैयाँको बोल लागेको । त्यसको अर्थ के भन्दा, एकभन्दा बढी टिम उनीहरूलाई अनुबन्धित गर्न चाहन्थे । ती खेलाडी रहे, मणिकुमार लामा, दिनेश हेन्जन, पासाङ लामा, आशिष गुरुङ, अभिषेक लिम्बू, जिलेप्सीजंग कार्की, सुमित श्रेष्ठ र सन्तोष खत्री ।

डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसीका कप्तान हुन्, अनन्त तामाङ । उनको अक्सनलाई लिएर प्रतिक्रिया रह्यो, ‘जस्तो टिम बनाउने योजना बनाएका थियौं, त्यो पायौंजस्तै लाग्छ । अक्सनमा धेरै खेलाडी भएको भए, सजिलो हुने थियो । अब सबै विदेशी खेलाडीमा निर्भर हुनेछ ।’

एफसी चितवनका कप्तान अञ्जन विष्टले प्रतिक्रिया अझ अर्थपूर्ण रह्यो । उनको भनाइ थियो, ‘धेरै खेलाडी विदेश पलायन भएपछि अब नचिन्ने अनुहार धेरै भए ।’ त्यसैले उनको अनुरोध रह्यो, एनएसएल र ‘ए’ डिभिजन लिग नियमित हुनै पर्छ ।’ 

एफसी चितवनकै प्रशिक्षक नवीन न्यौपानेले पनि माने, आफू चाहेजस्तो स्तरको खेलाडी यो लिलाामीमा पाउन नसकेको स्विकारे । तर उनी भन्छन्, ‘भाग्यले मैले सन्तुलित टिम भने पाएँ । आफूले पाएका खेलाडीमा म सन्तुष्ट छु ।’ झापा एफसीका प्रशिक्षक प्रवेश कटुवालले पनि आफूले सोचे जस्तो टिम नपाएको माने । उनले भने, ‘सोचेजस्तो भएन ।’

चैतमा हुने प्रतियोगितामा सहभागी हुने सात टिममा च्याम्पियन ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स, धनगढी एफसी, झापा एफसी, एफसी चितवन, पोखरा थन्डर्स र बुटवल–लुम्बिनी रहेका छन् । नेपाली फुटबलमा ‘मिनी अक्सन’ को आयोजना भएको यो नै पहिलो पटक हो । ‘मिनी अक्सन’ मा कुल ६० खेलाडी राखिएको छ । त्यसमध्ये ‘क्याटेगोरी ए’ का १५ र ‘क्याटेगोरी बी’ का ४५ का खेलाडी रहेका थिए । ‘क्याटेगोरी सी’ मा पर्ने खेलाडीको भने पछि ‘ड्राफ्ट’ बाट निर्णय गरिनेछ ।

‘क्याटेगोरी सी’ का खेलाडीको निर्णयपछि टिम कस्तो हुनेछ, त्यो धेरै हदसम्म निश्चित हुनेछ । प्रत्येक टिमले केही खेलाडी ‘रिटेन’ गरिसकेको छ । कुल २१ खेलाडी भने बिक्री भएनन् । अब विदेशी खेलाडी, विदेशमा रहेका नेपाली खेलाडी र ‘ट्यालेन्ट हन्ट’ बाट पनि खेलाडी छनोट हुन बाँकी रहेको छ । ‘मिनी अक्सन’ पछि सबै टिमको सुरुआती संरचना यस प्रकारको हुनेछ । बिक्री नभएका खेलाडी ‘विस लिस्ट’ का माध्यमबाट टिमले रोजेका थिए ।

ललितपुर सिटी एफसी

अनन्त तामाङ, आदित्य शाक्य, सनिश श्रेष्ठ, योगेश गुरुङ, सुदीप गुरुङ, मणिकुमार लामा, नवीन लामा, अभिषेक वाइबा, समित श्रेष्ठ, सन्तोष खत्री ।

काठमाडौं रेजर्स

रोहन कार्की, कुलदीप कार्की, अभिषक बराल, दीपेश गुरुङ, आशिष चापागाईं, दिनेश हेन्जन, जिलेप्सीजंग कार्की, कमल श्रेष्ठ, दिवाकर चौधरी, एन्जल मजर्हन ।

धनगढी एफसी

कृतिशरत्न छुन्जु, रामचन्द्र वाजी, पासाङ लामा, अशोक खवास, प्रशान्त लक्षम, देवेन्द्र तामाङ, रणदीप पौडेल, विवेक पौडेल, जर्जप्रिन्स कार्की, जियारथ शेख ।

झापा एफसी 

लाकेन लिम्बू, छिरिङ लामा, अविनाश स्याङ्तान, दीपेश धिमाल, आशिष गुरुङ, एन्जल श्रेष्ठ, रोशन पहारी, दीपेन्द्र विक, उज्ज्वल राई । 

एफसी चितवन

अञ्जन विष्ट, विशाल श्रेष्ठ, छिरिङ गुरुङ, रोशन राना, मिलन राई, शिशिर लेखी, अभिषेक लिम्बू, जय गुरुङ, सुमित श्रेष्ठ, निरज चौधरी ।

पोखरा थन्डर्स

समीर तामाङ, आयुष घलान, पद्म भट्टराई, नरेन चौधरी, राम थापा, चन्दन दास, विशाल तामाङ, सुरज ठकुरी, कृशल मोक्तान, एकराज बुढाथोकी ।

बुटवल–लुम्बिनी एफसी

मनीष डाँगी, एरिक विष्ट, नीराजन धामी, सरोज तामाङ, फत्तेमान घले, विमल पाण्डे, प्रदीप लामा, टिकेन्द्रसिंह थापा, दीप कार्की, सन्दीप कार्की ।

हिमेश

Link copied successfully