काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार पत्रकार सम्मेलन गर्दै फोर नेसन्स कप वुमेन्स च्याम्पिनयसिपको तयारी पूरा भएको जनाएको छ । प्रतियोगिता फागुन ५ देखि १४ सम्म दशरथ रंगशालामा हुनेछ । पहिलो दिन सोमबार म्यानमारले लेवनान र नेपालले किर्गिस्तानको सामना गर्नेछन् ।
किर्गिस्तानी टिम बिहीबार नेपाल आइपुग्ने छ । म्यानमार र लेवनान भने शुक्रबार आइपुग्ने तालिका छ । नेपालमा महिलाको चारदेशीय प्रतियोगिता हुन लागेको यो पहिलो पटक हो । यो नेपालका लागि यो प्रतियोगिता एसिया कपसँगै विश्वकप छनोटको तयारीका रूपमा रहेको छ । नेपालले छनोटअघि अन्य मैत्रीपूर्ण खेल पनि खेल्ने सम्भावना छ ।
प्रतियोगिता राउन्ड रोबिनको आधारमा चल्ने छ । त्यसको अन्त्यमा शीर्ष दुई स्थानमा रहने टिमले फाइनल यात्रा तय गर्नेछ । एन्फाले प्रतियोगिताको टिकेटिङ अधिकार ब्रान्ड डिजिटल लजिकलाई एक करोड ३५ लाख रुपैयाँमा बेचेको छ । ब्रोडकास्टिङ, मार्केटिङ र डिजिटल राइट्स ब्रान्ड डिजिटल लजिकलाई नै ६६ लाख रुपैयाँमा बेचेको छ ।
