‘फोर नेसन्स कप’ मा सबैको परीक्षा

सबैको नजर महिला एसिया कप छनोटप्रति छ, जुन विश्वकपको समेत छनोट हो

फाल्गुन ५, २०८१

हिमेश

Everyone's test in the 'Four Nations Cup'

काठमाडौँ — सबैभन्दा पहिले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई धन्यवाद । दक्षिण एसियाली घेरा तोडेर नेपाली महिला फुटबलमा यति ठूलो प्रतियोगिता भएकै छैन । यसैले ‘फोर नेसन्स कप’ नेपाली महिला फुटबलका लागि महोत्सवभन्दा कम हुने छैन । छनोटदेखि प्लेअफसम्मको महिला लिगपछि अब चार देशबीचको प्रतियोगिताको पालो ।

नेपाली फुटबलमा केही भइरहेको छैन भन्ने आरोप प्रत्यारोपबीच पक्कै केही राम्रो हुन लागेको छ । यसमा दुविधा नगरे हुन्छ । त्यसैले त नेपालसँगै चारै देशका कप्तान हुन् वा प्रशिक्षक सबैले एकै मुखमा भनेका छन्, ‘एन्फालाई धेरै धन्यबाद ।’ नेपाली कप्तान एन्जिला सुब्बाले पनि छुटाइनन् एन्फालाई धन्यबाद दिन । 

एसियाली महिला फुटबलमा अहिले सबैको नजर जुन–जुलाईमा हुने एसिया कप छनोट छ । यो त विश्वकपको छनोट पनि हो । अहिले महिला फुटबलमा अलिकति राम्रो मात्र गर्नुपर्छ, मीठो नतिजा आफ्नैसामु हुनसक्छ । त्यसैले यही बेला यही ‘फोर नेसन्स कप’ ठीक समयमा ठीक प्रतियोगिता भएको छ ।

नेपालले अहिलेसम्म महिलाको अन्तर्राष्ट्रिय फुटबलमा म्यानमारलाई हराउन सकेको छैन । त्यसै पनि म्यानमार एसियाली महिला फुटबलको एउटा बलियो टिम नै हो । यो म्यानमार टिम यसअघि जस्तै छ कि फेरिएको छ ? नेपाल र म्यानमारबीच अहिलेसम्म ४ खेल भएको छ । त्यसमध्ये सुरुकै एक खेल बराबरीमा टुंगियो । त्यसपछि त म्यानमार लगातार विजयी छ । नेपालले लेवनानको एकैपल्ट मात्र सामना गरेको छ । यसमा गाह्रै जित हात पारेको थियो ।

नेपालको दृष्टिकोणले भन्दा कतै लेवनानी फुटबलले आफूलाई सुधारेको त छैन ? अनि किर्गिस्तानको कुरा । फोर नेसन्स कपको आफ्नो पहिलो खेलमै नेपालले किर्गिस्तानको सामना गर्नेछ । नेपालले किर्गिस्तानविरुद्ध खेलेको पनि एकैपल्ट मात्र हो । त्यसमा त ८–२ को ठूलै जित निस्केको थियो । त्यो नतिजा जस्तै भए पनि नेपालले यो प्रतिद्वन्द्वीसामु हेलचेक्र्याँइ गरेर खेल्न मिल्ने छैन । त्यसैले यो प्रतियोगिता चारै देशका लागि साँच्चैको परीक्षा हुनेछ ।

तयारीमा खुसी प्रशिक्षक

नेपाली टोलीका प्रशिक्षक राजेन्द्र तामाङ सायद यस प्रतियोगिताको तयारीमा खुसी छन् । उनले यस्तै भनिरहेका छन् । नत्र उनी आफ्नै खेलाडीको पनि आलोचना गर्न पछाडि पर्ने प्रशिक्षक भने होइनन् । प्रतियोगिताका पूर्वसन्ध्यामा आयोजित प्रि–म्याच कन्फ्रेन्समा उनले भने, ‘सबै तयारी सकिएको छ । एन्जिला सुब्बा र रेखा पौडेल काठमाडौं आइपुगिसके । सावित्रा भण्डारी खेल हुने दिन बिहान आइपुग्ने छिन् । सायद उनले पहिलो खेल गुमाउने छन् ।’

