पेरिस — ह्यारी केनको गोल लय कायम रहेपछि बायर्न म्युनिकले बुधबार युरोपेली च्याम्पियन्स लिग प्ले–अफ पहिलो लेगमा सेल्टिकलाई २–१ ले पराजित गरेको छ । अन्य खेलमा बेन्फिका, फेयनुर्ड र क्लब ब्रुग पनि विजयी रहे ।
बायर्नको लक्ष्य यसपल्ट फाइनलसम्मकै यात्रा हुनेछ, किनभने मे ३१ मा हुने फाइनल टोलीकै घरेलु मैदान एलिनाज एरिनामा हुनेछ । सेल्टिक पार्कमा भएको खेल पूर्णतः बायर्नकै नियन्त्रणमा रहे पनि जित भने साँघुरो रह्यो ।
पहिलो हाफको ठिकअगाडि मिचेल ओलिसको उत्कृष्ट गोलमा बायर्नले अग्रता लिय । दोस्रो हाफ सुरु भएको चौथो मिनेटमा केनले सजिलै दोस्रो गोल थपे । च्याम्पियन्स लिगमा केनको यो सातौं गोल हो । यस्तै सबै प्रतियोगितामा गरेर केनको
गोलसंख्या २९ खेलमा २९ नै पुगेको छ । खेल सकिन ११ मिनेटअगाडि ब्रेन्डन रोजर्सको सेल्टिकका लागि डिजेन मेडाले एक गोल फर्काए र यसले प्रतिस्पर्धा रोमाञ्चक मोडमै कायम रह्यो ।
जितपछि जर्मन बुन्डेसलिगाको शीर्षमा रहेको टिमका प्रशिक्षक भिन्सेन्ट कोम्पनीले भने, ‘प्रतिस्पर्धाको आधा भाग मात्र सकिएको छ । हाम्रो लागि यो जित सुखद छ ।’ सेल्टिक सन् २०२३ को डिसेम्बरयता आफ्नो घरेलु मैदान सेल्टिक पार्कमा पराजित भएको पहिलो पटक हो । अब मंगलबार जर्मन भूमिमा दोस्रो लेगका खेल हुनेछ र आफू एक गोलले पछाडि रहेको स्थिति उल्टाउने प्रयासमा हुनेछ । यसको विजेताले बायर लेभरकुजन वा एट्लेटिको म्याड्रिडमध्ये एकको सामना गर्नेछ ।
‘जित हारमा एकै गोलको मात्र अन्तर छ, यसलाई पल्टाउने काम सजिलो हुन्न । तर हामीले प्रयास गर्नेछौं,’ रोजर्सले भने । अन्यत्र भानगेलिस पाबलिडिसको एकमात्र गोल मदतमा बेनफिकाले मोनाकोमाथि १–० ले जित निकाल्यो । मोनाकोले खेलको अधिकांश समय १० खेलाडीमा सीमित रहेर खेल्यो । च्याम्पियन्स लिगका पछिल्ला ५ खेलमध्ये ग्रिक खेलाडी पाबलिडिसले गोल गरेको यो छैटौं हो । गत महिना उनले बार्सिलोनाविरुद्ध ह्याट्रिक गरेका थिए ।
मोनाकोका लिबियाली मिडफिल्डर माटासेम अल–कुराटीले ५२ औं मिनेटमा दोहोरो पहेँलो कार्डमा विवादास्पद रूपमा मैदान छाड्न बाध्य रहे । बेन्फिकाले अर्को लेगको खेल पनि जित्ने हो भने लिभरपुल अथवा बार्सिलोनामध्ये एक टिमको सामना गर्नेछ । रोटोडर्ममा भएको खेलमा भने फेयनुर्डले एसी मिलानलाई १–० ले स्तब्ध पारेको थियो । सात पल्टको च्याम्पियनमाथि प्राप्त जितले सान सिएरोमा हुने खेल अगाडि फेयनुर्ड अर्को चरण प्रवेशका लागि बलियो प्रत्याशी रहने ।
यसअघि क्लब ब्रुगले गत वर्षको युरोपा लिग विजेता एटलान्टालाई २–१ ले हरायो । फेरान जुटग्लाको गोलले फेयनुर्डले अग्रता लिएपछि मारियो पासालिचले एटलान्टाका लागि बराबरी गोल फर्काए । खेल सकिने केही क्षण मात्र बाँकी हुँदा क्लब ब्रुगले विवादास्पन रूपमा पेनाल्टीको अवसर पाएको थियो । त्यसलाई स्विडेनी खेलाडी निल्सनले गोलमा परिणत गरे । खेलपछि एटलान्टाका खेलाडी चार्ल्स ड केटेलेरको प्रतिक्रिया थियो, ‘यो क्षणलाई लिएर हजार व्यक्तिलाई सोध्ने हो भने हजारले नै पेनाल्टीको निर्णय दिने छैनन् ।’
