बुटवल — रूपन्देहीमा तेस्रो मेयर कप तथा बुटवल खुल्ला लन टेनिस प्रतियोगिता सुरु भएको छ । सोमबार भएको उद्घाटन खेलमा वुमन्स सिंगलमा सुनिरा थापाले जिनी खड्कालाई ६–३ र ६–० को सोझो सेटमा पराजित गरी विजयी सुरुवात गरेकी छिन् ।
यसैगरी, मेन्स सिंगलतर्फ निहालजंग थापाले विष्णु नेपालीलाई ६–१ र ६–० को सोझो सेटमा पराजित गरे भने आयुषमान घलेले युगेन शेर्पालाई ६–२ र ६–१ को सेटमा, देव आशिष रेउलाले निश्चल कायस्थलाई ६–२ र ६–३ को सेटमा पराजित गरेका छन् ।
यसै गरी, ३५ प्लस सिंगलमा जितेन्द्र परियारले सरोज पौडेललाई ६–०, ६–० को सोझो सेटमा, चोमबहादुर शाहले प्रकाश बस्नेतलाई ७–५ र ६–२ को सेटमा पराजित गरेका छन् । ४५ प्लस सिंगलमा गोपाल ज्ञवालीले विष्णुबहादुर थापालाई ६–३ र ६–३ को सेटमा पराजित गरे ।
बुटवल उपमहानगरपालिकाको सहयोगमा रुपन्देही टेनिस संघको आयोजनामा आजदेखि ९ फागुनसम्म हुने प्रतियोगिता सोमबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले म्याच डाइरेक्टर अजय विष्टलाई टेनिस बल हस्तान्तरण गरेर उद्घाटन गरेका थिए । नगरभित्र खेलकुद पूर्वाधार विकास र प्रतियोगिता आयोजनामा साढे ४ करोड बढी बजेट विनियोजन भएको नगर प्रमुख पाण्डेले बताए ।
रुपन्देही लन टेनिस संघका अध्यक्ष गोपाल ज्ञवालीले काठमाडौं केन्द्रित टेनिस खेल पछिल्लो समय देशका मुख्य सहरहरूमा खेल्न थालिएको र खेलाडी उत्पादन भएको भन्दै यसमा खेल सरोकारवाला निकाय र स्थानीय सरकारको महत्त्वपूर्ण योगदान रहेको बताए ।
कार्यक्रममा रुपन्देहीको टेनिस विकासमा योगदान दिएका संस्थापक अध्यक्ष अशोक गुरुङ, मध्यपश्चिम पृतनाका महासेनानी मचिन्द्र थापालाई दोसल्ला, कदरपत्रबाट सम्मान गरिएको थियो । कार्यक्रममा नेपाल टेनिस महासंघका पूर्वअध्यक्ष बागमती टेनिस संघका अध्यक्ष मनोजशमशेर राणाले जिल्ला अध्यक्ष ज्ञवालीलाई एक कार्टुन टेनिस बल हस्तान्तरण गरेका थिए ।
उद्घाटन सत्रमा टेनिस संघका केन्द्रीय सदस्य अशोक गुरुङ, २२ नम्बर बाहिनीका बाहिनीपति सहायक रथी पुरुषोत्तम खड्का, नेपाल टेनिस महासंघका पूर्वअध्यक्ष बागमती टेनिस संघका अध्यक्ष मनोजशमशेर राणा, सचिव सब्बर मियाले खेल र खेलाडीलाई अवसर दिन सके अन्तर्राष्ट्रिय गरिमा र पहिचान बढ्ने बताए ।
प्रतियोगितामा एकलतर्फ पुरुष-महिला एकल, पुरुष ३५ प्लस, पुरुष ४५ प्लस, पुरुष ५५ प्लस, पुरुष ६५ प्लस र डबल्सतर्फ पुरुष डबल्स, महिला डबल्स, पुरुष ३५ प्लस, पुरुष ४५ प्लस र पुरुष ५५ प्लस गरी ११ विधामा प्रतियोगिता चल्नेछ ।
प्रतियोगितामा महिला सिंगल्सतर्फ ७ सहित एक सय बढी खेलाडी सहभागी छन् ।
