सुनसरी — सगरमाथा युथ क्लब मोरङ र मछिन्द्र फुटबल क्लबबीच १५ औं संस्करणको कन्ट्रोल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । बिहीबार सेमिफाइनलमा सगरमाथा युथले धरान फुटबल क्लबलाई १–० गोलले पराजित गर्दै मछिन्द्रसँगको उपाधि भिडन्त पक्का गरेको हो ।
इटहरी रंगशालामा भएको खेलमा सगरमाथालाई तेस्रो पटक फाइनल पुर्याउन कुलदीप कार्कीले निर्णायक गोल गरेका थिए । उनले खेलको २९ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे ।
२६ औं मिनेटमा धरानका विक्रम धिमालले सगरमाथाका सुशील राईमाथि फाउल खेलेपछि प्राप्त पेनाल्टी अवसरलाई कुलदीपले खेर फालेनन् । गोलपछि रेफ्री कविन व्यञ्जनकारको पेनाल्टी दिने निर्णयप्रति धरानका प्रशिक्षक हेम गुरुङ र खेलाडीले असन्तुष्टि जनाउँदै विवाद गर्दा खेल १० मिनेट अवरुद्ध भएको थियो ।
पहिलो हाफमा अग्रता लिएको सगरमाथाले अन्तिम समयसम्म कायम राखेपछि फाइनल यात्रा सुनिश्चित भएको हो । धरानले पहिलो हाफमा पाएका दुई अवसर सदुपयोग गर्न सकेन । खेलको पाँचौं मिनेटमा तपन कार्की गोल गर्न चुके । उनको फितलो प्रहार सगरमाथाका गोलकिपर पूर्ण चेम्जोङले सहजै नियन्त्रणमा लिए ।
१२ औं मिनेटमा मिलन लिम्बूको प्रहार बारमा लागेर फर्कियो । बाँकी समय धरानले गोललाई कुनै अवसर सिर्जना गर्न सकेन । सगरमाथाले पनि पहिलो हाफमा पाएका दुई अवसर खेर फाल्दा अग्रता बढाउन सकेन । २१ औं मिनेटमा गोलकिपर प्रविन लिम्बूले फुत्काएको बललाई डानियल गोल गर्न चुके । २४ औं मिनेटमा गोलकिपर बिट भइसकेको अवस्थामा रिचार्ड गोल गर्न सकेनन ।
बाँकी समय रक्षात्मक खेलेको सगरमाथामाथि धरानले दबाब बढाउन सकेन । सगरमाथाको उपाधि होड निश्चित बन्यो । म्यान अफ द म्याच कुलदीप नै भए । उनले १० हजार पुरस्कार पाए । सगरमाथा र मछिन्द्रबीचको फाइनल शनिबार हुनेछ । मछिन्द्र यसअघि नै युनाइटेड खर्साङ फुटबल क्लब (यूकेएफसी) भारतलाई ३–१ ले पराजित गर्दै उपाधि नजिक पुगिसकेको छ ।
