काठमाडौँ — नेपाली राष्ट्रिय पुरुष कबड्डी टोली मंगलबार बंगलादेशको ढाका प्रस्थान गरेको छ । फेब्रुअरी १८ देखि २८ सम्म हुने बंगलादेशविरुद्ध ५ खेलको शृंखला खेल्ने १४ खेलाडीसहित १८ सदस्यीय नेपाली टोली बंगलादेश गएको हो ।
खेलाडीमा प्रमोदकुमार श्रेष्ठ, घनश्याम रोका मगर, सुशील चुनारा, अमितकुमार राजभार, मेघराज गिरी, नवीन लुहार, रविन कुँवर, सतिशकुमार कुर्मी, सुरज बोहरा, सोहेल इस्लाम, सविन बोहाजु, रामु टमाटा, गणेश पार्की र भुवन बोहरा छन् ।
प्रशिक्षकमा लोकबहादुर विष्ट, व्यवस्थापकमा खेमराज चम्लागाईं तथा अफिसियलमा नीराजन श्रेष्ठ र नवराज श्रेष्ठ छन् ।
राखेपका सदस्यसचिव टंकलाल घिसिङले मिसन–२०२६ को तयारीका लागि आफूभन्दा बलिया टोलीहरूसँग धेरैभन्दा धेरै अभ्यास खेल्न राख्न संघलाई सुझाएका छन् । सदस्यसचिव घिसिङले जसरी पनि मिसन–२०२६ को एसियन गेम्समा पदक ल्याउन यो खेल महत्वपूर्ण पाइला हुनसक्ने धारणा व्यक्त गरे । नेपालको पुरुष कबड्डी टोलीले ल्याएको अन्तर्राष्ट्रिय सफलताका आधारमा मिसन २०२६ मा समावेश गरिएको बताए ।