‘पहिला र अहिलेको तयारीमा खासै फरक छैन । तर लिगका कारण खेलाडी राम्रो स्थितिमा छन् । मैले खेलाडीको फिटनेसमा भन्दा रणनीतिमा जोड दिए पुग्ने भएको छ । काम सजिलो भएको छ । लिग संरचना राम्रो हुने हो र नियमित हुने हो भने त्यसबाट राम्रो नतिजा आउने छ । मोफसलतिर अन्य प्रतियोगिता पनि हुने कुरा छ । त्यो राम्रो हो । टिम आफैंमा अहिले राम्रो छ, पहिलेको तुलनामा । मध्यपंक्तिमा बढी काम गरिरहेका छौं,’ उनी थप्छन् ।

किर्गिस्तानलाई केन्द्रित भएर उनको भनाइ छ, ‘किर्गिस्तानसँग नेपालले खेलेको भनेको ६ वर्ष अगाडि हो । त्यसमा ठूलै जित निस्केको थियो । त्यसपछि उनीहरूको खेल हेरेका पनि छैनौं र उनीहरूविरुद्ध खेलेका पनि छैनौं । तर मलाई लाग्छ, किर्गिस्तानी टिम राम्रो हुनुपर्छ । उसले पछिल्लो पटक भारतविरुद्ध खेलेको थियो । हामीले यसपल्ट पनि सजिलो जित निकाल्ने सक्ने भन्ने हुन्न । हाम्रो फरवार्ड भने राम्रो छ । काउन्टर आक्रमणमा जोड दिन्छौं र बल नियन्त्रणमा राखेर खेल्नेछौं ।’

कप्तान एन्जिला भने यो प्रतियोगिता आफू जस्ता खेलाडीलाई ठूलो अवसर रहेको मान्छिन् । भन्छिन्, ‘हाम्रो तयारी राम्रो छ । सहभागी टिम पनि राम्रा छन् । जित्नकै लागि खेल्ने हो । तर बोलेर भन्दा खेलेर उपाधि जित्नुपर्ने हुन्छ । यसपल्ट हामीले यसअघिका प्रतियोगितामा भएका भुल सच्याएर खेल्ने योजना बनाएका छौं । मलाई विश्वास छ, यसपल्ट गल्ती कम हुनेछन् । हाम्रो रक्षापंक्ति मजबुत बनाउने प्रयास भइरहेको छ ।’

म्यानमार नै बलियो

म्यानमारका प्रमुख प्रशिक्षक तेत्सुरो उकीको ध्यान पनि अबको एसिया कप/विश्वकप छनोटमै छ । उनी मान्छन्, आफ्नो टिम परिवर्तनबाट गुज्रिइरहेको छ । त्यसै त्यो महत्त्वपूर्ण छनोट अगाडि यो फोर नेसन्स कप उनको टिमका लागि जाँच जस्तै हुनेछ ।

‘नेपालमा महिला फुटबलमा पनि दर्शकको कमी हुन्न । यो राम्रो हो । नेपाली समर्थक अगाडि खेल्दा बहमूल्य अनुभव हुनेछ । उनी भन्छन्, ‘फिफा वरीयतामा म्यानमार चार टिममध्ये अगाडि छ, तर यसको खासै अर्थ हुन्न ।’

अन्य चार टिमलाई लाग्छ, बलियो म्यानमार नै हो । अहिले टोलीको फिफा वरीयता हो, ५५ औं स्थान । उसले पाँचपल्ट एसिया कप खेलिसकेको छ र म्यानमारले पहिलो पटक यो प्रतियोगिता खेलेको सन् २००३ मा हो । तर अहिलेसम्म म्यानमार लिग चरण भन्दा अगाडि बढ्न सकेको छैन ।

किर्गिस्तानका प्रशिक्षक नेमतझान जाकिरोभ भने आफ्नो टिम नयाँ रहेको मान्छन् । उनी भन्छन्, ‘हाम्रो टिममा धेरै युवा खेलाडी छन् । त्यसैले उनीहरूका लागि अनुभव बटुल्ने यो जत्तिको राम्रो अवसर अरू हुन सक्दैन ।’

किर्गिस्तानले महिला फुटबलमा प्रवेश गरेको नै सन् २००९ मै मात्र हो । अहिलेसम्म उसको सबैभन्दा ठूलो उपलब्धि भनेको काफा च्याम्पियनसिपमा तेस्रो हुनु हो । लेवनानी प्रशिक्षक वाएल घारजेडिनलाई वाफ च्याम्पियनसिपका बेला नेपालविरुद्धको खेल सम्झना छ ।

उनी भन्छन्, ‘त्यसयता हाम्रो टिममा कति सुधार भयो त, त्यो हेर्न चाहन्छौं ।’ लेवनानले अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको सन् २००६ मै मात्र हो । वाफ च्याम्पियनसिपमा एकपल्ट लेवनान उपविजेता भएको छ ।

हिमेश

Link copied successfully