आहा रारा पोखरा गोल्डकप : पोखरामा उज्वेक टिम च्याम्पियन

ब्ल्याक बुल्स ३–१ पुलिस

फाल्गुन ४, २०८१

हिमेश

Aha Rara Pokhara Gold Cup: Uzbek team champion in Pokhara

पोखरा — सइद जमोल नाम सम्झना  ? कुनै समय उनी मनाङ मर्स्याङ्दीका खेलाडी थिए । अनि अब्दुल अजिज नि ? उनले भने जावलाखेल युथका लागि खेलेका थिए । अजिज त अहिले प्रशिक्षक भइसके । जमोलले भने खेलिरहेकै छन् । उनीहरूले उज्वेकिस्तानको सुपर लिग क्लब नभबहोरका रिजर्भ खेलाडी बटुलेर एउटा टिम बनाए ।

नाम राखे, ब्ल्याक बुल्स । यही टिम अहिले नेपालमा छ । यसले पोखरामा भएको आहा रारा पोखरा गोल्डकप फुटबलको उपाधि जितेको छ ।

पोखरा रंगशालामा शनिबार भएको फाइनलमा यही उज्वेक टिम ६ पटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई हराएर दोस्रो विदेशी विजेता बन्यो । वर्ष ०६२ मा अफ्रिकन युनाइटेड पनि पोखरामा च्याम्पियन भएको थियो । न यो अफ्रिकन च्याम्पियन कुनै क्लब हो, न त अहिलेकै ब्ल्याक बुल्स कतै कुनै लिग खेल्ने औपचारिक टिम हो । यो केही उज्वेक खेलाडीको समूहमात्र हो । त्यही टिम यसपल्ट पुलिसलाई कीर्तिमान सातौंपल्ट आहा रारा जित्नबाट रोक्न सफल रह्यो ।

उज्वेकको उपाधि यात्रा कुनै संयोग मात्र रहेन । यो खेलेर जितेको उपाधि नै रह्यो । ‘मेरा लागि त नेपाल दोस्रो घर जस्तै हो,’ जमोलले जितपछि भने, ‘नेपालमा आएर खेल्न पाउनु हाम्रा लागि खुसी हो । त्यसमाथि उपाधि पनि जित्न सक्यौं । त्यसैले अझ बढी खुसी छौं । यो जितले नेपालमा पनि अब उज्वेक फुटबलबारे चर्चा हुनेछ । उज्वेक फुटबलबारे जान्ने प्रयास हुनेछ । यो नै हाम्रा लागि ठूलो उपलब्धि हो । हाम्रो नजरमा नेपालमा धेरै प्रतिशाली खेलाडी छन् । मात्र उनीहरू प्राविधिक रूपमा केही कमजोर छन् ।’

चुकेको पुलिस

पुलिसले खेलेको ११ फाइनल आफ्नै नियन्त्रणमा थियो । ब्ल्याक बुल्सले प्रतियोगितामै पहिलो पटक राम्रो खेल्न सकेको थिएन । त्यसैले फाइनलमा पराजित रहनुमा ब्ल्याक बुल्सको राम्रो प्रदर्शनभन्दा पनि पुलिसको खास–खास मोडमा खराब प्रदर्शन बढी जिम्मेवार रह्य । खेलको ४० औं मिनेटमा जाखोनगिर अखमाडोभले गरेको प्रहार दुर्भाग्यपूर्ण ढंगले गोलमा परिणत भएपछि पुलिस समस्यामा परेको थियो । उनको त्यो प्रहार पुलिसका गोलरक्षक शत्रुधन चौधरीले राम्रोसँग नियन्त्रणमा लिन सकेनन् ।

उल्टै त्यो बलले पोस्टका दिशा लिएको थियो । शत्रुधनले सयौंपल्ट यस्तै स्थितिमा बलमाथि सजिलै नियन्त्रण लिन सक्थे, तर यसपल्ट सकेनन् । उनको यही ‘स्कुल ब्वाइ’ भुलका कारण खेल उज्वेक टिमको पक्षमा मोडियो । पुलिसले यो प्रतियोगिता खाएको यो नै पहिलो गोल थियो । प्रशिक्षक चेतन घिमिरले माने, त्यही बेलादेखि आफ्नो टिमको स्थिति बिग्रियो । ‘त्यसपछि त हामीले लय गुमायौं र त्यसलाई हात पार्न सकेनौं,’ प्रशिक्षकले भने ।

गोलरक्षकको एउटा सानो भुल कहिलेकाहीं कति धेरै महँगो हुनसक्छ, त्यो यसैले प्रस्ट देखाउने गर्छ । खेलको ५९ औं मिनेटमा असिलबेक ओरिफजोनोभले दोस्रो गोल थपे । उनले यसका लागि पुलिसको रक्षापंक्तिलाई नराम्रोसँग पछारे । तेस्रो गोल भने साभकाट्जोन साटोरोभको नाममा रह्यो । यो ६६औं मिनेटमा सम्भव भयो । त्यसपछि पुलिसले आफ्नो आक्रमण तीव्र बनाएको थियो । यसक्रममा एक आत्मघाती गोल निस्केको थियो । खेलको ७४ औं मिनेटमा एलिजोन अलिजोनोभले बललाई आफ्नै पोस्टको दिशा दिए । यो टोलीले खाएको पहिलो गोल रह्यो ।

सम्भावनाको उपलब्धि

पुलिस फेरि एकपल्ट उपविजेतामै सीमित हुनुपरे पनि पोखरामा टोलीको प्रदर्शन सम्भावनाको उपलब्धि हुनेछ । पुलिस यसअघिका तीन प्रतियोगितामा खराब प्रदर्शन गर्दै पोखरा पुगेको थियो । यो टिममा दुई नामबाहेक अरू खेलाडी घरेलु फुटबलकै लागि नयाँ जस्तै थियो । कप्तान राम वाजी र शत्रुधन मात्रै सुनिएका नाम थिए । तर, प्रशिक्षक घिमिरेले आफ्ना खेलाडीलाई पोखरामा राम्रो प्रदर्शन गर्न प्रेरित गरिराख ।

पूरा प्रतियोगितामा पुलिसको प्रदर्शन धेरै हदसम्म राम्रो रह्यो । घिमिरेले अब यिनै खेलाडीलाई बढीभन्दा बढी अवसर दिनुपर्नेछ । ‘पुलिसको टिम विस्तारै बन्दै छ । मलाई लाग्छ, यो टिमले लिगमा राम्रो गर्न सक्नेछ,’ खेलपछि घिमिरेले भने । फाइनलमा पुलिसको सुरुआत पनि राम्रो थियो । टोलीका अरुण गाहाको प्रहार तेस्रो मिनेटमै पोस्टमा लागेर फर्केको थियो । यो प्रहारले गोलको रुप लिएको भए पूरा खेलको कथा नै बेग्लै हुन्थ्यो ।

उज्वेक टिमले १२ लाख र पुलिसले ६ लाख रुपैयाँ पुरस्कार पाए । ब्ल्याक बुल्सका साटोरोभ उत्कृष्ट खेलाडी भए । घरेलु फुटबलमा विदेशी खेलाडी उत्कृष्ट चुनिएको यो पहिलो पटक हो । अरू व्यक्तिगत पुरस्कारमा उज्वेक खेलाडीकै वर्चस्व रह्यो । 

हिमेश

Link copied successfully