स्वर्णिम तथ्यांक पछ्याउँदै एन्जिला

नेपाली महिला फुटबलले अन्तर्राष्ट्रिय सहभागिता जनाउन थालेको ४० वर्ष छुन लाग्दा ११ खेलाडीले नेतृत्व गर्ने अवसर पाएका छन्

फाल्गुन ७, २०८१

हिमेश

Angela following the golden figure

काठमाडौँ — नेपाली महिला फुटबल अहिले त्यो मोडमा पुगेको छ, जहाँ तथ्यांकसँग खेलेर धेरैथोक भन्न सकिन्छ । सबैभन्दा पहिले कप्तान एन्जिला तुम्बापो सुब्बाकै कुरा । दुई वर्षजति अगाडि काठमाडौंमै ओलम्पिक छनोट खेल भएको थियो, भियतनामविरुद्ध ।

त्यसमा नेपाल दुवै खेल हारेको थियो र टिममै एन्जिलाको स्थिति लिएर प्रश्न गरिएको थियो । यसबारे पत्रकारको उत्तर दिँदा एन्जिला खुबै भावनात्मक भएकी थिइन्, आफूलाई रुनबाट रोक्नै सकिनन् ।तिनै एन्जिलाको नेतृत्वमा नेपालले फोर नेसन्स कपको आफ्नो पहिलो खेल किर्गिस्तानविरुद्ध खेलेको थियो । 

व्यक्तिगत उपलब्धिको रूपमा यो उनका लागि विशेष रह्यो । नेपाली महिला फुटबलले अन्तर्राष्ट्रिय सहभागिता जनाउन थालेको ४० वर्ष छुन लाग्दा अहिलेसम्म ११ खेलाडीले टिमको नेतृत्व गर्ने अवसर पाएका छन् । देशका लागि खेल्नु नै ठूलो मानिन्छ । अझ कप्तानीको उपलब्धिकति ठूलो हुन्छ, सजिलै अनुमान गर्न सकिन्छ । 

यही पृष्ठभूमिमा एन्जिला सबैभन्दा बढी खेलमा कप्तान हुने नेपाली खेलाडी बनेकी छन् । किर्गिस्तानविरुद्धको खेल उनको नेतृत्वमा खेलेको २० औं खेल हो । उनले यसक्रममा निरु थापालाई उछिनेकी हुन् । निरुले १९ खेलमा नेपालको कप्तानी गरिन् । अब एन्जिलाले नेतृत्व गरेको खेलसंख्या २० पुगेको छ । यसैक्रममा उनले एउटा अर्को तथ्यांकमा पनि निरुलाई उछिनकी छन् । निरुको कप्तानीमा खेलिएका १९ खेलमा ९ जित हात परेको थियो । 

किर्गिस्तानविरुद्धको जित भने एन्जिलाको नेतृत्वमा प्राप्त नेपालको दसौं जित भयो । कप्तानका रूपमा सबैभन्दा बढी खेल जित्ने होडमा भने उनी दोस्रो स्थानमा छन् । उनले भन्दा बढी जमुना गुरुङले १३ जित आत्मसात् गरेकी छन्, कप्तानका रूपमा । अझै एन्जिलाले कप्तानका रूपमा नेपालका लागि खेल्ने क्रम रोकिने छैन । यस्तोमा उनको नाममा धेरै कीर्तिमान जोडिनेछ । सायद आफूविरुद्धको आलोचनाले एन्जिलालाई अझ बलियो बनाएको हुनुपर्छ । 

उनी पनि युरोपमा खेल्ने भइसकिन् । उनकै भाषामा आत्मविश्वास अझ बढ्दो छ । अझै पनि एन्जिलाका खेलमा केही कमजोरी छन् । तिनमा सुधार हुनैपर्छ । कमजोरी नै नहुने खेलाडी को होला र ? प्रश्न के मात्रै भने उनीमाथि गरिएका आलोचना आफैंमा कति ठीक थिए भन्ने मात्रै हो । किर्गिस्तानविरुद्धको खेल सावित्रा भण्डारीका लागि पनि विशेष रह्यो । उनका लागि फोर नेसन्स कपको त्यो खेल ५० औं ‘क्याप’ रह्यो । 

महिला खेलाडीका रूपमा नेपाली राष्ट्रिय टिमका लागि यो आँकडा छुने धेरै कम खेलाडीमात्र छन् । त्यसमा उनी पनि जोडिएकी छन् । सावित्रा युरोपमा खेल्छिन् र उनका सामु पनि अझै सम्भावना जीवन्त छ । चोट र बिरामीले दुःख नदिएको भए सावित्राको नाममा अझ बढी खेल हुन्थ्यो । बढी खेलकै कुरा गर्दा नेपाली महिला फुटबलमा नेपालका लागि सबैभन्दा बढी खेल खेल्ने खेलाडी को हो त ? यसको उत्तर यही किर्गिस्तानविरुद्धको खेलमा रहेको थियो । 

त्यो खेलमा एन्जिलाले सुरुदेखि खेलिन् । अनि सब्टिच्युट खेलाडीका रूपमा दोस्रो हाफमा अनिता बस्नेत र अमृता जैसी छिरिन् । संयोग कस्तो भने यी तीनै खेलाडीले नेपालका लागि यसै खेलमा आ–आफ्नो ५५ औं खेल जिते र उनीहरू नै नेपालका लागि संयुक्त रूपमा सर्वाधिक खेल खेल्ने खेलाडी हुन् । नेपालका लागि एउटा अर्को खेलाडीले पनि यत्तिकै खेल खेलेकी छिन् । उनी हुन् हीराकुमारी भुजेल । उनले साफ च्याम्पियनसिपमै भुटानविरुद्ध ५५ औं खेल खेलेकी थिइन् । 

त्यति बेलासम्म उनी नै नेपालका लागि सबैभन्दा बढी खेल खेल्ने खेलाडी थिइन् । दुर्भाग्यले उनी त्यही खेलमा घाइते भइन् । अहिले निको हुने क्रममा छिन् । यसरी नेपालका लागि चार खेलाडीले ५५ पल्ट खेलेको छ । जतिबेला नेपालले लेवनानविरुद्ध खेल्नेछ, त्यतिबेला नेपालका लागि सबैभन्दा बढी खेल्ने खेलाडी को भन्ने कीर्तिमानले नयाँ मोड पाउने छ । कुरा यही त हो, जति बढी खेल हुन्छ, तथ्यांक उत्तिकै बन्दै जान्छन् अनि ती तथ्यांकले खेल अझ रोमाञ्चक बनाउँछन् ।

हिमेश

Link copied successfully