काठमाडौँ — ई–स्पोर्ट्स संघ नेपालको आयोजनामा दोस्रो ई–स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिप काठमाडौंमा बिहीबार सुरु भएको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सुरु प्रतियोगिताको भ्यालोरेन्टका खेल भएको छ । शुक्रबार र शनिबार ई–फुटबल, डोटा टू, पब्जी मोबाइल, मोबाइल लिजेन्ड्स र कस प्लेका खेल हुनेछन् ।
ई–स्पोर्ट्स संघ नेपालले २५ लाख रुपैयाँ पुरस्कार राशि राखेर दोस्रो राष्ट्रिय प्रतियोगिताको सञ्चालन गरेको छ । कार्यक्रमलाई नेपाल प्लेजले व्यवस्थापन गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले प्रतियोगिताको उद्घाटन गर्दै करिब १२ हजार खेलाडी अनलाइनबाट दर्ता भएर प्रतियोगिता खेल्नु खेलकुदमा नयाँ अध्याय सुरु भएको बताए ।
संघका अध्यक्ष अञ्जन धमलाले इ स्पोर्ट्स खेलको बढ्दो लोकप्रियतालाई ध्यानमा राखेर निजी क्षेत्रलाई जोडेर राष्ट्रिय प्रतियोगिता गरिएको बताए ।
