सुनसरी — मछिन्द्र फुटबल क्लब १५ औं अन्तराष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । शनिबार फाइनलमा मछिन्द्रले सगरमाथा युथ क्बल मोरङलाई २–० ले पराजित गर्दै पहिलो सहभागितामै उपाधि जितेको हो ।
मछिन्द्रले सिजनको यो पहिलो उपाधी हो । पाँचथरमा भएको फाल्गुनन्द गोल्डकपमा चर्च ब्वाइजसँग पराजित भएर उपविजेतामै समेटिएको मछिन्द्रले इटहरी गोल्डकप च्याम्पियन बनेसँगै १० लाखसहित च्याम्पियनको ट्रफी जितेको छ । सगरमाथा उपविजेता हुँदै ५ लाख जित्न सफल भयो ।
मछिन्द्रको जितमा विदेशी खेलाडी मलिक युसुफ र ओमुलाजा नुरैन करिमले गोल गरे । खेलको चौथो मिनेटमा युसुफले गोल गर्दै टिमलाई अग्रता दिए । मछिन्द्रका करिमले ८५ औं मिनेटमा दोस्रो गोल गर्दै जित सुनिश्चित गरेका थिए । दर्शकको साथ पाए पनि दुई पटकको विजेता सगरमाथाले अपेक्षाकृत प्रदर्शन गर्न सकेन । म्यान अफ द म्याच सगरमाथाका कप्तान अशोक खवास चुनिए । उनले १० हजार पाए ।सर्वोत्कृष्ट खेलाडी सगरमाथाका कुलदीप कार्की चुनिए । उनले १ लाख र ट्रफी प्राप्त गरे । विधागतमा मछिन्द्रकै वर्चस्व रह्यो ।
मछिन्द्रका विशाल श्रेष्ठ उत्कृष्ट गोलरक्षक, सनिश श्रेष्ठ उत्कृष्ट डिफेन्डर, विशाल घलान उत्कृष्ट मिडफिल्डर घोषित भए । मलिक युसुफ उत्कृष्ट फरवार्ड र सन्तोष न्यौपाने उत्कृष्ट प्रशिक्षक चुनिए । उनीहरूले जनही २० हजार पाए । ४ गोल गरेका मछिन्द्रकै मलिक युसुफ सर्वाधिक गोलकर्ता भए । उनले २५ हजार पुरस्कार पाए ।
उदीयमान खेलाडी आयोजक राष्ट्रिय जागृति क्लबका सविन घिमिरे भए । उनले ३२ इन्चको एलईडी टेलिभिजन प्राप्त गरे । विजेता खेलाडीलाई कोशी प्रदेशका पर्यटनमन्त्री सदानन्द मण्डल र कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईलगायतले पुरस्कार प्रदान गरे ।
