काठमाडौँ — फोर नेसन्स कप फुटबलको पहिलो दिनको खेलमा आउने नतिजा एक प्रकारले अपेक्षित थियो । अनपेक्षित भने स्कोर रह्यो, त्यो पनि विशेषतः नेपालको । दशरथ रंगशालामा सोमबार नेपालको प्रदर्शन धेरै हदसम्म अल्मलिएको देखियो ।
नेपालले पूरा खेल अवधिमा कुनै पनि मोडमा किर्गिस्तानी आक्रमणको डर मान्नुपरेन । तर, नेपालको आफ्नै आक्रमण गतिलो रहन सकेन । नेपालले लगातार बल त अगाडि बढाइरह्यो, तर त्यो गन्तव्यहीन रह्यो ।
त्यसैले नेपालले किर्गिस्तानमाथि रचेको जितको एकमात्र उपलब्धि भनेको ३ अंक नै रह्यो । आफ्नो टिमको प्रदर्शनमा मुख्य प्रशिक्षक राजेन्द्र तामाङ खुसी रहेनन् । उनले आफू दुःखी रहेको पनि भनेनन् । उनले प्रयोग गरेका शब्द ठ्याक्कै यही रह्यो, अल्मलिएको प्रदर्शन । ‘हाम्रो प्रदर्शन अल्मलिएजस्तो लाग्यो, रेखा पौडेल र सावित्रा भण्डारीले टिमसँग तालमेलमा पर्याप्त समय पाएका थिएनन् । त्यसैले समस्या भएको हुनसक्छ,’ तामाङले भने ।
उनले के माने भने सायद आफ्ना खेलाडीले प्रशिक्षकको फुटबल दर्शन बुझेनन् । त्यसैले भने, ‘खेलाडीले प्रशिक्षकको दर्शन बुझेनन् । सायद प्रशिक्षक भएर मैले बुझाउन सकिनँ कि ? तर मलाई लाग्छ, खेलाडीले यत्तिको भने बुझ्नुपर्छ ।’ उनको भनाइमा पूर्ण सहमत जनाउने काम गरिन् प्रीति राईले । ‘प्लेयर अफ द म्याच’ प्रीतिको भनाइ थियो, खेलाडीले प्रशिक्षकले भनेजस्तो खेल्न सकेनन् । ‘अगाडि हाम्रो तालमेल मिलेन,’ उनको भनाइ थियो ।
किर्गिस्तान त्यही टिम थियो, जसले सन् २०१९ को नादेज्दा कपमा नेपालसँग ८–२ को हार बेहोरेको थियो । तर, अहिले त्यही टिमलाई हराउन नेपालले संघर्ष गर्नुपर्यो । किर्गिस्तानका मुख्य प्रशिक्षक नेमतझान जाकिरोभले कूटनीतिक भाषा प्रयोग गर्दै सुरुमा नेपाली टिमको प्रशंसा गरे । उनको भनाइ थियो, ‘नेपाली खेलाडी राम्रा छन् । यो निकै बलियो टिम हो ।’ तर उनले पुरानो हार सम्झेर दाबी गरे, किर्गिस्तानी फुटबलमा त्यसयता धेरै सुधार आएको छ ।
नेपालको जितमा निर्णायक गोल रह्यो, विमला चौधरीको नाममा । उनले ११ औं मिनेटमा हेडबाट गोल गरिन् । त्यसमा सविता रानामगरले क्रस उपलब्ध गराइन् । नेपालका लागि विमलाको यो दोस्रो व्यक्तिगत गोल हो । उनले यसअघि सन् २०२१ मा फिलिपिन्सविरुद्ध गोल गरेकी थिइन् । नेपालले दोस्रो हाफमा सावित्रालाई मैदानमा प्रवेश गराए पनि उनी गोल गर्नबाट चुकिन् ।
अब नेपालले दोस्रो खेलमा लेवनानको सामना गर्नेछ । अर्को खेलमा म्यानमार र किर्गिस्तान भिड्नेछन् । चार टिमसम्मिलित प्रतियोगितामा म्यानमार र नेपाल ३–३ अंकमा शीर्ष दुई स्थानमा रहे । किर्गिस्तान र म्यानमार अंकविहीन रहे ।पहिलो खेलमा म्यानमारले पनि लेवनानमाथि लगातार आक्रमण बुन्न सफल रहे पनि त्यसअनुसार गोल निकाल्न सफल भएन । चारै गोल दोस्रो हाफमा भयो । पहिलो गोल विन थेन्गीथुनले ५६ औं मिनेटमा गरिन् । यो उत्कृष्ट रह्यो । उनले पेनाल्टी एरियाको ठीक बाहिरबाट गरेको प्रहार गोलमा परिणत भयो ।
लेवनानले ६० औं मिनेटमा बराबरी गोल फर्काएको हो । टोलीका लागि लैजा स्कन्डरले गोल गरिन् । लैलाले म्यारमारकी गोलरक्षक म्यो म्याम्यालाई बिट गर्दै बललाई खाली पोस्टमा प्रहार गरिन् । त्यसपछि म्यानमारले दुई गोल थपेको हो । यसमध्ये स्वेय यी टुनले हेडबाट ७२ औं मिनेटमा गोल गरिन् । म्याट नोए खिनाले ७५ औं मिनेटमा रिबाउन्डमा तेस्रो गोल थपिन् ।
