गुडिसन पार्कमा अन्तिम मर्सिसाइड डर्बी

‘मलाई थाहा छ, गुडिसन पार्कमा माहोल अद्वितीय हुनेछ । त्यहाँ खेल्न कहिले पनि सजिलो हुनेछैन, किनभने एभरटनले बल आफ्नो आधा भाग कटाउँछ समर्थक खुसीले झुम्ने गर्छन्’

माघ ३०, २०८१

एएफपी

The last Merseyside derby at Goodison Park

लिभरपुल — लिभरपुलले इंग्लिस प्रिमियर लिगमा बुधबार एभरटनको सामना गर्दैछ । यसको पूर्वसन्ध्यामा प्रशिक्षक आर्ने स्लटले भनेका छन्, आफ्ना खेलाडी नयाँ चुनौतीलाई तयार छन् । यो खेल आफैंमा विशेष हुनेछ, किनभने यो गुडिसन पार्कका हुने अन्तिम मर्सिसाइड डर्बी हुनेछ । लिग तालिकाको शीर्षमा रहेको लिभरपुल पछिल्लो समय छिमेकमा गएर खेल्दा संघर्षरत छ, त्यसैले १२ खेलमध्ये ९ बराबरीमै टुंगिएको छ । 

प्रशिक्षकमा डेविड मोयस आएयता भने एभरटनको प्रदर्शनमा व्यापक सुधार आएको छ । यो सिजनको अन्त्यसँगै एभरटनले गुडिसन पार्क सधैंका लागि छाड्नेछ र जानेछ ५२ हजार ८ सय ८८ दर्शक क्षमताको नयाँ रंगशाला ब्रामली–मुर डकमा । यो रहेको छ, सहरको वाटरफ्रन्टसँगै । त्यसैले हो, लिभरपुल सहरका यी दुई टिमबीचको यसपल्टको खेल ऐतिहासिक हुन लागेको । संयोग कस्तो भने प्रशिक्षक स्लटका लागि गुडिसन पार्कमा पहिलो र अन्तिम मर्सिसाइड डर्बी हुनेछ । 

उनी चाहन्छन्, आफ्ना खेलाडी यो अवसरलाई लिएर भावनामा नबगुन र उपाधि चुनौतीमा कायम रहुन् । ‘मलाई थाहा छ, गुडिसन पार्कमा माहोल अद्वितीय हुनेछ । हाम्रो लागि त्यहाँ खेल्न कहिले पनि सजिलो हुने छैन, किनभने जति–जति बेला एभरटनले बल आफ्नो आधा भाग कटाउने गर्छ, उसका समर्थक खुसीले झुम्ने गर्छन् । कर्नर र अन्य अवसरमा पनि समर्थकको त्यस्तै प्रतिक्रिया हुने गर्छ,’ प्रि–म्याच कन्फ्रेन्समा स्टलले भने ।

उनी थप्छन्, ‘यस्तो स्थितिमा खेल्न खेलाडी मानसिक रूपमा बलियो हुन आवश्यक छ । आफ्नो काम के हो, खेलाडी त्यसमै मात्र केन्द्रित हुनुपर्छ । जतिबेला बल लिभरपुलको पकडमा हुनेछ, खेलाडीले आरामले सोचेर खेल्नुपर्नेछ ।’ यसबीच उनी के मान्छन् भने लिभरपुलका खेलाडी एक अर्को ठूलो भिडन्तका लागि तयार छन्, खासमा यी खेलाडीको मानसिकता पूरा सिजन यस्तै हुनुपर्नेछ । यी डच प्रशिक्षक आफ्नो डेब्यु सिजनमा छन् । 

एभरटन आफैमा पछिल्लो समय लयमा छ । यसको प्रमाण हो, टोलीले पछिल्ला तीन खेल लगातार जितेको छ । यही जितले एभरटनमाथिको रेलिगेसन दबाब असाध्यै कम भएको छ । ‘एभरटन कस्तो टिम हो भने प्रत्येक अवस्थाका लागि संघर्ष गर्न तयार छ । त्यसैले यस्तो टिमविरुद्ध खेल्न गाह्रै हुन्छ,’ स्लट मान्छन् । लिभरपुललाई लिगको शीर्षमा ६ अंकको अग्रता प्राप्त छ, तर अहिले स्तब्धपूर्ण अवस्थामा पनि छ । किनभने भर्खरै एफए कपमा प्लेमाउथको हातबाट पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । 

दोस्रो डिभिजन च्याम्पिनसिप टिमविरुद्धको प्रदर्शनलाई स्लटले सर्वथा अस्वीकार्य रहेको बताइसकेका छन् । भलै, त्यस खेलमा लिभरपुलका लगभग सबै प्रमुख खेलाडी अनुपस्थित थिए । प्रशिक्षकका रूपमा योर्गन क्लोपको अन्तिम गुडिसन पार्क खेलमा पनि लिभरपुल पराजित रहेको थियो । लिभरपुलको ५६ अंक रहेको छ । टोलीलाई आर्सनलले नजिकबाट पछ्याइरहेको छ । एभरटन आफैं भने २६ अंकसहित १६ औं स्थानमा छ ।

एएफपी

Link copied successfully