आहा-रारा पोखरा गोल्डकप: ब्ल्याक बुल्ससँग थ्रीस्टार स्तब्ध

उज्वेक टोली बुल्सले फाइनलमा नेपाल पुलिस क्लबसँग खेल्ने

फाल्गुन २, २०८१

दीपक परियार

Aha-rara Pokhara Gold Cup: Three Star shocks Black Bulls

पोखरा — पाँचपल्टको च्याम्पियन थ्रीस्टार क्लबलाई हराउँदै पहिलोपल्ट नेपालमा खेल्न आएको उज्वेकिस्तानी टिम ब्ल्याक बुल्स फुटबल क्लब बिहीबार २४ औं आहा–रारा पोखरा गोल्डकप फुटबलको फाइनल पुगेको  । पोखरा रंगशालामा थ्रीस्टारलाई ४–० को अन्तरले हराउँदै ब्ल्याक बुल्सले नेपाल पुलिस क्लबसँगको फाइनल भेट पक्का गरेको हो । 

ब्ल्याक बुल्सको जितमा कुभोन्चबेक ओलिमोभ, साभकातजोन सात्तोरोभ, असिलबेक ओरिफजोनोभ र साइदजमोल दाभलातजोनोभले १–१ गोल गरे । खेलको सुरुदेखि नै उज्वेक टोलीले थ्रीस्टारलाई दबाबमा राख्यो । २४ औं मिनेटमा ओलिमोभले गोल गर्दै अग्रता दिलाए । उनले दायाँपट्टिबाट एक्लै अगाडि बढाएको बलमा थ्रीस्टारका ४ खेलाडी बिट गरे । बक्सभित्रबाटै उनले हाफ भली प्रहार गर्दै उत्कृष्ट फिनिसिङ दिएका थिए । 

खेलको ५५ औं मिनेटमा थ्रीस्टारलाई बराबरी बनाउने मौका थियो । थ्रीस्टारले अट्याकिङ एरियामा पाएको फ्रिकिक कमल श्रेष्ठले प्रहार गरे पनि उज्वेकी गोलरक्षक जसुरबेक राजाबोभले बचाए । असिलबेकले गोल गर्दै ५८ औं मिनेटमा अग्रता दोब्बर बनाए । उनले इस्लोमजोनले उपलब्ध गराएको क्रसमा थ्रीस्टारका तीन डिफेन्डर बिट गर्दै सेकेन्ड बार च्यापरेर गोल गरे । दुई गोलले पछि परेको अवस्थामा थ्रीस्टार गोल गर्ने अवसर सिर्जना गर्न सकेन । 

खेलको ६३ औं मिनेटमा सात्तोरोभले गोल थप्दै अग्रता फराकिलो बनाए । बक्सबाहिरबाट बल अगाडि बढाएका उनले थ्रीस्टारका दीपेश घले, खेमराजा श्रेष्ठ र कप्तान योगेश गुरुङलाई छक्याउँदै बक्सभित्रबाट आकर्षक गोल गरे । थ्रीस्टारका गोलरक्षक अभिषेक बरालले बचाउने कुनै मौका पाएनन् । सात्तोरोभले यसअघि क्वाटरफाइनलमा थन्डरबोल्टसँगको खेलमा समेत एक गोल गर ।

खेलको ६८ औं मिनेटमा ब्ल्याक बुल्सका प्रशिक्षकले डिफेन्डर अब्दुसलोम नुरिद्दिनोभ र मिडफिल्डर कुभोन्चबेक ओलिमोभको स्थानमा लेफ्ट विंगर साइदजमोल र नेपालका खेलाडी रन्दीप पौडेललाई मैदान प्रवेश गराए । दुवै मनाङ मर्स्याङ्दीबाट खेलिसकेका खेलाडी हुन् । यसपल्ट भने मनाङ सहभागी छैन । यी दुई खेलाडीले मैदान प्रवेश गरेको १९ औं मिनेटमा परिणाम निकाले ।

खेलको ८७ औं मिनेटमा रन्दीपले अगाडि बढाएको बल बक्सभित्र पुगेको अवस्थामा थ्रीस्टारका गोलरक्षकले खुट्टाले रोके । उनले बचाउन नसकेको बलमा साइदजमोलले गोल गर्दै थ्रीस्टारको सम्भावना समाप्त गरिदिए । प्रतियोगितामा उनको यो व्यक्तिगत दोस्रो गोल हो । खेलमा असिलबेक ओरिफजोनोभ प्लेयर अफ द म्याच भए । 

ब्ल्याक बुल्सले क्वाटरफाइनलमा भारतको थन्डरबोल्ट नर्थ युनाइटेडलाई ३–० ले हराउँदै सेमिफाइनल तय गरेको थियो । साबिक उपविजेता थ्रीस्टारले मछिन्द्रलाई टाइब्रेकरमा हराएर सेमिफाइनल खेलेको हो । ब्ल्याक बुल्स र पुलिसबीच शनिबार फाइनल हुनेछ । 

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully