बायर्न सेल्टिकलाई पन्छाएर अन्तिम १६ मा

फाल्गुन ७, २०८१

कान्तिपुर संवाददाता

Bayern eliminated Celtic in the last 16

काठमाडौँ — बायर्न म्युनिकले अन्तिम क्षणको गोलमा सेल्टिकलाई हराउँदै मंगलबार युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । फायनउडसँग पराजित भएपछि सात पल्टको च्याम्पियन एसी मिलान भने प्रतियोगिताबाट बाहिरिएको छ ।

अन्तिम १६ मा पुग्न सफल अन्य टिममा क्लब ब्रुग र बेनफिका पनि रहे । एलिनाज एरिनामा भएको खेलमा अल्फोन्सो डाभिसले दोस्रो हाफको इन्ज्युरी समयमा गोल गरे र दोस्रो लेगको खेल १–१ को बराबरीमा टुंगियो ।

यससँगै बायर्न समग्रमा ३–२ ले अगाडि रहन सफल रह्यो । यसअघि सेल्टिकले निकोलस केहनको गोलले अगाडि रहेको थियो । ‘हामी नै यो जितका लागि हकदार हौं, किनभने हामी नै बलियो टिम रह्यौं,’ बायर्न प्रशिक्षक भिन्सेन्ट कोम्पनीले भनेका छन् ।

सानसिरोमा भएको खेलमा डच क्लबसँग १–१ को बराबरीमा रोकिएपछि मिलानको चुनौती समाप्त भएको हो । फायनड उड समग्रमा २–१ ले अगाडि रह्यो । लिस्बनमा बेनफिकाले मोनाकासँग ३–३ को बराबरी खेल्यो र समग्रमा ४–३ को अग्रता लिन सफल रह्यो ।

क्लब ब्रुगले भने एटलान्टालाई उसकै घरमा ३–१ ले हरायो र ५–२ को सजिलो अग्रता लियो । त्यसमा किशोर खेलाडी चेमसडिन ताइबीले दुई गोल गरे । 

कान्तिपुर

Link copied successfully