इटहरी गोल्डकप : साबिक विजेता चर्च ब्वाइज पराजित

फाल्गुन ७, २०८१

अर्जुन सुवेदी

Itahari Gold Cup: Defeated former champions Church Boys

काठमाडौँ — डिफेन्डिङ च्याम्पियन चर्च ब्याइज युनाइटेड १५ औं अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको छ । 

इटहरी रंगशालामा मंगलबार अन्तिम क्वाटरफाइनलमा चर्च ब्वाइजले धरान फुटबल क्लबसँग २–१ को पराजय भोगेको थियो । मोफसलका प्रायः सबै गोल्डकपमा सहभागिता जनाउँदै आएको चर्च ब्वाइज अघिल्लो दिन बागमती गोल्डकप खेलेर २४ घण्टा नबित्दै इटहरी आएका अधिकांश खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । एन्फाले एकपछि अर्को प्रतियोगिता जुधाएकै कारण सोमबार बागमती गोल्डकपमा विभागीय टिम त्रिभुवन आर्मीलाई पराजित गरेर इटहरी पुगेका चर्च ब्वाइजका खेलाडी निकै थकित देखिन्थे ।

यसको फाइदा उठाउँदै धरानले दबाब बढायो र खेलको ४५ औ मिनेटमा दोर्जे तामाङले गोल गरेका थिए । विवेक राईले दिएको बल चर्चका दुई डिफेन्डरलाई बिट गर्दै दोर्जेले उत्कृष्ट फिनिसिङ दिए । पहिलो हाफमा १–० ले पछि परेको चर्च ब्वाइजले दोस्रो हाफमा पनि उत्कृष्ट प्रदर्शन गर्न सकेन । एकपछि अर्को दबाब बढाएको धरानले ५७ औं मिनेटमा दोस्रो गोल थप्यो । मिलन लिम्बूले गोलकिपर कृषल मोक्तानलाई बिट गर्दै दिएको पासमा विवेक राईले आकर्षक गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । 

खेलको अन्तिम १० मिनेट चर्चले धरानमाथि दबाब बढाए पनि रक्षापंक्ति बाधक बन्यो । खेलको ८४ औं मिनेटमा चर्च ब्वाईजका अनन्त तामाङले हेडमार्फत गोल गर्दै दबाव केही घटाउने प्रयास गरे । त्योभन्दा अगाडि अनन्तको दुई पटकको आकर्षक हेडमा धरानका गोलकिपर प्रवीण लिम्बू बाधक बने पनि तेस्रो प्रयासमा अनन्त गोल गर्न सफल भए पनि त्यो जितलाई पर्याप्त हुन सकेन । म्यान अफ द म्याच धरानका दोर्जे तामाङ भए । उनले १० हजार रुपैयाँ पाए । 

बुधबार पहिलो सेमिफाइनलमा युनाइटेड खर्साङ फुटबल क्लब (यूकेएफसी) र मछिन्द्र एफसीबीच प्रतिस्पर्धा हुने आयोजक राष्ट्रिय जागृति क्लबले जनाएको छ ।

अर्जुन

Link copied successfully