प्रतियोगिताका लागि २१ देशका १ सय ५० विदेशी खेलाडी आउने
पोखरा — नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा १९ औं सफल पोखरा म्याराथन शनिबार हुँदै छ । मञ्चले यसपल्ट ‘पोखरामा नियमित अन्तर्राष्ट्रिय हवाइ उडानका लागि दौडौं’ भन्ने नारा अघि सारेको छ । हरेक वर्ष फागुन पहिलो साताको शनिबार पोखरा म्याराथन आयोजना हुने तालिकाबमोजिम यो वर्ष फागुन ३ मा हुन लागेको हो ।
बिहीबार पोखरा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दिलबहादुर गुरुङले म्याराथनको सम्पूर्ण तयारी पूरा भएको बताए । उनका अनुसार यस वर्ष म्याराथनमा विभिन्न १४ विधामा दौड हुनेछ । खुला म्याराथन ४२.१९५ किमि, गण्डकी प्रदेशस्तरीय खुला म्याराथन, हाफ म्याराथन, महिला/पुरुष १० किमि दौड, विद्यालयस्तरीय छात्र/छात्रा ५ किमि दौड, ५० वर्षभन्दा माथि ५ किमि भेट्रान्स महिला/पुरुष दौड हुनेछ । ‘रन फर फन’ विधा समावेश छ ।
पोखरा म्याराथनअन्तर्गत माघ २६ मा महिला/पुरुष ह्विलचेयर तथा दृष्टिविहीन महिला/पुरुष दौड सम्पन्न भइसकेको छ । खुला म्याराथनमा विजेताले ५ लाख, दोस्रोले ३ लाख र तेस्रोले २ लाख रुपैयाँ पाउनेछन् । चौथोले ३० हजार, पाँचौंले २५ हजार, छैटौंले २० हजार, सातौंले १५ हजार र आठौंले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
आयोजकले खुला म्याराथनतर्फ गण्डकी प्रदेशका धावकलाई प्रोत्साहन गर्न छुट्टै पुरस्कारको व्यवस्था गरेको छ । प्रतियोगितामा पुरस्कार राशिमा मात्रै २१ लाख ३४ हजार रुपैयाँ खर्च हुने र म्याराथनको सम्पूर्ण खर्च १ करोड ८९ हजार रुपैयाँ अनुमान गरिएको अध्यक्ष गुरुङले बताए । ‘विदेशी धावकको आकर्षण बढाउन पुरस्कार राशिमै वृद्धि गर्नुपर्छ,’ उनले भने, ‘पोखरा म्याराथनमा पहिलो हुने धावकलाई दिइने पुरस्कार राशि १० लाख पुर्याउने लक्ष्यसाथ अघि बढेका छौं ।’
नेपालमा हुने विभिन्न म्याराथनमध्ये पोखरा म्याराथनलाई म्याराथनको अन्तर्राष्ट्रिय छाता संस्था एम्समा दर्ता छ । पोखरा म्याराथनको रुटसमेत एम्सबाट प्रमाणीकरण भएको संयोजक खेम गुरुङले बताए । पोखरा म्याराथन नेपाली म्याराथनको एकमात्र प्रविधिमैत्री म्याराथन रहेको उनले सुनाए । ‘दुई वर्षदेखि चिप्सको प्रयोग गर्दै आएका छौं,’ उनले भने, ‘खुला म्याराथन र महिला हाफ म्याराथनमा चिप्सको प्रयोग गरी खेलाडीको दौडको समय निश्चित गरेको छ भने यसको प्रयोगले नेपाली र विदेशी धावकलाई समेत हौसला तथा निर्णायकलाई सहज बनेको ।’
धरान रनका परिकल्पनाकार तथा नेपाल रन युकेका अध्यक्ष सन्तोष राईले चिप्स जडानपछि पोखरा म्याराथनको वेबसाइटमा धावक रहेको स्थान र परिणाम तत्कालै हेर्न सकिने बताए ।
खुला म्याराथनमा २१ देशका ८० विदेशीसहित १ सय ५० धावक सहभागी हुँदै छन् । तीमध्ये ८ महिला छन् । हाफ म्याराथनमा महिलातर्फ १० देशका ४०, पुरुषतर्फ १० विदेशीसहित १ सय १० जना, १० किमि पुरुषतर्फ ११ देशका २ सय ११ जना, १० किमि महिलातर्फ ११ विदेशीसहित १ सय ९ जना, ५ किमि भेट्रान्स (५० वर्ष) पुरुष र महिलातर्फ गरी ६० जना, ५ किमि छात्रतर्फ १ हजार ४ सय ७० तथा छात्रातर्फ १ हजार २५ जना गरी कुल ३ हजार १ सय ७५ जना दर्ता भएका छन् ।
‘रन फर फन’मा ७ हजार गरी १० हजारको सहभागिता पोखरा म्याराथनमा हुनेछ । सुजल डेरी प्रालिको मुख्य उत्पादन सफल दुधले ०७२ देखि म्याराथनको मुख्य प्रायोजन गरिरहेको छ ।
