पुरुष एकलको उपाधिका लागि प्रदिप र रितिक भिड्ने
बुटवल — बुटवलमा जारी तेस्रो मेयर कप तथा बुटवल खुल्ला लन टेनिस प्रतियोगितामा महिला एकलतर्फ काठमाडौंकी १६ वर्षीया सुनीरा थापा च्याम्पियन बनेकी छन् । उनले साविक बिजेता अभिलाषा विष्टलाई पराजित गर्दै प्रतियोगिताको उपाधि जितेकी हुन् ।
बुधबार दिउँसो भएको फाइनलमा दोस्रो वरियता प्राप्त थापाले नम्बर एक खेलाडी तथा डिफेण्डिङ च्याम्पियन विष्टलाई पराजित गरेर उपाधि हासिल गरेकी हुन् । थापा ब्याक टु ब्याक च्याम्पियन बनेकी हुन् ।
गत डिसेम्बरमा पोखरामा सञ्चालन भएको माछापुच्छ्रे ओपनमा पनि महिला एकल स्पर्धामा थापा च्याम्पियन बनेकी थिइन् । पहिलोपटक बुटवल ओपनमा सफलता प्राप्त गरेपछि थापाले खुसी व्यक्त गर्दै भनिन्, ‘भविष्यमा मैले मुलुकका लागि धेरै खेल्नु पर्ने छ । यो जीत मेरा लागि हौंसला हो ।’
पहिलो सेटको सुरुवातमा उत्कृष्ट प्रदर्शन गर्दै विष्टले अग्रता लिएपनि थापाले पुनरागमन गर्दै ६–३ ले जित निकालेकी थिइन् । दोस्रो सेटमा कडा टक्कर भइरहेका बेला विष्ट रिटायर्ड हुने निर्णय लिएसंगै थापा च्याम्पियन बनिन् ।
यस जितले आफ्नो वरियतामा समेत सुधार हुने थापाले बताइन् । महिला एकलतर्फ भगवती बिक र आयसा डोल्कर गुरुङले तेस्रो स्थान प्राप्त गरे । प्रतियोगिताको आकर्षण बनेको पुरुष एकतर्फको उपाधिका लागि पहिलो वरीयताका प्रदिप खड्काले बुटवलका रितिक रानासंग शुक्रबार फाइनल खेल्ने पक्का भएको छ ।
गत वर्षपनि खडका र रानाबीच उपाधि भीडन्त भएको थियो । त्यसमा पोखराका खड्काले बाजी मारेका थिए । फाइनल प्रवेशका लागि भएको पहिलो सेमिफाइनलमा प्रदिपले निहाल जेबी थापालाई ६–४, ६–० सेटमा पराजित गरेका थिए । दोस्रो सेमिफाइनलमा रितिक रानाले निशान्त श्रेष्ठलाई ६–३, ६–४ को सेटमा पराजित गर्दै उपाधि भीडन्त पक्का गरेका हुन् ।
प्रतियोगिता अन्तर्गत ३५ प्लसतर्फ पुरुष एकलमा जीतेन्द्र परियार, राजन पौडेल, सन्तोष खत्री र दीप जेबी राना सेमिफाइनलमा प्रवेश गरेका छन् । जितेन्द्रले चोम बहादुर शाहलाई ६–०, ६–० को सेटमा, राजन पौडेलले भिम बहादुर मगरलाई ७–६, ७–६ को सेटमा, सन्तोष खत्रीले सोम रानालाई ६–१, ६–२ को सेटमा तथा दीप जेबी राना वाकओभर पाउँदै अन्तिम चारमा प्रवेश गरेका हुन् ।
यसैगरि ४५ प्लस सिगलतर्फ देव क्षेत्रीले रोहित सुनुवारलाई ६–२, ६–१ को सेटमा पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेका छन् । यसैगरि ५५ प्लस सिगलमा चन्द्र शाहीले उत्तम कुमार गुरुङलाई ६–१, ६–२ तथा उत्तम बोगटीले राजकुमार गुरुङलाई ६–३, ६–४ को सेटमा पराजित गर्दै अर्को चरणमा प्रवेश गरेका छन् ।
यसैगरि ६५ प्लस सिगलमा मनोज रानाले भिक्टर रानालाई ६–२, ५–१ मा रिटार्यड भएसंगै राना विजेता बनेको टुर्नामेन्ट सुपरभाईजर बिकास खड्काले बताए । ३५ प्लस डबल्समा जितेन्द्र परियार र समिर एसको जोडीले राजन परियार र चोम बहादुर एसको जोडीलाई ६–१, ६–० को सेटमा पराजित गर्दै अर्को चरणमा प्रवेश गरेका छन् ।
बुटवल उपमहानगरपालिकाको सहयोगमा रुपन्देही टेनिस संघको आयोजनामा फागुन ९ गतेसम्म हुने प्रतियोगितामा एक सय बढी खेलाडी सहभागी रहेको टुर्नामेन्ट डाईरेक्टर राजन पौडेलले बताए ।
