इटहरी गोल्डकप : एनआरटी पहिलो खेलमै स्तब्ध

फाल्गुन ४, २०८१

अर्जुन सुवेदी

Itahari Gold Cup: NRT shocked in the first game

सुनसरी — सगरमाथा युथ क्लब सहिद स्मारक लिगको ‘ए’ डिभिजन टोली एनआरटीलाई पराजित गर्दै १५ औं संस्करणको आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

इटहरी रंगशालामा आइतबार दोस्रो क्वाटरफाइनलमा सगरमाथाले बुढासुब्बा गोल्डकप च्याम्पियन एनआरटीमाथि १–० को संघर्षपूर्ण जित पाएको हो ।

सगरमाथाको जितमा विदेशी खेलाडी रिचार्डले गोल गरेका थिए । एनआरटीको कमजोर रक्षापंक्तिको फाइदा उठाउँदै खेलको सुरुआती छैटौं मिनेटमा उनले गोल गरेका थिए । पहिलो हाफमा १–० गोलले पछि परेको एनआरटीले दोस्रो हाफमा पाएका केही अवसरलाई सगरमाथाका रक्षापंक्तिका खेलाडीले विफल तुल्याइदिए । कप्तान अशोक खवास, कुलदीप कार्की र विशाल दर्जीको बलियो रक्षापंक्ति तोड्न नसक्दा एनआरटी पहिलो खेलबाटै घर फर्किन बाध्य भयो ।

सगरमाथाले पनि दोस्रो हाफमा पाएका केही अवसर गोलमा परिणत गर्न नसक्दा अग्रता बढाउन सकेन । रिचार्ड प्लेयर अफ द म्याच भए । उनले १० हजार रुपैयाँ पाए । दुई पटकको च्याम्पियन सगरमाथाले मंगलबार हुने चर्च ब्वाइज युनाइटेड र धरान फुटबल क्लबबीचको क्वाटरफाइनल विजेतासँग बिहिबार प्रतिस्पर्धा गर्नेछ ।

सोमबार तेस्रो क्वाटरफाइनल खेलमा मछिन्द्र फुटबल क्लब र झापा ११ एफसीबीच प्रतिस्पर्धा हुनेछ । फागुन १० गतेसम्म चल्ने विजेताले१० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

अर्जुन

Link copied successfully