कोहलपुरमा मुख्यमन्त्री गोल्डकप हुने

फाल्गुन ११, २०८१

रुपा गहतराज

Chief Minister Gold Cup will be held in Kohalpur

नेपालगन्ज — बाँकेको कोहलपुरमा मुख्यमन्त्री गोल्डकप हुने भएको छ । कोहलपुर रेसिङ सहारा क्लबको आयोजनामा १७ फागुनदेखि मुख्यमन्त्री कोहलपुर गोल्डकप हुने भएको हो ।

कोहलपुरको १३ बिघामा हुने प्रतिगोगिता २४ फागुनसम्म सञ्चालन हुनेछ । गोल्डकपको यो तेस्रो संस्करण हो ।

आयोजकका अनुसार प्रतियोगिताको कुल लागत ९१ लाख २६ हजार रुपैयाँ आकलन गरिएको छ । प्रतियोगितामा ए डिभिजन क्लकलाई सहभागी गराउने प्रयास भइरहेको क्लबका अध्यक्ष चक्रबहादुर चिमाल क्षेत्रीले  बताए ।

खेल फिफाको नियमअनुसार हुनेछ । विजेता टिमले ८ लाख र उपविजेताले ४ लाख धनराशिको पुरस्कार पाउने क्लबका सचिव नवकिरण शाहले जानकारी दिए । 

म्यानअ फ द टुर्नामेन्टलाई ५१ हजार दिइने छ भने वेस्ट कोच, वेस्ट डिफेन्डर, वेस्ट किपर, वेस्ट हाइस्कोरले १०/१० हजार तथा म्यान अफ द म्याचले ५ हजार रुपैयाँ पाउने पनि शाहले बताए । आयोजकका अनुसार प्रतियोगिताका लागि कोहलपुर नगरपालिकाले २१ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

गोल्डकपमा ८ टिम खेल्ने छन् । भारतको प्रसिद्ध सहारा फुटबल क्लब तथा अफ्रिकन मुलुक घानाले पनि नेपालका टिमको सामना गर्ने छन् । अन्तर्राष्ट्रिय दुई टिमसहित नेपालका प्लानिङ व्याइज युनाइटेड क्लब काठमाडौं, लुम्बिनी फुटबल एकेडेमी घोराही, काँक्रेबिहार फुटबल क्लब सुर्खेत, राइजिङ स्टार फुटबल क्लब नवलपरासी, राइनो फुटबल क्लब गण्डकी प्रदेश र कोहलपुर रेसिङ सहारा क्लबले गोल्डकपमा प्रतिस्पर्धा गर्नेछन् ।

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully