आहा रारामा उज्वेक टिम दोस्रो विदेशी च्याम्पियन

फाल्गुन ३, २०८१

हिमेश

Aha Rarama Uzbek team second foreign champion

पोखरा — सइद जमोल नाम सम्झना छ ? कुनै समय उनी मनाङ मर्स्याङ्दीका खेलाडी थिए । अनि अब्दुल अजिज नि ? उनले भने जावलाखेल युथका लागि खेलेका थिए । अजिज त अहिले प्रशिक्षक भइसके । जमोलले भने खेलिरहेकै छन् । उनीहरूले उज्वेकिस्तानको सुपर लिग क्लब नभबहोरका रिजर्भ खेलाडी बटुलेर एउटा टिम बनाए ।

नाम राखे, ब्ल्याक बुल्स । यही टिम अहिले नेपालमा छ । यसले पोखरामा भएको आहा रारा पोखरा गोल्डकप फुटबलको उपाधि जितेको छ ।

पोखरा रंगशालामा शनिबार भएको फाइनलमा यही उज्वेक टिम ६ पटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई हराएर दोस्रो विदेशी विजेता बन्यो । वर्ष ०६२ मा अफ्रिकन युनाइटेड पनि पोखरामा च्याम्पियन भएको थियो । न यो अफ्रिकन च्याम्पियन कुनै क्लब हो, न त अहिलेकै ब्ल्याक बुल्स कतै कुनै लिग खेल्ने औपचारिक टिम हो । यो केही उज्वेक खेलाडीको समूहमात्र हो । त्यही टिम यसपल्ट पुलिसलाई कीर्तिमान सातौंपल्ट आहा रारा जित्नबाट रोक्न सफल रह्यो ।

चुकेको पुलिस

पुलिसले खेलेको ११ फाइनल आफ्नै नियन्त्रणमा थियो । ब्ल्याक बुल्सले प्रतियोगितामै पहिलो पटक राम्रो खेल्न सकेको थिएन । त्यसैले फाइनलमा पराजित रहनुमा ब्ल्याक बुल्सको राम्रो प्रदर्शनभन्दा पनि पुलिसको खास–खास मोडमा खराब प्रदर्शन बढी जिम्मेवार रह्यो । खेलको ४० औं मिनेटमा जाखोनगिर अखमाडोभले गरेको प्रहार दुर्भाग्यपूर्ण ढंगले गोलमा परिणत भएपछि पुलिस समस्यामा परेको थियो । उनको त्यो प्रहार पुलिसका गोलरक्षक शत्रुधन चौधरीले राम्रोसँग नियन्त्रणमा लिन सकेनन् ।

उल्टै त्यो बलले पोस्टका दिशा लिएको थियो । शत्रुधनले सयौंपल्ट यस्तै स्थितिमा बलमाथि सजिलै नियन्त्रण लिन सक्थे, तर यसपल्ट सकेनन् । उनको यही ‘स्कुल ब्वाइ’ भुलका कारण खेल उज्वेक टिमको पक्षमा मोडियो । पुलिसले यो प्रतियोगिता खाएको यो नै पहिलो गोल थियो ।   

Aha Rarama Uzbek team second foreign championतस्बिर सौजन्य : सुदर्शन रञ्जित

गोलरक्षकको एउटा सानो भुल कहिलेकाहीं कति धेरै महँगो हुनसक्छ, त्यो यसैले प्रस्ट देखाउने गर्छ । खेलको ५९ औं मिनेटमा असिलबेक ओरिफजोनोभले दोस्रो गोल थपे । उनले यसका लागि पुलिसको रक्षापंक्तिलाई नराम्रोसँग पछारे । तेस्रो गोल भने साभकाट्जोन साटोरोभको नाममा रह्यो । यो ६६ औं मिनेटमा सम्भव भयो । त्यसपछि पुलिसले आफ्नो आक्रमण तीव्र बनाएको थियो । यसक्रममा एक आत्मघाती गोल निस्केको थियो । खेलको ७४ औं मिनेटमा एलिजोन अलिजोनोभले बललाई आफ्नै पोस्टको दिशा दिए । यो पनि उनको टिमले खाएको पहिलो गोल रह्यो ।

उपाधि जितेपछि उज्वेक टिमले १२ लाख रुपैयाँ हात पारेको छ भने पुलिसले ६ लाखमै चित्त बुझायो । ब्ल्याक बुल्सका साटोरोभ नै उत्कृष्ट खेलाडी घोषित भए । नेपाली घरेलु फुटबलमा विदेशी खेलाडी उत्कृष्ट चुनिएको यो नै पहिलो पटक हो ।     

हिमेश

Link copied successfully