दाङ — बैजनाथ गाउँपालिका-२ बाँकेका ३० वर्षीय तिलकराम थारुको खुट्टाले काम गर्दैन । १९ वर्षको उमेरमा फुटबल खेल्ने क्रममा उनलाई चोट लाग्यो । चोटकै कारण ढाडको नसामा असर पर्दा मेरूदण्डले काम गर्न छाड्यो ।
अहिले ह्विलचियरको सहारामा हिँडडुल गर्नुपर्छ । शरीरले साथ नदिए पनि उनले खेललाई विराम दिन चाहेनन् । अपांगतालाई समस्याका रूपमा नलिएर उनले आफूभित्रको आत्मविश्वासलाई बास्केटबलमा प्रयोग गरे ।
ह्विलचियर साथी भएपछि उनले फुटबलको सट्टा बास्केटबल रोजे। बास्केटबल खेल्न थालेको अहिले ८ वर्ष भइसकेको छ । उनले भक्तपुरको साँगामा पहिलोपटक बास्केटबल खेल्न सिके । काठमाडौंमा थप सिक्ने मौका पाए ।
हाल नेपाल स्पाईनल कर्ड ईन्जुरी स्पोर्ट एसोसियसन काठमाडौंबाट खेल्ने गरेका थारूले ह्विलचियरको सहारामा थुप्रै प्रतियोगितासमेत खेलिसकेका छन् । उनले पोखरा, बुटवल, कालीकोट, मुगु, धनगढी, काठमाडौंलगायतका स्थानमा ह्विलचियर बास्केटबल प्रतियोगिता खेलिसकेका छन् ।
लुम्बिनी प्रदेश खेलकुद परिषद्ले शनिबार घोराहीमा आयोजना गरेको प्रदेश स्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा उनले बाँके जिल्लाबाट सहभागीता जनाए ।
‘आफु जस्ता धेरै साथीहरू भेटियो । यस प्रकारका कार्यक्रमले हामीमा आत्मविश्वास बढाउने गर्छ’ उनले भने, ‘सुरूमा म मात्रै अपाङ्ग छु जस्तो लाग्थ्यो तर बाहिर निस्कँदा अरु साथीहरु पनि म जस्तै देख्दा हौसला बढ्यो ।’
प्रदेश सरकारले दाङमा पहिलोपटक प्रतियोगिता आयोजना गरेर अपांगता भएकाहरुको क्षमता बाहिर ल्याउने काम गरेको उनले बताए ।
थारु जस्तै नेपालगन्ज उपमहानगरपालिका-७ बाँकेका अशोक थारु पनि ह्विलचियर बास्केटबल खेल्छन् । उनको सानैमा पोलियो लागेर दुवै खुट्टाले काम गर्दैन । तर उनीसँग भएको आत्मविश्वासले बास्केटबल खेल्न सके । ह्विलचियरमा बसेर उनले कोर्टको सेतो रेखा बाहिरबाटै स्कोर गर्न सक्छन् ।
दंगीशरण गाउँपालिका-५ डाँडाचिस, दाङका ३९ वर्षीय विवेक चौधरीको पनि ढाडमुनिको शरीरले काम गर्दैन । १३ वर्षअघि लडेर घाइते भएका विवेकलाई सुरुमा ढाडमा समस्या भयो तर, चोट बल्झिँदै जाँदा उनलाई ह्विलचियरको सहारामा हिड्नु पर्ने भयो ।
विवेकले ०७३ सालदेखि बास्केटबल खेल्न थालेका हुन् ।
‘शरीरले साथ नदिए पनि मनले खेल्न चाहन्छ । खेल्न पाउँदा अझ ऊर्जा थपिन्छ,’ उनले भने, ‘ह्विलचियर बास्केटबल प्रतियोगिता जस्तै अरु विभिन्न प्रतियोगिता आयोजना गरेर हामीहरुको क्षमता बाहिर ल्याउन ध्यान दिनुपर्छ ।’
घोराही उपमहानगरपालिका-१५, दाङका दण्ड रोका मगरलाई पनि स्पाईनल कर्डको समस्या छ । उनलाई चोटकै कारण डाढको नशाले काम गर्न छोडेपछि अहिले ह्विलचियर जिन्दगी बाँचिरहेका छन् । दाङको प्रतिनिधित्व गर्दै उनले शनिबार पहिलोपटक प्रदेश स्तरीय प्रतियोगिता खेले ।
‘मैले पनि धेरै कुरा गर्न सक्ने रहेछु भन्ने लागेको छ । स्वस्थ हुँदा खेल खेलिनँ,’ उनले भने,‘ह्विलचियरको सहारामा हिँडडुल गर्ने भएपछि खेल्न सिकेँ । अब यसलाई निरन्तरता दिएर क्षमता विकासमा ध्यान दिनेछु ।’
बास्केटबलमा अपांगता भएकाहरुले खेल्ने र सांगहरुले खेल्ने नियम उस्तै हुन्छ तर अपांगता भएकाहरुलाई बल लिएर अघि बढ्न धेरै नै कठिनाई हुन्छ । ह्विलचियर ठोक्किएर चोटपटक लाग्नसक्ने खतरा हुन्छ । यसबाट जोगिँदै निकै चलाखीपूर्वक खेल्नुपर्ने हुन्छ ।
खासमा अपांगता भएकाहरुका लागि हुने ह्विलचियर बास्केट बल प्रतियोगितामा अलग्गै ह्विलचियर चाहिन्छ । तर यो सबैका लागि सम्भव छैन । अहिले प्रयोग गरिरहेका ह्विलचियरमै बसेर उनीहरुले प्रतियोगितामा सहभागिता जनाएका छन् । प्रदेशमा अपांगता भएकाहरुको क्षमता बाहिर ल्याउन खेलकुद परिषदले ह्विलचियर बास्केटबलबाट थालनी गरेको लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरण गौतमले बताए ।
अपांगमैत्री संरचना र पूर्वाधार नहुँदा खेलकुद आयोजना गर्न चुनौती रहेको उनको भनाइ छ । प्रतियोगितामार्फत अपांगता भएकाहरुको क्षमता प्रदर्शनसँगै उनीहरूको समस्याबारे सबैको ध्यानाकर्षण गर्न खोजेको उनले बताए ।
‘अपांगहरूमा अपार क्षमता रहेछ भन्ने सन्देश प्रतियोगिताले दिएको छ,’ उनले भने, ‘यसले समाजमा सकारात्मक सन्देश दिएको छ।’ अपांगता भएकाहरुको प्रतियोगिता नियमित आयोजना गर्न आवश्यक रहेको राष्ट्रिय अपांग संघ लुम्बिनी प्रदेश सदस्य दयाराम अधिकारीले बताए ।
प्रदेश स्तरीय ह्विलचियर प्रतियोगितामा बाँकेको टीम प्रथम भयो । बाँके दाङलाई ३१–१० अंकले हराउँदै विजेता बन्यो । फाइनलमा प्रवेश गर्न बाँकेले नवलपरासी र दाङले कपिलबस्तुलाई हराएका थिए ।
प्रतियोगितामा दाङसहित बाँके, कपिलवस्तु र नवलपरासी पश्चिम जिल्लाका अपांगता भएका पुरुष खेलाडीको सहभागिता थियो । विजेता बाँकेले नगद ५० हजारसहित शिल्ड प्राप्त गर्दा उपविजेता बनेको दाङले नगद ३० हजारसहित शिल्ड प्राप्त गर्यो । प्रतियोगितामा बाँकेका हिमराज बुढा मगर उत्कृष्ट खेलाडी भए ।
