काठमाडौँ — माउन्टेन मुभर्स शनिबार खुला बास्केटबल प्रतियोगिताको महिलातर्फ फाइनल पुगेको छ । तीन टिम सहभागी राउन्ड रोविन लिगमा माउन्टेन मुभर्स अपराजित भएर फाइनल पुगेको हो ।
नखिपोट युथ क्लब र नेपाल लोकतान्त्रिक खेलकुद संघ ललितपुरद्वारा संयुक्त आयोजित प्रतियोगितामा माउन्टेन मुभर्सले लिगको अन्तिम खेलमा आईएसए नेपाललाई ४७–२८ स्कोरले हरायो । मुभर्सकी छिरिङ शेर्पाले १२ स्कोर जोडिन् ।
मुभर्सले सुरुका तीन क्वाटरमा लिएको अग्रता नै जितको आधार बन्यो । लिगको पहिलो खेलमा मुभर्सले कीर्तिपुरलाई ६८–५२ ले हरायो । लगातार दोस्रो हारसँगै आईएस नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । फाइनलमा माउन्टेन मुभर्सको भेट कीर्तिपुरसँग हुनेछ । कीर्तिपुरले आफ्नो पहिलो लिग खेलमा आईएसए नेपाललाई ५२–४९ ले हराएको थियो ।
नखिपोट कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुषतर्फ प्ले बक्स फाइनल पुगेको छ । प्ले बक्सले शनिबार सेमिफाइनलमा रोयललाई ८२–६२ स्कोरले हरायो । प्लेबक्सका आशिष महर्जनले २४ स्कोर गरे ।
अब प्ले बक्सले उपाधिका लागि आर्मी र टाइम्सबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । फाइनल आइतबार हुनेछ । पुरुषमा विजेताले १ लाख र उपविजेताले ५० हजार तथा महिला विजेताले ५० हजार र उपविजेताले २५ हजार पुरस्कार प्राप्त गर्नेछन् । मोस्ट भेलुएबल प्लेयरलाई समान २० हजार तथा उदीयमान खेलाडीलाई समान १० हजार नगदसहित गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।
