मकवानपुर — डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लब मकवानपुरमा जारी सातौं संस्करणको बाग्मती गोल्डकप फुटबल प्रतियोगिता–२०८१ को उपाधि रक्षातर्फ उन्मुख भएको छ ।
शनिबार बाग्मती–४ स्थित सहिद स्मृति रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा थ्रीस्टार क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै साबिकको विजेता मछिन्द्र फाइनलमा प्रवेश गरेको हो । उपाधिका लागि सोमबार ए डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ ।
मछिन्द्रको जितमा शिशिर लेखीले खेलको ४२ औं मिनेटमा, समिराज थोकरले दोस्रो हाफको छैठौं मिनेटमा र विदेशी खेलाडीले स्टेफेन समिरले दोस्रो हाफको ४३ औं मिनेटमा गोल गरे । थ्रीस्टारका लागि विदेशी खेलाडी एलेक्स विलियम्सले खेलको पहिलो हाफको ३७ औं मिनेटमा सुरुवाती अग्रता दिलाएपनि टिमलाई जीत दिलाउन भने सकेनन् ।
खेलको म्यान अफ द म्याच मछिन्द्रका कप्तान देवेन्द्र तामाङ घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । खेलको म्यान अफ दी म्याच घोषित तामाङले पहिलो पटक यस मैदानमा उत्रिए म्यान अफ दी म्याच पाउँदा खुशी व्यक्त गरे । ‘देशभर प्रतियोगिता सञ्चालन भइरहेको छ । जसका कारण हाम्रो सबै खेलाडी एउटै प्रतियोगितामासँगै खेल्न पाएका छैनन् ।,’ उनले भने । फाइनलमा कुनै पनि खेलाडी परिवर्तन नहुने उनले बताए ।
चौथो संस्करणको विजेता थ्री स्टार प्रतियोगिताबाट बाहिरिएको छ । शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टोली एपीएफलाई ३–२ गोलले हराउँदै चर्च ब्वाइज प्रतियोगिताको फाइनलमा प्रवेश गरेको थियो ।
उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५–२५ हजार रुपैयाँ प्रदान गरिनेछ । बाग्मती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता सञ्चालन भएको हो ।
