आज नेपालविरुद्ध युनान फुटबल टिम

खेल मैत्रीपूर्णमा सीमित नहुने प्रशिक्षकहरूको दाबी

फाल्गुन ३, २०८१

कान्तिपुर संवाददाता

Today, Yunnan football team against Nepal

काठमाडौँ — कुनै फुटबल खेल मैत्रीपूर्णमा मात्र सीमित हुँदैनन् । नेपाली फुटबलका लागि यस्तै अवसर बनेर आएको छ चीनको युनान युवा फुटबल टिमविरुद्धको मैत्रीपूर्ण खेल । दशरथ रंगशालामा शनिबार नेपालले चीनको प्रान्तीय युवा टोलीसँग प्रतिस्पर्धा गर्दै छ ।

प्रशिक्षक राजेश शाहीको भनाइ मान्ने हो भने नेपालका लागि यो खेल एउटा अवसर बनेर आएको छ । चिनियाँ टोलीविरुद्धको खेलबाट केही खेलाडीले नेपाली राष्ट्रिय टोलीको समेत यात्रा गर्ने विश्वास पूर्व मिडफिल्डर शाहीको छ । उनले त्यसमा सुविन लुंगेली मगरको नाम नै तोकिदिए । नेपाली टोलीले बनाएको योजनाअनुसार सुविनले युनान टोलीविरुद्ध खेलेमा राष्ट्रिय टोलीमा पुग्न उनलाई कसैले रोक्न नसक्ने दाबी शाहीको थियो ।

‘छोटो भए नि हाम्रो तयारी राम्रो भएको छ, नेपालको युवा टोली छ, राम्रै खेल्ने विश्वास लिएका छौं,’ प्रशिक्षक शाहीले युनान युवा टोलीसँगको तयारीबारे भने, ‘हामीलाई प्रतिद्वन्द्वीको बारेमा खासै थाहा छैन, विगतका भन्दा राम्रो टोली आएजस्तो लाग्छ । तर, हामी आफ्नो हिसाबले खेल्ने छौं । यस्तो खेलले युवा खेलाडीलाई राष्ट्रिय टोलीको बाटोसम्म पुग्न सजिलो हुन्छ ।’

नेपालको नेतृत्व सीमान्त थापाले गर्नेछन् । उनले १२–१५ दिनको मात्र भए पनि नेपालको तयारी राम्रो भएको बताए । चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा यो मैत्रीपूर्ण फुटबल खेल्न लागिएको हो । गत वर्षदेखि यसको सुरुआत भएको थियो । गत वर्ष नेपाली टोलीले ५–१ को विजय हात पारेको थिय ।

युनान युवा फुटबल टोलीका प्रशिक्षक लिउ झोङ लिङले रोमाञ्चक खेल प्रस्तुत गर्ने आस लिएको बताए । ‘गत वर्ष र यो टोलीमा फरक छ, गत वर्षभन्दा यो टोली राम्रो छ । युनान स्पोर्ट्स विभागबाट छानिएका खेलाडीहरू लिएर यो टिम यहाँ खेल्न आएको हो,’ उनले भने, ‘हाम्रा खेलाडीका लागि पनि यो ठूलो प्लेटफर्म हो र उनीहरूलाई चुनौती पनि छ । हामीले यहाँ आएपछि सबै तयारी राम्रो भएको पाएका छौं ।’

प्रशिक्षक झोङ लिङको भनाइमा उनका कप्तान चाङ इबाओ पनि सहमत थिए । उनले राम्रो तयारीसाथ आएकाले युनान युवा टोलीले राम्रो खेल खेल्ने विश्वास लिए । नेपालका प्रशिक्षक शाहीले तयारीका लागि दुई साता कम समय भए पनि नेपाली टोली चिनियाँ टोलीविरुद्ध खेल्न तयार रहेको जनाए ।

शाहीले यू–१८, यू–१९ र यू–२३ बाट खेलेका खेलाडीलाई प्राथमिकतामा राखेर नेपाली टोली बनाएको बताए । ‘हामीले ४५ जनालाई बोलाएर टिम छान्न सुरु गरेका थियौं, त्यसमा पछि केही युवा खेलाडी अझै थपेका थियौं । त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबसँग २–२ खेल खेलेर टिम छानेका हौं,’ प्रशिक्षक शाहीले भने, ‘जित्नैका लागि खेल्ने छौं । हामी ३–४–३ को रणनीतिअनुसार आक्रामक खेल्ने छौं । आफूभन्दा राम्रो टोलीसँग खेल्दा हामी प्रायः रक्षात्मक खेलिरहेका हुन्छौं । तर, युवा खेलाडी भएकाले उनीहरूलाई आक्रामक खेल सिकाउन जरुरी छ ।’

काठमाडौंस्थित चिनियाँ दूतावास, राष्ट्रिय खेलकुद परिषद् र अखिल नेपाल फुटबल संघ यस खेलको आयोजक रहेका छन् ।

कान्तिपुर

Link copied successfully