सुनसरी — सुनसरीमा जारी १५औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो क्वाटरफाइनल खेलमा आज न्युरोड टिम एनआरटी र सगरमाथा युथ क्लबबीच प्रतिष्पर्धा हुँदैछ । यी दुई टिमबीचको खेल इटहरी रंगशालामा दिउँसो तीन बजे सुरु हुनेछ ।
दुई पटकको च्याम्पियन सगरमाथा युथ आजको खेल जित्दै सेमिफाइनल प्रवेश गर्ने दाउमा हुनेछ । लगातार दुई पटक छिमेकी उपमहानगरमा बुढासुब्बा गोल्डकप जितेको एनआरटी आफ्नो उत्कष्ट लयलाई इटहरी गोल्डकपमा कायमै राख्न चाहान्छ ।
आजको खेलको बिजेताले चर्च ब्वाइज युनाइटेड र धरान फुटबल क्लबबीच मंगलबार हुने अन्तिम क्वाटरफाइनल बिजेतासँग बिहीबार सेमिफाइनलमा प्रतिष्पर्धा गर्नेछ ।
यसअघि हिजो सम्पन्न उद्घाटन खेलमा आयोजक राष्टिय जागृती क्लबलाई २–१ गेल अन्तरले पराजित गर्दै पाहुना टोली युनाइटेड खर्साङ फुटबल क्लब (यूकेएफसी) ले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।
फागुन १० गतेसम्म हुने प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १ लाख रुपैयाँ पाउने छ ।
