डीएभीलाई अन्तर स्कुल क्रिकेटको उपाधि

फाल्गुन ५, २०८१

कान्तिपुर संवाददाता

Inter School Cricket title to DAV

काठमाडौँ — डीएभी सुशील केडिया विश्व भारतीय स्कुलले १६ औं सीओएएस अन्तर स्कुल रनिङ टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । सोमबार भक्तपुर स्थित सैनिक आवासीय महाविद्यालयमा सम्पन्न फाइनलमा डीएभीले नेपाल पुलिस स्कुललाई ६० रनले पराजित गर्‍यो । 

टस जितेर पहिला ब्याटिङ गरेको डीएभीले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ५१ रन बनाएको थियो । फरहान अन्सारीले ३३, कमल शाहीले ३२ र विकेशकुमार जैसवालले २२ रन बनाए । 

जबाफमा पुलिस स्कुल १७. ५ ओभरमा ९१ रनमा अलआउट भयो । सुनिल ठाकुरले सर्वाधिक २० रन बनाए । डीएभीबाट प्लेयर अफ द म्याच शशांक झाले २० रन खर्चेर सर्वाधिक ४ तथा प्रसिद्ध जैसीले २ र तनिशकुमार शाहले १ विकेट लिए । 

डीएभीले सेमीफाइनलमा अक्षरा स्कुललाई तथा पुलिस स्कुलले केएमसीलाई पराजित गरेको थियो । उपाधि सहित डीएभीले एक लाख र उपविजेता पुलिस स्कुलले ५० हजार रुपैयाँ हात पार्यो । प्रतियोगिताकै उत्कृस्ट खेलाडी डीएभीका प्रसिद्ध जैसी घोषित भए । सैनिक आवासीय महाविद्यालयले आयोजनामा दश दिनसम्म चलेको प्रतियोगितामा उपत्यकाका कुल १२ वटा टिम सहभागी  थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully