संखुवासभा — खेलकुदको विकास सँगसँगै संस्कृतिको संरक्षणका लागि संखुवासभामा तेस्रो खुला आर्चरी प्रतियोगिता शनिबारबाट खाँदबारीमा सुरु भएको छ ।
जिल्ला आर्चरी संघले २१५२ औं ग्याल्पो ल्होसारको अवसरमा आयोजना गरेको प्रतियोगितामा संखुवासभाका ९ टिमको सहभागिता रहेको छ । आयोजकले ३० मिटर स्टान्डर्ड विधामा प्रतिस्पर्धा गराएका छन् । प्रत्येक टिमका ६ सहभागी खेलाडी मध्येले हरेक प्रतिस्पर्धामा २ पटक खेल्ने मौका पाउँछन् । विशेषगरी भोटखोला गाउँपालिकामा बसोबास गर्ने भोटे जातिको परम्परागत खेल आर्चरी भएकाले संस्कृति संरक्षणका लागि प्रतियोगिता आयोजना गरिएको महासचिव मिक्मातेम्बा लामाले बताए ।
आइतबारसम्म चल्ने प्रतियोगिताका विजयीले १ लाख ६ हजार रुपैयाँ पाउने छन् भने उपविजेता ५६ हजार रुपैयाँ पाउने छन् । तेस्रो हुनेले ३६ हजार र सान्तवना हुने टिमले २१ हजार पाउने छन् ।
