एनएसएल सञ्जीवनी बुटी बन्ला ?

नेपाली पुरुष फुटबलमा छाएको शून्यता आसन्न तेस्रो संस्करणको नेपाल सुपर लिगले चिर्ने अपेक्षा

फाल्गुन १०, २०८१

हिमेश

Will NSL become Sanjeevani Booty?

काठमाडौँ — मसिनो स्वरमै सही, नेपाल सुपर लिग (एनएसएल) फुटबल हुने छाँटकाँट देखिँदै छ । प्रतियोगिता तेस्रो संस्करणमा आइपुग्दा सात टिम भिड्ने छन् । आजभोलि यी टिमहरू खेलाडी ‘रिटेन’ गर्नेदेखि प्रशिक्षक घोषणामा तल्लीन छन् । खेलाडीको ‘अक्सन’ आज शनिबार हुँदै छ । त्यसमा सबै खाले गरेर ६० खेलाडी हुनेछन् ।

प्रतियोगिताको आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्टका अनुसार यसपल्टको अक्सन ‘मिनी अक्सन’ हुनेछ । यस्तो अक्सन हुन लागेको पनि पहिलोपल्ट हो । 

नेपाली पुरुष फुटबलमा छाएको शून्यताबीच के अबको एनएसएल सञ्जीवनी साबित हुन्छ त ? थोरै ‘फ्ल्यास ब्याक’ मा जानुपर्छ । त्यसरी च्याम्पियन हुनुको मज्जा नै बेग्लै । जतिबेला उपाधिसम्मको यात्रा साँच्चै उतारचढावपूर्ण होस् । ललितपुर सिटी एफसीले वर्ष ०८० को नेपाल सुपर लिग जित्दा अन्त्यमा सबैलाई लागेको हुनुपर्छ, यो जत्तिको च्याम्पियन हुनुको हकदार अरू केही थिएन । ललितपुर संघर्ष गर्दै चौथो स्थानमा रहेर प्लेअफमा पुगेको थियो ।

ललितपुरअघि पोखरा थन्डर्स, धनगढी एफसी र काठमाडौं रेजर्स थियो । उपाधि जित्ने क्रममा ललितपुरले सुरुमा काठमाडौंलाई हरायो । त्यसपछि पोखरा अनि अन्त्यमा धनगढीलाई । एकपल्ट यो प्लेअफ चरण के पुगेको थियो, ललितपुरको प्रदर्शन अविश्वसनीय नै रह्यो । फाइनलमा ललितपुरले धनगढीलाई ३–२ गोलले हराएको थियो । एक गोलले पछाडि रहेको स्थितिबाट ललितपुर विजयी बनेको थियो । आफ्नो टिम च्याम्पियन भएपछि ललितपुरका प्रशिक्षक इयान एन्ड्र्यु गिलानी मक्खै रहे ।

उनको प्रतिक्रिया थियो, उपाधि यात्रा कुनै सिनेमाको नाटकीय पटकथाभन्दा कम थिएन । उनले नेपाली फुटबलको पनि प्रशंसा गर्न भुलेनन् । उनको तर्क थियो, नेपाली खेलाडीमा प्रतिभाको कमी छैन । त्यो फाइनल किन पनि सम्झनालयक छ भने त्यो खेल हेर्न दशरथ रंगशाला भरिभराउ थियो । यति धेरै दर्शकको उपस्थिति यसअघि कहिले थियो, सम्झना गाह्रै हुने गर्छ । एनएसएलले नेपाली फुटबललाई धेरै दिएको छ । एक त नेपाली फुटबलमा फ्रेन्चाइज फुटबलको नाममा कर्पोरेट क्षेत्रको प्रवेश ।

विदेशतिर जस्तो सहरको नाममा रहेका क्लब र तिनलाई समर्थन गर्ने स्थानीय अनि त्यसैसँगै जोडिएका कला र संस्कृति पनि । ललितपुरले खेल्दा लाखेको नाच कसरी भुल्न सकिन्छ ? सँगै त्यसलाई सुहाउँदो बाजा । ललितपुरको स्वामित्व छ, भाटभटेनी सुपरमार्केटको नाममा । प्रतियोगिता चल्ने क्रममा यो व्यापारिक घरानाको प्रत्येक तप्का फुटबलसँग जोडिएको थियो । सबैले कुनै न कुनै रूपमा फुटबल टिमको यात्रामा योगदान गरे ।

जतिबेला टिम च्याम्पियन भयो, सबैको मनमा अपार खुसी थियो । यही त हो फुटबलले पनि पार्न सक्ने सकारात्मक प्रभाव । साँच्चै नेपाली फुटबलमा प्रतिभा र सम्भावना जति पनि छ । छैन त अवसरमात्रै हो । यस्तो स्थितिमा कोही कसैका लागि अवसर तयार पार्ने काम भनेकै एनएसएल जस्तो प्रतियोगिताको हो । यसअघि पनि नेपाली फुटबलमा प्रतियोगिता नभएको कहाँ हो र ? तर एनएसएलले नेपाली फुटबलमा ग्ल्यामर भित्र्याएको थियो ।

