दशरथ रंगशालामा युनान टोलीलाई न्यु इयर कप

फाल्गुन ३, २०८१

कान्तिपुर संवाददाता

New Year Cup to Yunnan team at Dasharath Stadium

काठमाडौँ — नेपाली युथ फुटबल टोलीलाई २–० ले पराजित गर्दै चीनको युनान युवा फुटबल टिमले चाइनिज न्यु इयर कप फुटबल खेल जितेको छ । दशरथ रंगशालामा चीनको प्रान्तीय युवा टोलीले दुवै हाफमा गोल गर्दै मैत्रीपूर्णसरह नरहेको खेल आफ्नो पक्षमा पारेको थियो ।

तर, खेल मैत्रीपूर्ण जस्तो रहेन । एयर बल र वान भर्सेज वानमा दुवै टोलीका खेलाडीहरू नराम्रोसँग जुध्न पुगेका थिए । खेलको अन्त्यसम्म शारीरिक घम्साघम्सी जारी नै रह्यो । नेपाल युथ टोलीबाट प्रभावशाली प्रदर्शन गरेका आशिष राई र युनानका मोरी ३६ औं मिनेटमा वान भर्सेज वान बलमा जुध्न पुग्दा दुवैले मैदान छाड्नुपरेको थियो । आशिषको चोट अझै गम्भीर देखिएको छ र उनले लामो समय मैदान छाडनुपर्ने सम्भावना रहेको छ । ‘मल्टिपल फ्याक्चर्स’ रहेकाले आशिषको शल्यक्रिया हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

यसअघि २१ औं मिनेटमा यू मेनघुईले युनानलाई अग्रता दिलाएका थिए । काउन्टर एट्याकमा लगेको बलमा मेनघुईले पेनाल्टी बक्सबाहिरबाट सानदार प्रहारमा नेपाल युवा टोलीका गोलरक्षक कृशल मोक्तानलाई कुनै अवसर नदिई गोल गरेका थिए । त्यसलगत्तै आशिषले लामो दुरीको प्रहारलाई गोलरक्षक लेइ झिबोले बचाउ गरेका थिए । २५ औं मिनेटमा नीराजन धामीले गरेको प्रहार पनि झिबोले उत्कृष्ट बचाउ गरे ।

New Year Cup to Yunnan team at Dasharath Stadium

अघिल्लो दिन प्रिम्याच कन्फ्रेन्समा प्रशिक्षक राजेश शाहीले ठूलो आशा गरेका सविन लुङ्गेली मगरले खेलमा खासै प्रभाव पार्न सकेनन् । सविन र सरोज दर्लामी दुवैलाई मध्यान्तरमा परिवर्तन गरिएको थियो । नेपाली टोलीले २–३ पास भन्दा बढी खेल्न सकेको थिएन । आफूभन्दा अग्ला विपक्षी खेलाडीसँग ‘एयर बल’ मै बढी खेलिरहेका थिए ।

नेपाली टोलीका गोलरक्षक कृशलले पनि हे हाओहानको प्रहार बचाएर युनानको अग्रतार्  दोब्बर हुनबाट रोकेका थिए । मेनघुई ७७ औं मिनेटमा खाली पोस्टमा ट्यापिङ गर्न चुकेका थिए । त्यसको लगत्तै युनानले दोस्रो गोल पनि काउन्टरमै गरेको थियो । स्ट्राइकर वाङ बिनहानले नेपाली कप्तान सीमान्त थापालाई छलाउँदै गोलरक्षक कृशललाई कुनै मौका नदिई गोल गरेका थिए ।

New Year Cup to Yunnan team at Dasharath Stadium

खेल समाप्त हुनु एक मिनेट अगाडि नेपाली टिम सान्त्वना गोलको नजिक पुगेको थियो । तर, विक्रम गौतमको प्रहारलाई झिबोले पुनः उत्कृष्ट पञ्च गरेर नेपाली टोलीलाई निराश बनाए ।

चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा गत वर्षदेखि मैत्रीपूर्ण खेल हुँदै आएको छ । काठमाडौंस्थित चिनियाँ दूदावास, राष्ट्रिय खेलकुद परिषद् र एन्फा यस खेलको आयोजक रहेको थियो । गत वर्ष चिनियाँ टोलीले नेपालसँग फराकिलो हार बेहोरेको थियो । 

New Year Cup to Yunnan team at Dasharath Stadium

कान्तिपुर

Link copied successfully