नुवाकोट — नुवाकोट जिल्ला बुद्धिचाल संघको आयोजनामा प्रथम मेयर कप चेस प्रतियोगिता मंगलबार सुरु भएको छ । तीन दिन चल्ने क्लासिकल विधाको चेस स्पर्धामा पहिलो दिन सबै शीर्ष खेलाडीले जित पाएका छन् ।
विदुर नगरपालिकाको प्रायोजनमा भएको प्रतिस्पर्धामा सिएम सुश्रुत दहालले स्थानीय विनोद तिमिल्सिनामाथि कठिन जित पाए । आशिष फुँयाल, तीन पटकका नेपाल च्याम्पियन बद्रीलाल नेपाली, पूर्व नेपाल च्याम्पियन सीएम नवीन तण्डुकार, धिरेन राई, हर्कबहादुर चोङवाङ, सक्सेस श्रेष्ठ, सानुराज वज्राचार्यले सहज जित पाए ।
आयोजक नुवाकोट जिल्ला संघका अध्यक्ष प्रकाश जोशी, जेनिश घिमिरे, सीएम पुरुषोत्तम चौलागाईं, सुशील चौधरी, प्रेमकृष्ण महर्जन, राजन पुरी, मुहान नरसिंह श्रेष्ठ, एक्स मार्सल, मिसन दहाल, सुरेन्द्र लामा, सुशील सुवेदीले सफलता पाए ।
भारतका आशुतोष कुमार, अर्मान सिद्दिक्यू, इकबाल मज, मोहितकुमार सोनी, प्रखर त्रिपाठी, विनायकसिं यादव, आभाषकुमार श्रीवास्तवले खेल आफ्नो पक्षमा पारे । महिलातर्फ नेसनल बी च्याम्पियन विनिता कपाली, भारतका प्रकाश वैष्णवी, शान्ति धिमालले जित पाएका छन् । प्रतियोगितामा ७४ खेलाडीले भाग लिएका छन् । २ लाख १७ हजार पुरस्कार रहेको छ ।
विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले बुद्धिचाल खेललाई विद्यालयस्तरमा पुर्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
