आहा-रारा पोखरा गोल्डकप: पोखरामा उज्वेक टोलीको उडान

बुधबार सेमिफाइनलमा नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड भिड्ने, प्रतियोगिताको यो २ सय ५० औं खेल

माघ ३०, २०८१

दीपक परियार

Aha-Rara Pokhara Gold Cup: Uzbek team's flight to Pokhara

पोखरा — भारतीय टोली थन्डरबोल्ट नर्थ युनाइटेडलाई ३–० ले हराउँदै अर्को पाहुना टोली ब्ल्याक बुल्स फुटबल क्लब उज्वेकिस्तान २४ औं आहा–रारा पोखरा गोल्डकपको सेमिफाइनलमा पुगेको छ । पोखरा रंगशालामा मंगलबार सिक्किमेली टोलीलाई हराउँदै ब्ल्याक बुल्सले थ्रीस्टार क्लबसँगको भेट पक्का गरेको हो ।

पहिलोपल्ट सहभागी दुवै पाहुना टोलीमध्ये एसियन च्याम्पियन्स लिग खेलेको ब्ल्याक बुल्स उत्कृष्ट खेल प्रदर्शन गर्दै आहा–राराको यात्रामा एक कदम अगाडि बढेको छ । खेलको ३८ औं मिनेटमा इस्लोमजोन अब्दुकोदिरोभले गोल गर्दै अग्रता दिलाए । मैदानको बायाँपट्टि साभकात्जोन सात्तोरोभले उपलब्ध गराएको पासमा इस्लोमजोनले सेकेन्ड बार च्यापेर गरेको देब्रे खुट्टाको प्रहार गोलमा परिणत भयो ।

थन्डरबोल्टका कप्तान सोनाम जाङ्पा भुटियालाई बिट गर्दै इस्लोमजोनले अगाडि बढाएको बलमा गोलरक्षक लाक्पा डी भुटियाले कुनै मौका पाएनन् । गोल गरेलगत्तै भावुक हुँदै इस्लोमजोनले छोरीको तस्बिर अंकित जर्सी प्रदर्शन गरेका थिए । उनले उक्त गोल छोरीप्रति समर्पण गरे । उनले ५ महिनाअघि दुई वर्षकी छोरीलाई गुमाएका थिए । 

खेलको ७३ औं मिनेटमा साइदजमोल दाभलातजोनोभले अग्रता दोब्बर बनाए । इस्लोमजोनलाई प्रतिस्थापन गर्दै मैदान प्रवेश गरेका उनले मिडफिल्डर साभकात्जोनले दायाँ भागबाट उपलब्ध क्रस कलेक्ट गर्दै सहज गोल गरेका थिए । अघिल्ला दुई गोलमा एसिस्ट गरेका साभकात्जोनले खेलको ७५ औं मिनेटमा उत्कृष्ट गोल गर्दै सेमिफाइनल यात्रा सुनिश्चित गरे ।

उनले बक्स बाहिरबाट प्रहार गरेको बल सिधैं गोलमा परिणत हुँदा विपक्षी गोलरक्षकले कुनै भेउ पाएनन् । खेलको ११ औं मिनेटमा थन्डरबोल्टले अग्रता लिने अवसर गुमाएको थियो । फोफानाले बक्सबाहिरबाट गरेको प्रहार क्रसबारमा लागेर फर्कियो । खेलको ७१ औं मिनेटमा फोफानाका फ्रिकिकमा मार्क ह्यारिसनले मिलाएको हेड पास फ्र्यांकलिन क्वेटे टालाले फ्रेममा पार्न सकेनन् । ८५ औं मिनेटमा फोफानाकै क्रसमा ओङ्दा लेप्चाको हेडर ब्ल्याक बुल्सका गोलरक्षक जासुरबेक राजाबोभले बचाए । 

खेलमा ब्ल्याक बुल्सका अलिजोन अलिजोनोभ प्लेयर अफ द म्याच घोषित भए । उनी उज्वेकिस्तानको शीर्ष श्रेणीको क्लब नाभबाहोर एफसीको सिनियर टिमबाट खेलेका खेलाडी हुन् । ब्ल्याक बुल्स त्यही नाभबाहोरका धेरैजसो दोस्रो रोजाइका खेलाडीसम्मिलित टिम हो । पहिलो गोलकर्ता इस्लोमजोभ अब्दुकोदिरोभले बंगलादेश लिग पनि खेलेका छन् । 

नेपाल आएर जावलाखेल युथ क्लबबाट ‘ए’ डिभिजन लिग खेलेका अब्दुलाजिज निसोनबाएभ यसपल्ट ब्ल्याक बुल्सको प्रशिक्षकका रूपमा आएका छन् । थन्डरबोल्टसँगको खेलमा उनले वैकल्पिक खेलाडीमा नेपालका रन्दीप पौडेल र सुदीप सुनार र हङकङका सान्जियो लिम्बूलाई पनि राखेका थिए । खेलको ६३ औं मिनेटमा डिफेन्डर अब्दुसलोम नरुद्दिनोभको स्थानमा रन्दीप मैदान छिरेका थिए । ब्ल्याक बुल्सले फागुन १ मा थ्रीस्टारसँग सेमिफाइनल खेल्ने छ । पाँचपल्टको उपाधि विजेता थ्रीस्टारले क्वाटरफाइनलमा मछिन्द्र क्लबलाई टाइब्रेकरमा हराउँदै अन्तिम चारमा स्थान बनाएको थियो । ब्ल्याक बुल्सले बाइ पाएर सिधै क्वाटरफाइनल खेलेको थियो । 

बुधबार पहिलो सेमिफाइनल विभागीय टोली नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुनेछ । यो खेल आहा–राराको हालसम्मको २ सय ५० औं खेल हुनेछ । सर्वाधिक ६ पल्टको उपाधि विजेता पुलिसले उद्घाटन खेलमा आयोजक सहारा क्लब र क्वाटरफाइनलमा ब्रिगेड ब्वाइज क्लब यूकेलाई पराजित गरेको थियो । ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइजले एनआरटी र क्वाटरफाइनलमा साबिक विजेता त्रिभुवन आर्मीलाई हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो । 

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully