सुनसरी — कोशी प्रिमियर लिग क्रिकेट प्रतियोगितामा दुहबी क्यापिटल्सले लगातार तेस्रो हार बेहोरेको छ । सुनसरीको भोक्राहास्थित डाक्टर खालिल आजाद क्रिकेट मैदानमा शुक्रबार भोक्राहा नरसिंह अर्नाजलले दुहबीलाई ६१ रनले हरायो । १ सय ३० रनको लक्ष्य पाएको दुहबी १६.४ बलमा ६९ रनमा समेटियो । दुहबीका विवेक यादवले २५ रन र शाहब आलमले ११ रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । विनोद भण्डारी र लोकेश बम चल्न सकेनन् ।
भोक्राहाका रोहन साहले ४, भुवन कार्कीले ३ र हेमन्त धामीले २ विकेट हात पारे । यसअघि टस हारेको भोक्राहाले १९.३ ओभरमा सबै विकेट गुमाई १ सय ३० रन बनाएको थियो । किरण ठगुन्नाले सर्वाधिक २७ रन बनाए । भुवन कार्की १९ रनमा अविजित रहे । सन्दीप ढुंगानाले १६, कप्तान अंकित सुवेदीले १४ रनको योगदान गरे । दुहबीका शाहब आलमले ३ विकेट लिँदा लोकेश बम, विवेक यादव र कप्तान शितोष शाहले २–२ विकेट लिए ।
दोस्रो खेलमा इटहरी आदर्श जायन्ट्सले पहिलो हार बेहोरेको छ । यसअघि लगातार जित निकालेको इटहरी आदर्शमाथि नमुना ब्लास्टर्सले १ रनको रोमाञ्चक जित पायो । तीन खेल खेलेको नमुनाको यो दोस्रो जित हो । १ सय ५६ रनको लक्ष्य पछ्याएको इटहरी आदर्शले २० ओभरमा सबै विकेट गुमाई १५४ रन बनाउन सक्यो । अन्तिम बलमा २ रनमात्र आवस्यक हुँदा कुशल भुर्तेलले कप्तान भुपाल लुइँटेललाई क्याच आउट गर्दै नमुनालाई जिताए । अन्तिम ओभरमा जितका ५ रन चाहिँदा इटहरी आदर्शको २ विकेट बाँकी थियो । कुशलले गरेको अन्तिम ओभरको पहिलो दुई बलमा ३ रन आएपछि खेलले रोमाञ्चक बन्यो । तेस्रो बलमा भुर्तेलले ३१ रन बनाएर खेलिरहेका दिपेश कँडेललाई क्याचआउट गरेपछि भुपालले लगातार दुई बलमा रन बनाउन नसकेपछि इटहरी आदर्श पराजित बन्न पुग्यो ।
इटहरी आदर्शका दिपेश कँडेल र फिर्दोश अन्सारीले समान ३१ रन बनाउँदा आसिफ शेखले २४, भीम सार्कीले २३ तथा मिनास थापाले २२ रन बनाए । नमुनाका बलर प्रकाश कार्कीले सर्वाधिक ४ विकेट लिए । नन्दन यादव र कुशल भुर्तेलले २–२ विकेट लिए । यसअघि टस जितेको नमुनाले २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनायो । ओपनर कुशल भुर्तेलले सर्वाधिक ५९ रन बनाए । ३८ बल खेलेका उनले ७ चौका र ३ छक्का प्रहार गरे । कुशल मल्लले ४४ रन बनाउँदा इशान पाण्डेले २७ रन जोडे । इटहरी आदर्शका गुलसन झाले ३ विकेट, विपिन खत्री, भुपाल लुइँटेल र फिर्दोश अन्सारीले १–१ विकेट लिए ।
