यसअघि सन् २०१९ मा नेपालले किर्गिस्तानलाई ८–२ ले पराजित गरेको थियो
काठमाडौँ — विमला चौधरीले पहिलो हाफमा गरेको एक मात्र गोलमा नेपालले फोर नेसन्स कपमा किर्गिस्तानलाई १–० ले हराएको छ । दशरथ रंगशालामा भएको खेल पूर्णतः नेपालको नियन्त्रणमा रहे पनि गोलका लागि संघर्षरत रहेको थियो ।
विमलाले ११ औं मिनेटमा हेडबाट गोल गरेकी थिइन् । त्यसमा सविता रानामगरले क्रस उपलब्ध गराएकी थिइन् । नेपालका लागि विमलाको यो दोस्रो व्यक्तिगत गोल हो । उनले यसअघि सन् २०२१ मा फिलिपिन्सविरुद्ध गोल गरेकी थिइन् ।
नेपालले दोस्रो हाफमा सावित्रा भण्डारीलाई मैदानमा प्रवेश गराए पनि उनी पनि गोल गर्नबाट चुकिन् । किर्गिस्तानका लगभग सबै खेलाडी रक्षापंक्तिमै रहे र उनीहरूले नेपालविरुद्ध एउटै पनि आक्रमण बुन्न सकेनन् ।
यसअघि नेपालले किर्गिस्तानविरुद्धको एक मात्र खेलमा ८–२ ले पराजित गरेको थियो । सन् २०१९ मा नेपालले यो जित हासिल गरेको थियो । अब नेपालले प्रतियोगिताको आफ्नो दोस्रो खेलमा लेबनानको सामना गर्नेछ ।
यस्तै अर्को खेलमा म्यानमार र किर्गिस्तान भिड्ने छन् । पहिलो दिनको खेलपछि चार टिम सम्मिलित प्रतियोगितामा म्यानमार र नेपाल समान तीन अंकमा शीर्ष दुई स्थानमा रहे । दिनको पहिलो खेलमा म्यानमारले लेबनानलाई ३–१ ले पराजित गरेको थियो । किर्गिस्तान र म्यानमार दुवै अंकविहीन स्थितिमा रहे ।
