पोखरामा अन्तर्राष्ट्रिय उडानको माग गर्दै पोखरा म्याराथन

२१ देशका एक सय ५० धावक सहभागी हुने, १४ विधामा १० हजार धावक 

फाल्गुन १, २०८१

दीपक परियार

Pokhara Marathon demanding international flights to Pokhara

पोखरा — नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा आगामी शनिबार १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन हुँदै छ । मञ्चले यसपल्ट ‘पोखरामा नियमित अन्तर्राष्ट्रिय हवाई उडानका लागि दौडौं’ भन्ने नारालाई अघि सारेको छ । हरेक वर्ष फागुनको पहिलो साताको शनिबार पोखरा म्याराथन आयोजना हुने तालिका बमोजिम यो वर्ष फागुन ३ मा हुन लागेको हो । 

मञ्चले बिहीबार पोखरा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दिलबहादुर गुरुङले म्याराथनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । उनका अनुसार यस वर्ष म्याराथनमा विभिन्न १४ श्रेणीमा दौड हुनेछन् ।

खुला म्याराथन ४२.१९५ किमी, गण्डकी प्रदेशस्तरीय खुला म्याराथन ४२.१९५ किमी दौड, हाफ म्याराथन महिला/पुरुष दौड २१.०९७ किमी, महिला/पुरुष १० किमी दौड, विद्यालयस्तरीय छात्र/छात्रा ५ किमी दौड, ५० वर्षभन्दा माथि ५ किमी भेट्रान्स महिला/पुरुष दौड हुनेछन् । सबै सहभागी हुन मिल्ने गरी दौडिनुपर्ने सन्देश दिन ‘रन फर फन’ विधा पनि समावेश छ । 

पोखरा म्याराथनअन्तर्गत नै गत माघ २६ मा महिला/पुरुष ह्विलचियर तथा दृष्टिविहीन महिला/पुरुष दौड सम्पन्न भइसकेको छ । खुल्ला ४२.१९५ किमी म्याराथनमा पहिलो हुने धावकले ५ लाख, दोस्रोले ३ लाख र तेस्रोले २ लाख रुपैयाँ पाउनेछन् । सान्त्वना स्वरुप चौंथोले ३० हजार, पाँचौंले २५ हजार, छैटौंले २० हजार, सातौंले १५ हजार र आठौंले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

आयोजकले खुला म्याराथनतर्फ गण्डकी प्रदेशका धावकलाई प्रोत्साहन गर्न छुट्टै पुरस्कारको व्यवस्था गरेको छ । प्रतियोगितामा पुरस्कार राशिमा मात्रै २१ लाख ३४ हजार रुपैयाँ खर्च हुने र म्याराथनको सम्पूर्ण खर्च १ करोड ८९ हजार रुपैयाँ अनुमान गरिएको अध्यक्ष गुरुङले बताए । ‘विदेशी धावकको आकर्षण बढाउन पुरस्कार राशिमै वृद्धि गर्नुपर्छ,’ उनले भने, ‘पोखरा म्याराथनमा पहिलो हुने धावकलाई दिइने पुरस्कार राशि १० लाख पुर्‍याउने लक्ष्यका साथ अघि बढेका छौं ।’

नेपालमा आयोजना हुने विभिन्न म्याराथन मध्ये पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई म्याराथनको अन्तर्राष्ट्रिय छाता संस्था एम्समा दर्ता रहेको छ । पोखरा म्याराथनको रुट समेत एम्सबाट प्रमाणीकरण भएको म्याराथन संयोजक खेम गुरुङले बताए । पोखरा अन्तर्राष्ट्रिय म्याराथन नेपाली म्याराथनको एक मात्र प्रविधिमैत्री म्याराथन रहेको उनले सुनाए । 

‘विगत दुई वर्षदेखि चिप्सको प्रयोग गर्दै आएका छौं,’ उनले भने, ‘खुला म्याराथन र महिला हाफ म्याराथनमा चिप्सको प्रयोग गरी खेलाडीको दौडको समयलाई निश्चित गरेको छ भने यसको प्रयोगले नेपाली र विदेशी धावकलाई समेत हौसला तथा निर्णायकलाई सहज बनेको छ ।’ धरान रनका परिकल्पनाकार तथा नेपाल रन युकेका अध्यक्ष सन्तोष राईले चिप्स जडानपश्चात पोखरा म्याराथनको वेबसाइटमा धावक रहेको स्थान र परिणाम तत्कालै हेर्न सकिने बताए । 

खुल्ला म्याराथनमा २१ देशका ८० विदेशीसहित १ सय ५० धावक सहभागी हुँदैछन् । तीमध्ये ८ जना महिला छन् ।

हाफ म्याराथनमा महिलातर्फ १० देशका ४० जना, पुरुषतर्फ १० विदेशीसहित १ सय १० जना, १० किमी पुरुषतर्फ ११ देशकासहित २ सय ११ जना, १० किमी महिलातर्फ ११ विदेशीसहित १ सय ९ जना, ५ किमी भेट्रान्स (५० वर्ष) पुरुष र महिलातर्फ गरी ६० जना, ५ किमी  छात्रतर्फ १ हजार ४ सय ७० तथा छात्रातर्फ १ हजार २५ जना गरी कूल ३ हजार १ सय ७५ जना दर्ता भएका छन् ।

‘रन फर फन’मा ७ हजार गरी १० हजारको सहभागीता पोखरा म्याराथनमा हुने छ । पोखराको औद्योगिक प्रतिष्ठान लक्ष्मी ग्रुप अन्तर्गत सुजल डेरी प्रालिको मुख्य उत्पादन सफल दुधले ०७२ देखि हालसम्म म्याराथनको मुख्य प्रायोजन गरिरहेको छ । 

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully