कीर्तिपुरविरुद्ध माउन्टेन मुभर्स विजयी

फाल्गुन ८, २०८१

कान्तिपुर संवाददाता

Mountain Movers won against Kirtipur

काठमाडौँ — माउन्टेन मुभर्सले खुला बास्केटबल प्रतियोगिताको महिलातर्फ जित हात पारेको छ । तीन टिम सहभागी राउन्ड रोविन लिगमा मुभर्सले कीर्तिपुरलाई ६८–५२ स्कोरले पराजित गर्‍यो । मुभर्सकी डोल्मा तामाङले २६ स्कोर जोडिन् ।

माउन्टेनको पहिलो तथा कीर्तिपुरको दोस्रो खेल हो । कीर्तिपुरले पहिलो खेलमा आईएसए नेपाललाई ५२–४९ स्कोरले हराएको थियो । मुभर्स र आईएसए नेपालबीचको अन्तिम लिग खेलले फाइनल पुग्ने टिमको टुंगो लाग्ने छ ।

उक्त खेल आईएसए नेपालले जिते तीनै टोलीको समान १–१ जित हुनेछ । त्यो अवस्थामा स्कोर अन्तरका आधारमा फाइनल पुग्ने टोलीको निर्क्यौल गरिने आयोजकले जनाएको छ । मुभर्स विजयी भए मुभर्सले फेरि एकपल्ट फाइनलमा कीर्तिपुरविरुद्ध खेल्ने छ ।

पहिलो क्वाटरमा १५–१४ को झीनो अन्तरले अग्रता लिएको मुभर्सले दोस्रोमा २०–११ को अग्रता बनायो । तेस्रोमा मुभर्स १७–१९ ले पछि मुभर्सले चौथोमा १६–८ को प्रदर्शन गर्‍यो ।

नखिपोट युथ क्लब र नेपाल लोकतान्त्रिक खेलकुद संघ ललितपुरद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुषतर्फ सामाखुसी युथ क्लब, शंकरदेव, कीर्तिपुर र रोयलले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

नखिपोट युथ कभर्डहलमा सामाखुसीले अल स्टारलाई ५७–३९ ले हरायो । सामाखुसीका प्रज्ज्वल महर्जनले १७ स्कोर जोडे । शंकरदेवले भंगगाललाई ६६–५२ ले पाखा लगायो । शंकरदेवका असिम थापाले १९ स्कोर बटुले ।

कीर्तिपुरले बलर्सको चुनौती ७५–६० ले पन्छायो । कीर्तिपुरका अनिलले १५ स्कोर गरे । रोयलले विशाल मिलन केन्द्र (बीएमके) माथि ६९–६५ को कठिन जित दर्ता गर्‍यो । रोयलका सुजन महर्जनले २१ अंक जोडे । पहिलो दिन बुधबार आयोजक नखिपोट युथ क्लब र टाइम्सले क्वाटरफाइनलमा स्थान पक्का गरेका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully