विराटनगर — झापा ११ एफसीले आफ्नो दमदार प्रदर्शनलाई निरन्तरता दिँदै सौर्य एयर, ओमसाई पाथीभरा हस्पिटल गम्भीर राई स्मृति भद्रपुर झापा गोल्डकपको क्वाटरफाइनलमा स्थान सुरक्षित बनाएको छ । भद्रपुरस्थित मेची रंगशालामा भएको रोमाञ्चक खेलमा झापाले ए डिभिजन लिग उपविजेता मछिन्द्र फुटबल क्लबलाई १–० ले पराजित गर्दै इटहरी गोल्डकपमा बेहोरेको हारको बदला लिएको छ ।
खेलको २९ औं मिनेटमा बबिन बोहराले निर्णायक गोल गर्दै झापालाई जित दिलाए । एरोन थापाको क्रस पासमा बबिनले वान टचमा गोल गरेका थिए । जुन खेलको निर्णायक गोल बन्यो । झापाले चर्च ब्वाइज युनाइटेडसँग क्वाटरफाइनलमा भिड्ने छ ।
निर्धारित ९० मिनेटभर झापा र मछिन्द्र दुवै टोलीले दर्जनभन्दा बढी प्रहार गरे पनि गोल गर्न असफल रहे । २१ औं मिनेटमा बबिनले पाएको सुनौलो अवसर खेर फालेका थिए । ६२ औं मिनेटमा झापाका हरिबहादुर आले मगरको जबरदस्त प्रहार मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले बचाए । एलन थापाले ८० औं मिनेटमा गोल गर्न नसक्दा झापाले अग्रता दोब्बर बनाउन चुक्यो । मछिन्द्रले पनि उत्कृष्ट मौका गुमाउँदा हार स्वीकार्न बाध्य भएको थियो ।
२० औं मिनेटमा सनिश श्रेष्ठको कर्नरमा विदेशी खेलाडी ओमोलाजा करिमको हेडर पोस्टमा लागेर फर्कियो । ८६ औं मिनेटमा आदित्य शाक्यको पाएको अर्को मौका बारमा लागेर फर्किंदा मछिन्द्र निराश बन्यो । झापाका गोलरक्षक सन्दीप लिम्बूले उत्कृष्ट प्रदर्शन गर्दै प्लेयर अफ द म्याचको उपाधि जिते । उनले २१ हजार रुपैयाँ पाए । शुक्रबार पहिलो क्वाटरफाइनलमा आयोजक भद्रपुर ब्लेजर्स र नेपाल पुलिस क्लब भिड्नेछन् ।
