काठमाडौँ — बेस्ट ग्रुप भिजनले नवौं अर्किड कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
आयोजक अर्किड प्युपल सेकेन्डरी स्कुलमा शनिबार फाइनलमा बेस्ट ग्रुपले हिलारीलाई टाइब्रेकरमा ३–१ गोलले पराजित गर्यो । निर्धारित ५० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । हाइली क्रिएटिभले ग्रिनविच एकेडेमीलाई २–१ गोलले हराएर तेस्रो भयो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३५ हजार, २५ हजार र १५ हजार रुपैयाँ पुरस्कार हात पारे । चौथो स्थानको ग्रिनविचले १० हजार पुरस्कार पायो ।
बेस्ट ग्रुपका अभिषेक खड्गी उत्कृष्ट खेलाडी र हाइली क्रिएटिभका सिद्धार्थ सुवेदी उदीयमान खेलाडी घोषित भए । बेस्ट ग्रुपका सुशान्त गुरुङ उत्कृष्ट गोलरक्षक चुनिए । १० गोल गरेका हिलारीका प्रितम यादव सर्वाधिक गोलकर्ता बने ।
विजेतालाई कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की, एनप्याब्सनका पूर्वउपाध्यक्ष कैलाश कार्की, अर्किडका सञ्चालक प्रेमकुमार भुजेललगायतले पुरस्कृत गरे ।
