भाग्यमानी गोलमा राहत दिने जित

लेवनानविरुद्धको संघर्षपूर्ण जितले नेपाली टिम एक खेलअगावै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलको फाइनलमा 

फाल्गुन ९, २०८१

हिमेश

A relief win on a lucky goal

काठमाडौँ — सावित्रा भण्डारीले अहिलेसम्म नेपालका लागि ५६ गोल गरेकी छन् । त्यसमध्ये लेवनानविरुद्ध सम्भव गोल सबैभन्दा भाग्यमानी रह्यो । त्यही गोलमा सम्भव भएको जित भने राहत दिने खालको रह्यो । फोर नेसन्स कप फुटबलमा बिहीबार दशरथ रंगशालामा दुई खेल भएको थियो । दुवैको नतिजा अपेक्षितजस्तै रह्यो ।

जहाँ म्यानमारले किर्गिस्तानलाई सजिलै ५–० ले हरायो भने नेपालले लेवनानलाई हराउन संघर्ष गर्नुपर्‍यो । तर, यो जित आफैंमा कति महत्त्वको रह्यो भने दुवै टिम फाइनल पुगेका छन् ।

यस्तोमा लेवनान र किर्गिस्तान भने प्रतियोगिताबाट बाहिरिएका छन् । अब लिगको अन्तिम दिन दुवै टिमले प्रतिष्ठाका लागि खेल्नेछ । दुवै टिम लगातार दोस्रो हारपछि अंकविहीन छ । म्यानमार र नेपालले भने शीर्षस्थान ओगट्न खेल्नेछन् । यो फाइनलअगाडि एकले अर्को टिमलाई बुझ्ने अवसर हुनेछ । त्यसैले यो खेल उपाधि भिडन्तको ‘रिहर्सल’ हुनेछ । दुवै टिम समान ६ अंक छ । गोल अन्तरले म्यानमार अगाडि छ, तर नेपालसामु त्यसलाई उल्टाउन अवसर हुनेछ ।

जितपछि नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले साँच्चै राहत महसुस गरिरहेका थिए । उनले तर्क थियो, ‘आजको खेल बराबरीमा टुंगिएको भए वा हारेको भए, फाइनल पुग्ने समीकरण अरू नै हुन्थ्यो । नेपाली फुटबलका लागि जित सधैं महत्त्वपूर्ण र आवश्यक हुन्छ । हामीले त्यसैलाई आत्मसात् गर्न सक्यौं । हामी फाइनल पुगेका छौं, अन्तिम लिग चरणको खेलअगाडि दुई टिमले आराम पाएको छ । अब त्यही खेलको तयारी गर्नेछौं ।’

उनले लेवनानी टिमको प्रशंसा गरे । प्रशिक्षक तामाङले भने, ‘लेवनान दुःखी टिम हो । उनीहरूले आज राम्रो खेले, त्यसैले हामीलाई गाह्रो भयो । वाफ च्याम्पियनसिपमा भन्दा लेवनानले राम्रो खेलेको छ । हामीले पाएका अवसरमा गोल गर्न सकेनौं ।’ किर्गिस्तानलाई हराउँदा उनको आरोप थियो, आफ्ना खेलाडीले प्रशिक्षकको ‘दर्शन’ बुझेनन् । तर लेवनानविरुद्धको जितमा त्यसको आवश्यकता महसुस गरेनन् ।

यो साँच्चै यस्तो जित रह्यो । त्यसले टिममा रहेका कमीकमजोरी लुकाउने र छोप्ने काम गरेको छ । लेवनानविरुद्ध नेपालको आक्रमण मात्र फितलो रहेन, रक्षापंक्तिमा पनि उत्तिकै समस्या देखियो । डिफेन्डर गीता राना र गोलरक्षक एन्जिला सुब्बाबीच पनि समन्वयको कमी नै देखियो । सन् २०२४ मा साउदी अरेबियामा भएको वाफमा नेपालले लेवनानलाई सेमिफाइनलमा हराएको थियो । त्यसैले नेपाल लेवनानमाथि लगातार दोस्रो जित निकाल्न सफल रह्यो ।

सावित्रालाई पनि दबाब

दोस्रो हाफको इन्ज्युरी समयमा लेवनानकी जावा अरबीको प्रहार पोस्टमा लागेर फर्केको थियो । यसले गोलको रूप लिएको भए खेल र प्रतियोगिताकै समीकरण फरक हुन सक्थ्यो । धन्न, त्यस्तो केही भएन । ‘प्लेयर अफ द म्याच’ सावित्राले मानिन्, ‘दबाब त भयो । त्यसमाथि आफ्नै समर्थक अगाडि खेलिरहेका थियौं । एक गोलले पनि ३ अंक भने प्राप्त भयो ।’ खेलको ४२ औ मिनेटमा सावित्राको गोल निस्केको हो ।

उनले पेनाल्टी एरियाबाहिरबाट गरेको प्रहार लेवनानी खेलाडी फराह एल टयरको शरीरमा ‘डिफ्लेक्ट’ हुँदै गोलमा परिणत भयो । खेल आफैंमा रोमाञ्चक रह्यो । लेवनानले नेपालसामु बलियो चुनौती पेस गरेको थियो ।

लेवनानी प्रशिक्षक वेल घरजेडिनले आफ्ना खेलाडीको प्रदर्शनमा खुसी व्यक्त गरे । उनले खेलपछि प्रतिक्रिया दिए, ‘हाम्रा खेलाडीले यति धेरै जति दर्शक अगाडि यसअघि खेलेका थिएनन्, त्यसैले उनीहरूलाई गाह्रो भयो । तर, समग्रमा म टिमको प्रदर्शन राम्रो मान्छु ।’

पोस्टम्याच कन्फ्रेन्समा सबैभन्दा सुन्न लायक भनाइ भने फेरि एकपल्ट सावित्राकै रह्यो । नेपालको आक्रमण निर्णायक मोडमा असफल रहनुमा अगाडि खेल्ने दुई खेलाडी सावित्रा र रेखा पौडेलबीच तालमेल नबस्नु पनि रह्यो । कम्तीमा रेखा आफ्नो प्रतिष्ठाअनुसारको खेल प्रदर्शन गर्न चुकिरहेकी छन् । यसैबारे सावित्राले भनिन्, ‘यसअघि हामीले सँगसँगै तयारी गर्ने गर्थ्यौ । अहिले त्यस्तो अभ्यास भएको छैन । यसमा सुधार गर्नुपर्छ ।’

म्यानमार बलियो

किर्गिस्तानलाई हराउने क्रममा म्यानमारले प्रमाणित गरेको छ । म्यानमार नै यस प्रतियोगिताको सबैभन्दा बलियो टिम हो । युन वाडी र मे लूको २–२ गोल मदतमा म्यानमारले किर्गिस्तानलाई सजिलै हराएको हो । खेल पूर्णतः म्यानमारको नियन्त्रणमा थियो र उसले पहिलो हाफमै ४ गोल गरेको थियो । वाडीले दोस्रो मिनेटमै गोलको खाता खोलिन् र ४१ औं मिनेटमा दोस्रो गोल थपिन् । लूले भने ३६ र ५९ औं मिनेटमा गोल गरिन् । त्यसबीच ३० औं मिनेटमा सान्डर लिनले एक गोल गरिन् ।

हिमेश

Link copied successfully