विराटनगर — गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक भद्रपुर ब्लेजर्सले रोमाञ्चक जित दर्ता गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा बुधबार भद्रपुरले दार्जिलिङ पुलिस भारतलाई ४–३ गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेको हो ।
तेस्रो मिनेटमै विदेशी खेलाडी साम कार्लोसले १८ यार्डबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएपछि भद्रपुरले अग्रता लिएको थियो । ३९ औं मिनेटमा भद्रपुरका स्ट्राइकर मिलन राईको प्रहार दार्जिलिङका गोलकिपर निगम सिंहबाट रिबाउन्स भएपछि भद्रपुरका कप्तान आशिष चापागाईंले सुन्दर गोलमा परिणत गरे ।
लगत्तै ४२ औं मिनेटमा सत्यम शर्माको एकल प्रहारमा गोल गरेपछि घरेलु टोली एकतर्फी खेलमा अगाडि बढ्यो । दोस्रो हाफमा दार्जिलिङ पुलिसले आक्रामक खेल प्रदर्शन गर्यो । उसले ५० औं, ५५ औं र ७० औं मिनेटमा लगालग गोल थप्दा भद्रपुर मूकदर्शक बन्यो । दार्जिलिङका प्रशान्त राई, नयन प्रधान र रूड गुलितले गोल गर्दै टोलीलाई ३–३ को बराबरीमा पुर्यायो । तर ७२ औं मिनेटमा विशाल दर्जीको क्रस पासमा भद्रपुरका प्रताप राईले गरेको उत्कृष्ट गोल निर्णायक बन्यो ।
भद्रपुरका कप्तान आशिष चापागाईं प्लेयर अफ द म्याच भए । उनले नगद २१ हजारसहित ट्रफी प्राप्त गरे । बिहीबार झापा ११ एफसी र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले नगद १३ लाख पाउनेछ । उपविजेताले ७ लाख पाउनेछ । राष्ट्रिय सभा सदस्य तथा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रतियोगिताको उद्घाटन गरेका थिए ।