यो प्रतियोगिताले फ्रेन्चाइज फुटबलको नयाँ र फरक स्वाद पस्केको थियो । यही फ्रेन्चाइज फुटबलले नेपाली फुटबललाई तीन ठूला गुन लगाएको मान्न सकिन्छ । पहिलो, नेपाली खेलाडीले अनुभवी प्रशिक्षकको नेतृत्वमा खेल्न पाए । यो प्रतियोगिता खेल्न आएका विदेशी खेलाडी अब्बल दर्जाका रहे अनि प्रतिभाशाली नेपाली खेलाडीले ठूलो ‘प्लेटफर्म’ पाए । यिनै कारणले एनएसएलले पस्केको फुटबल आहा भन्न लायक नै रह्यो ।

एउटा मिति सधैं सम्झनलायक रहनेछ । त्यो हो, ०७५ पुस १७ । त्यो यही दिन हो जति बेला नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्टले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग नेपाल सुपर लिग (एनएसएल) को आयोजनालाई सम्झौता गरेको थियो । पहिलो संस्करण वर्ष ०७८ मा भएको थियो । त्यति बेलाको एउटा खेल पनि उत्तिकै सम्झनामा रहनेछ । अझै यो खेललाई दोहोर्‍याएर हेर्नुपर्छ, यसले दिने सनसनी र रोमाञ्च फिटिक्कै कम हुने गर्दैन ।

यस खेलमा भिडेका थिए, काठमाडौं रेजर्सविरुद्ध विराटगनर सिटी एफसी । त्यो खेलमा विजेता रह्यो काठमाडौं । स्कोर थियो ५–४ । कुल ९ गोलको यो खेलमा एक एकपल्ट काठमाडौं बलियो देखिन्थ्यो भने फेरि अर्को अवसरमा विराटनगर । मेसुके ओलोमोउले त्यस खेलमा ह्याट्रिक गरे । पछि काठमाडौंले त्यो संस्करणको उपाधि पनि जित्यो । पहिलो क्वालिफायरमा धनगढी एफसीविरुद्धको खेल गुमाएर पनि काठमाडौं च्याम्पियन भएको थियो ।

फाइनलमा काठमाडौंले अरू होइन, धनगढीलाई हराएको थियो । जतिबेला यी दुई संस्करणको एनएसएल भइरहेको थियो । यसबीच नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक थिए कुवेती अब्दुल अल्मुताइरी । यो प्रतियोगिता खुलेर प्रशंसा गर्नेमा एक यिनै प्रशिक्षक थिए । उनी बारम्बार भन्ने गर्थे, नेपाललाई चाहिने भनेकै यस्तै प्रतियोगिता हो । उनी प्रायः खेलाडीले अन्तर्राष्ट्रियस्तरको सुविधा पाउनुपर्छ भन्नेमा जोड दिन्थे । उनको तर्क हुन्थ्यो, सुविधा र अवसरले खेलाडीको प्रदर्शनमा सिधा सकारात्मक प्रभाव पार्छ ।

सन् २०२१ मा माल्दिभ्सले दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिप आयोजना गरेको थियो । त्यसमा नेपालले उपविजेता रह्यो । नेपालले पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल यात्रा तय गरेको थियो । मालेमै नेपाली मिडियासँग कुराकानी गर्ने क्रममा उनले एनएसएलको प्रसंग उठाउन बिर्सेनन् । हुन पनि उनले पहिलो संस्करणको एनएसएलकै आधारमा टिकेर नेपाली टिम तयार पारेका थिए ।

केही युवा खेलाडीलाई मौका दिएका थिए । यसकै उदाहरण हो, मनीष डाँगी, एरिक विष्ट, आयुष घलान जस्ता खेलाडी । यस्तै खेलाडीको सूची बनाउने हो भने अझ लामो हुनेछ । एनएसएलको दोस्रो संस्करण हुँदा विमल घर्तीमगर जस्ता खेलाडी प्रतियोगिता खेल्नकै लागि भनेर फेरि आफ्नो देश फर्के । जतिबेला एनएसएलको तेस्रो संस्करण हुनेछ, के त्यसले घरेलु फुटबलको माथिल्लो स्तरमा रहेको शून्यतालाई साँच्चै चिर्नेछ र फेरि यो फुटबल लयमा फर्काउने छ त ? नेपाली पुरुष फुटबललाई यतिबेला यो प्रतियोगिता निकै आवश्यक परेको छ ।

हिमेश

Link copied successfully